८ वैशाख २०८१ शनिबार
समाज

पूर्वराजा हेर्न सर्लाहीमा सीडीओसम्मको लर्को, नजिकबाट हेर्नेको तँछाडमछाड

तस्बिर : सदरमुकाम मलंगवामा बिहीबार आएका पूर्वराजा शाह समर्थकका बीच

सर्लाही - विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको अवज्ञा गर्दै पूर्वराजा ज्ञानेन्द्र बिहीबार दिउँसो सर्लाही आएका छन्। 

महोत्तरीको जलेश्वरबाट पूर्वपश्चिम राजमार्ग हुँदै सुरक्षा स्कर्टिङको सवारी लावालस्करसहित शाह सदरमुकाम मलंगवा आएका हुन्। सवा ४ बजे मलंगवा आइपुगेका शाहले स्थानीय दुर्गाभगवती मन्दिरमा पूजा गरे। पूर्वराजा शाहको स्वागतमा ठूलो संख्यामा राप्रपा नेपाल, राष्ट्रिय एकता परिषद् पार्टी, शिवसेना नेपालका कार्यकर्तासहित ठूलो संख्यामा राजावादीहरुको उपस्थिति थियो।

त्यस्तै पूर्वराजालाई हेर्न स्थानीय सयौं सर्वसाधारणसमेत सडकको दायाँबायाँ उभिएर नमस्कार गरिरहेका थिए। पूजालगत्तै शाहलाई मन्दिरबाट उत्तरपूर्व जानकी फेमिली पार्टी प्यालेससम्म झण्डै २ किलोमिटर पैदल यात्रा गराउने कार्यक्रम रहे पनि आधा किलोमिटर हिँडेपछि थकाइ लागेको भन्दै उनी जिप चढेका थिए। उपस्थित राजावादीहरुले ‘राजा आऊ देश बचाऊ’, ‘राजतन्त्र जिन्दावाद’, हिन्दूराष्ट्र कायम गर’ भन्दै नारा लगाएका थिए।

स्थानीयले पूर्वराजालाई नजिकबाट हेर्न तँछाडमछाड गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी एवं स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो। 

पार्टी प्यालेसमा आधा घण्टा बसेका शाहलाई प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक समरबहादुर श्रेष्ठले समेत भेट गरेका थिए।

प्रजिअ पोखरेलले सर्लाहीमा हजुरलाई स्वागत छभन्दा पूर्वराजा शाहले धन्यवाद मात्र भनेका उपस्थित एक सुरक्षाकर्मीले जानकारी दिए। पार्टी प्यालेसमा पूर्वराजा शाहले शाही शासनकालका पूर्वगृहराज्य मन्त्री सोनेलाल यादव, राप्रपा नेपालका सर्लाही अध्यक्ष प्रभाकर सिंह र राष्ट्रिय एकता परिषद्का नेता प्रेम श्रेष्ठलाई मात्र भेट गरेका थिए। 

झण्डै सवा घण्टा मलंगवा बसाइपश्चात् शाह पुनः जनकपुरतर्फ लागेका छन्। पूर्वराजाको भ्रमणलाई ध्यान दिँदै सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
 
भेट्न नपाएका राजावादी आक्रोशित
जानकी पार्टी प्यालेसमा राजावादी नेता कार्यकर्ताहरुसँग पूर्वराजा शाहले भेट गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि सोअनुसार नहुँदा अधिकांश नेता कार्यकर्ता आक्रोशित भएका छन्। ‘पूर्व निर्धारित सेड्युल अनुसार पूर्व राजाको भ्रमण भएन’, राप्रपा नेपालका नेता टंक रिजालले भने, ‘तीन जनाले मात्र भेट गरेर आम नेता कार्यकर्ताको उत्साहमाथि खेलबाड भएको छ।’

पहिला दर्जनौं नेता कार्यकर्ताले भेट्ने कार्यक्रम तय भए पनि एक्कासि तीन जनाले मात्र भेट गरेर आम नेता कार्यकर्ताको उपहास गरिएको हरिवनदेखि बन्द छिचोल्दै पूर्वराजा भेट्न सदरमुकाम आएका रिजालले गुनासो गरे।
 

प्रकाशित: ३० फाल्गुन २०७५ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App