बुटवल–सिद्धार्थ राजमार्गको बुटवलस्थित कालिकाचोकमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ।
सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–भैरहवा सडक खण्ड अन्तर्गत बुटवलको कालिकानगरस्थित कालिका चोकमा स्पिड कन्ट्रोलका लागि ट्राफिक प्रहरीले राखेको बेरिकेडमाथि बिहान बम भेटिएको थियो। कालो टेपले बेरिएको शंकास्पद वस्तु बम भएको भन्दै स्थानीयले प्रहरीमा खबर गरेका थिए।
नेपाली सेनाको २२ नम्बर बाहिनीको बम डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको हो। मुख्य राजमार्गमै बम भेटिएपछि नागरिकले १० वर्षे द्वन्द्वको सम्झना गराएको बताएका छन्। बम कसले राखेको भन्ने बारेमा भने केही नखुलेको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बन्दलाई सफल गराउनका लागि नागरिकलाई सर्ताउने गरी विप्लव समूहले बम राखेको हुन सक्ने बताए।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको रूपन्देही तथा आसपासका जिल्लामा पनि आंशिक प्रभाव परेको छ। बन्द आह्वान भएका कारण बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलबस्तुलगायतका जिल्लाबाट छुट्ने लामा तथा छोटा दूरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन्। उद्योग धन्दा कलकारखाना पनि बन्द छन्।
प्रकाशित: ३० फाल्गुन २०७५ १२:३१ बिहीबार