८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव प्रभाव : कार्यकर्ताबिनै बन्द भयाे रूकुम

बिहीबार बन्द रहेको मुसिकोट खलंगा बजार।

रुकुम - विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव रुकुम पश्चिममा सामान्य भयो। बन्दकर्ता थिएनन्, त्यै पनि बन्दको असर भने प-यो।

बन्दको अघिल्लो बुधबार राति जिल्लाको आठबीसकोट नगरपालिकामा विप्लवका कार्यकर्ताले राँके जुलुस निकालेका थिए। नगरपालिका ९ राडीबजारभन्दा माथि डाँडामा प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनका कारण यहाँका सर्वसाधारणदेखि जनप्रतिनिधि त्रसित बनेका थिए।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० बर्से युद्धको झल्को दिने उक्त प्रदर्शनले भोलिपल्ट अर्थात् आज बन्दकर्ताबिनै बजार सुनसान बनेको छ। कुनै पनि ठाउँमा बन्दकर्ताहरु बन्द गराउन सडक तथा बजारमा नभए पनि जिल्लाको जनजीवन प्रभावित बनेको थियो। 

आफूहरुले विज्ञप्तिमार्फत बन्दको आह्वान गरेको र सबैले आफ्नो पार्टीलाई सहयोग गरेको नेकपाका नेताहरुले बताएका छन्। सरकारले प्रतिबन्ध लगाएपछि यहाँ नेकपाका कुनै पनि नेता तथा कार्यकर्ताहरु देखिएका छैनन्। वर्तमान सरकारले गरेको गलत कामको विरुद्धमा आफूहरुले सुरु गरेको आन्दोलनमा जनताले सहयोग गरेको नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले बताए। 

बिहीबार जिल्लामा यातायात, बजारका साथै कतिपय सरकारी कार्यालयसमेत बन्द रहेका रहे। जनप्रतिनिधि तथा त्यहाँका कर्मचारीहरु त्रासका कारण कार्यालय गएका छैनन्।  मुसिकोट नगरपालिकाबाहेक अन्य कुनै पनि स्थानीय तहमा काम नभएको स्थानीयले बताएका छन्।

सर्वसाधारणहरु विभिन्न कामको लागि गाउँपालिकाको कार्यालयमा पुगे पनि कर्मचारी तथा जनप्रतिनिधि नहुँदा काम नभएर खाली फिर्ता भएको सानीभेरी गाउँपालिका २ का रामलाल घर्तीले बताए। गाउँमा निर्माण गरिएको सडकको रकम भुक्तानीको लागि आएको भए पनि कर्मचारी नहुँदा आफ्नो काम हुन नसकेको उनले बताए। 

सामाजिक सञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गरेर बन्दको आह्वान गरेको नेकपाका कार्यकर्ताहरु भने कुनै पनि ठाउँमा देखिएका थिएनन्। जिल्लाको सदरमुकाम मुसिकोटलगायत सबै बजार पूर्ण रुपले बन्द छन्। जिल्लाका सोलाबाङ, सिम्रुतु, सिम्ली, चौरजहारी, राडीलगायत सबै मुख्य बजार क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको भएपनि पूर्णरुपमा बन्द भएका स्थानीयले जानकारी दिएका छन्। बन्दका कारण यहाँ छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन्। 

जिल्लामा शैक्षिक संस्थासमेत बन्द भए। विद्यालय बन्द नहुँदा वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई समस्या भएको छ। बन्दका कारण जिल्लाका उद्योग कलकारखाना पनि प्रभावित भएका छन्।

यसैबीच रुकुम (पूर्व)को जिल्ला अदालत अगाडि भेटिएको शंकास्पद वस्तु बम नरहेको पुष्टि भएको छ। अदालत अगाडि पोलिथिनमा पोको पारेको अवस्थामा शंकास्पद वस्तु देखिएपछि बम भएको हुन सक्ने आशंका गरिएको थियो। नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर हेर्दा उक्त वस्तु बम नभएको पुष्टि गरेको हो। 

प्रकाशित: ३० फाल्गुन २०७५ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App