फिरफिरेदेखि ‘वाइडबडी’ को ककपिटसम्म

बिहिबार, ३० फागुन २०७५, १५ : ३८ किरण दहाल

वाइडबडी नामले चर्चित दुई विमानमध्ये एक हो, एयरबस ३३०।

यो त्यही जहाज हो जसको खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आंशकामा छानबिन चल्दै छ। ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भष्ट्राचार भएको ‘सार्वजानिक लेखा समिति’ले निष्कर्ष निकालेको छ।

कतारबाट ५ घण्टा बढी उडान भरेर गत मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्डिङ भएको थियो, एयरबस ३३०।

यसै बिमानका को–पाइलट सञ्जय पौडेल(३२) त्यसदिन बेलुकीसम्मै थकित देखिन्थे। आधा दिनसम्म आकाशमा उड्दाको ‘जेटल्याक’ सक्किएको थिएन सायद। गहुँगोरो वर्णको अनुहार रातो देखिन्थ्यो।

थकित हुनुको कारण सुनाउँछन् पौडेल, ‘फ्लाइङभरि इन्जिनको आवाज निरन्तर सुन्नुपर्छ। त्यति धेरै रेडियो इक्युपमेन्टहरुको अघिल्तिर बस्नुपर्छ जबकि स्वास्थ्यका लागि मोबाइल बोक्नु पनि घातक मानिन्छ। जहाजको भाइब्रेसन आइरहेको हुन्छ। रात्रि उडान गर्नुपर्दा सुत्न पाइँदैन। चिसोबाट तातो, तातोबाट चिसो मौसममा आहोरदोहोर गरिरहनुपर्छ। हरेक क्षण प्रकृतिविरुद्ध गएपछि स्ट्रेस हुने नै भयो।’

०००

चितवन, भरतपुर एयरपोर्ट नजिकै थियो पौडेलको घर। प्लेन उडेको, ल्याण्ड भएको दैनिकजसो हेर्थे। केटाकेटी उमेर, प्लेनको आउजाउले खुबै रोमाञ्चित बनाउँथ्यो। गुडिरहेको प्लेन एक्कासि भुइँ छोडेर आकाशतिर सोझिँदा बाल मष्तिस्कले सोच्थ्यो, ‘भोलिपर्सि यस्तै गाडी चलाउँछु।’

श्रमिकहरुप्रतिको सम्मान भावनाले पाइलट सञ्जयलाई लपक्कै भिजाउँछ। सोच्छन्, उनीहरुकै परिश्रमले त हो मेरो रोजीरोटी चलेको।

प्लेन उडाउने सपना देखेका उनलाई सानैदेखि साइकल चलाउन आउँथ्यो। यताउता पुग्नुपर्दा साइकल नै गुडाउँथे। उनको साइकलमा फिरफिरे कहिल्यै नछुट्ने। फर्माइकाको फिरफिरे बनाएर साइकलको ह्याण्डिलमा जोडेका थिए। जब साइकल दौडिन्थ्यो, फिरफिरे बेस्सरी घुम्थ्यो। उनी मनमनै कल्पना गर्थे, ‘केहीगरी साइकल पनि हेलिकप्टरजस्तै उड्यो भने’ उनको यही सपनाले आज जहाजको ककपिटसम्म पु-याको छ।

उमेर बढ्दै गयो। उनको पाइलट बन्ने सपना झनै दरिलो हुँदै आयो।

चितवनबाटै एसएलसी पास गरे। त्यसपछि काठमाडौं आइपुगे। सेन्ट जेभियर कलेज, माइतीघरमा नाम निस्कियो। उनले साइन्स पढे। पढाइ राम्रै भएकाले प्लस टु पनि राम्रै अंक ल्याएर पास गरे। पाइलट बन्ने सपनाको अवसान भइसकेको थिएन। बरु, भर्भराउँदै थियो।

पाइलट पढ्ने आफ्नो योजना घरतिर बताइसकेका थिए, उनले। साथीभाइलाई आफ्नो योजना सुनाइसकेका थिए। साथीभाइबाट बधाइ पनि पाइसकेका थिए। आफन्तहरुलाई थाहा नहुने कुरै भएन। एक कान, दुई कान, मैदान भनेझैँ उनको पाइलट पढ्ने योजना गाउँभरिकाले थाहा पाइसकेका थिए। तर त्यसको एकेडेमिक काम अघि बढे पनि आर्थिक कामले गति लिन सकिरहेको थिएन।

प्लस टु सकेर उनले पाइलट पढ्न स्कलरसिपमा ‘ट्राइ’ गरे। सफल भएनन्। घरकाले पैसा तिरेर पाइलट पढाउन नसक्ने बताइसकेका थिए। आर्थिक अवस्था गतिलो थिएन। १/२ लाख हैन, ५० लाखभन्दा माथि लाग्थ्यो। एउटा आस, बैंक थियो। बैंकबाट ऋण काढेरै भए पनि पढ्न जाने उनले योजना बनाए। बैंकले ऋण दिन्छु, आम्दानीको स्रोत देखा भन्यो। भर्खर १२ कक्षा पास गरेका तन्नेरी युवकले केको आम्दानीको स्रोत देखाउने ? त्यो पनि आधा करोड! पाइलट पढ्ने प्रयास गर्दागर्दै २ वर्ष बित्यो।

‘आफ्नो योजना सबैतिर सुनाइसकेको थिएँ तर पढ्न जाने सुरसारै थिएन। त्यसपछि मैले साथीभाई, आफन्तलाई भेट्नै छाडिदिएँ, लाजले। उनीहरुले भेट्ने बित्तिकै ‘के भइरहेको छ ?’ भनेर सोध्थे,’ उनी ती दिन सम्झन खोज्छन्। पाइलट बन्ने योजना बनाइरहेका पौडेलको सपना पनि ल्याण्डिङ गियर झारेर ओरालो लागेको प्लनझैँ हुन थालेको थियो।

२०६२ सालको कुरा हो। पाइलट पढ्ने योजना सफल हुने नदेखेपछि उनले पुलचोक इन्जिनियरिङ क्याम्पसमा ‘इन्डष्ट्रियल इन्जिनियरिङ’ मा इन्ट्रान्स दिए। नाम अग्रस्थानमै निस्कियो। योजना एउटा थियो, नाम अर्कोतिर निस्कियो। आकाशमा उड्ने त्यो ‘पागलपन’ ले उनी पुल्चोक क्याम्पसमा भर्नै भएनन्। बरु, अवसरहरु खोज्न थाले।

एउटा अवसर नेपाल वायुसेवा निगमले जुराइदियो। त्यतिबेला पाइलट ‘सर्टेज’ भएपछि निगमले पाइलट पढ्न जानेहरुका निम्ती बैंकमा जमानी बसिदिने घोषणा गर्यो। निगमले लिएको लिखित परीक्षामा पास भए उनी। मौखिकमा पनि नाम निस्कियो। स्वास्थ्य स्थितिमा कुनै गढबडी थिएन। निगमको जमानीमा पौडेलले बैंकबाट ऋण पाउने भए। अब बैंकमा स्रोत देखाउनुपर्ने झण्झटै भएन। ब्याज पनि परेन। पाइलट पढ्ने बाटो खुल्यो। आखिर उनका सपनाले बाटो पाए।

मे २००७ को एक बिहान उनी पाइलट हुने हुटहुटी बोकेर पहिलो पटक जहाज चढे। उनलाई कताकता रमाइलो लाग्यो। मनमनै कल्पना गरे– आफैंले उडाउन पाए त झन् कति मजा आउँदो हो ? जहाज उडानको शिक्षा आर्जन गर्न हिँडेका पौडेल मनमनै कल्पिए त्यो उडानमा।

त्यो दिन पनि टाढा थिएन। बस्, १७ महिनामा त कोर्स नै सकिन्थ्यो। मलेसिया पुगेर उनले अध्ययन गरे। ककपिटमा बसेर के–के गर्ने ?, प्लेन कसरी उड्छ ?, कसरी ल्याण्डिङ हुन्छ ? कसरी कोल्टे पर्छ ?, कसरी सीधा पार्ने ?, सबै सिके। ‘प्लेनको थ्योरिटिकल पार्टको अध्ययन त गर्नु नै पर्यो। अभ्यास पनि गर्नुपर्छ,’ उनले भने। २ सय घण्टा प्लेन उडाउनुपर्ने। अभ्यास गर्नुपर्ने यही हो। २ सयमा १ सय घण्टा अनुभवी मान्छेले सिकाउँछ। अर्को एक सय घण्टा एक्लैले उडाउनुपर्छ।

पहिलो पटक प्लेन उडाउँदा उनलाई डर–डर लाग्यो। मेसिनको के भर ? सँगै, आफैँलाई सान्त्वना पनि दिन्थे, ‘अनुभवी मान्छेले सिकाइरहेको छ। केही हुँदैन।’

२२ वर्षका थिए उनी। त्यत्रो जहाज आफूले उडाएको छु भन्ने कल्पनाले मात्र पनि उनलाई खुसी दिन्थ्यो। डर र रोमाञ्चकतामै पहिलो पटक सफल उडान भरे उनले।

त्यसपछिका दिनमा ककपिटमा बस्न मजा लाग्न थाल्यो उनलाई।

मलेसियाको आकाशमा २ सय घण्टा उड्दा धेरै विषय जान्न पाए। समन्वयीसँग कसरी काम गर्ने भन्नेदेखि स्रोत साधनमा ख्याल गर्नुपर्ने अवस्थालाई व्यवहारिक रूपमै अभ्यास गरे। त्यहाँ उनले सानो जहाज उडाउन पाउँथे। ठूलो जहाज २ सय घण्टा उडाउँदा त खर्च पनि ठूलै हुन्थ्यो। खर्चलाई नै ध्यान दिएर सानो जहाज उडाइन्थ्यो। ‘सानो जहाजमा स्किल सिकाउने र ठूलो जहाजमा फेमिलियराइज गराउने हुन्छ,’ उनले थपे, ‘पुरानो बाइक सिकेर नयाँ बाइक हाँकेजस्तै हो प्लेन पनि। पुरानो, सानो हाँकेर ठूलोमा पारङ्गत हुँदै जाने रहेछ।’

हिजोआज उनी ठूलो विमान हाँक्न पारंगत भइसकेका छन्। उनको बोलीमा परिपक्कता झल्किन्छ। आफूहरु ‘टास्क ओरियन्टेड’ हुने सुनाउँछन्। भन्छन्, ‘हामी मिलिटरी पाइलटजस्तो ‘मिसन ओरियन्टेड’ हुँदैनौँ। आज नसके भोलि जाउँला भन्ने हुन्छ। मौसम बिग्रँदा पनि पेलेरै जाने भन्ने हाम्रो मनसाय हुँदैन। पेसिन्जरलाई सकेसम्म दायाँबायाँ पनि नहल्लाई यात्रा गराउन चाहान्छौँ।’

०००

उनले प्लेन चलाउन थालेको एक दशक नाघ्यो। २००८ को सेप्टेम्बरमा मलेसिया पढेर आएपछि नेपाल एयरलाइन्सले जागिर दियो। उनले ‘टुइनेटर’ उडाए।

टुइनेटर लिएर नेपालका दुर्गम ठाउँमा पुग्नुपर्ने। हुम्ला, बझाङ, ताप्लेजुङ, भोजपुर, लुक्ला जस्ता ठाउँसम्म कतिपटक पुगे, गन्ती छैन। ‘सबैभन्दा डरचाहिँ मनाङ जाँदा लाग्ने,’ डोमेस्टिक एयर हाँक्दाका ती दिन सम्झिन्छन् उनी। हुम्डे विमानस्थलजाँदा मस्र्याङ्दीको खोँच हुँदै अघि बढ्नुपर्छ। उनी भन्छन्, ‘कथमकदाचित खोंचमा पुग्दा बादलले घेराबन्दी गर्यो भने जहाज घुमाउने ठाउँ पनि छैन।’ एक/डेढ मिनेटका लागि त्यहाँ अलि गाह्रो रहेको सुनाउँछन्।

हिजोआज त प्लेन चलाउँदा पहिला–पहिला जस्तो पौडेललाई न मजा लाग्छ, न डर। डाक्टरले बिरामीको चिरफार गरेजस्तै, सेना मैदानमा उत्रिए जस्तै, उनलाई पनि प्लेन हाँक्नु दैनिकी भइसक्यो।

७ वर्ष डोमेस्टिक एयर चलाएर उनले अन्तर्राष्ट्रिय विमान चलाउन थाले। साँढे ३ वर्षदेखि अन्तर्राष्ट्रिय विमान चलाइरहेका छन्।

अहिले एयरबस ३३० मा नियमित कतार, सिङ्गापुर, दिल्ली, मलेसिया, दुबइ, कतार पुगिरहेका हुन्छन्। घुम्न खुबै मनपराउने पौडेललाई जागिरले पनि साथ दियो। देशभित्र बरु घुम्न टाइम हुँदैन, स्वदेश–विदेश त गरिरहेकै हुन्छन्। ‘पहिला–पहिला त बादलमाथि हिँड्थ्यौँ। तलतल बादल देख्दा ‘वाउ’ गरिन्थ्यो। अब त झ्याउ लाग्छ,’ उनी भन्छन्, ‘एकैखाले दृश्य कति हेर्नु?’

प्लेनभरि श्रमिक चढेका हुन्छन्। हरेक दिन सयौँंको सङ्ख्यामा वैदेशिक रोजगारीको लागि उडाउनुपर्दा उनलाई नरमाइलो लाग्छ। नेपाल सरकारप्रति रिस पनि उठ्छ। उनी चाहन्छन्, ‘दैनिक सयौँको सङ्ख्यामा टुरिष्ट मात्र ओसार्न पाइयोस्। नेपालीले काम गर्न बाहिर जानै नपरोस्।’ आफ्नो यस्तो चाहना अहिले पूरा हुने छाँट पनि देख्दैनन् उनी। विश्वास पनि छैन।

प्लेन चढ्न लाइन लागेका श्रमिक देख्दा उनी भावविह्वल बन्छन्। झन् कुनै बेला आफ्नै साथीलाई पनि त्यही लाइनमा देखे भने उनको भावुकता दोब्बर हुन्छ।

श्रमिकहरुप्रतिको सम्मान भावनाले पौडेललाई लपक्कै भिजाउँछ। सोच्छन्- उनीहरुकै परिश्रमले त हो मेरो रोजीरोटी चलेको। श्रमिकहरुलाई नमीठो बचन नगर्न बेलाबेला ‘क्रु’हरुलाई सल्लाह पनि दिन्छन्। क्रुहरुलाई उनले धेरै पटक भनेका छन्–‘कसैको ड्रेस मैलो होला, कसैको ज्यान ख्याउटे होला, खाँदा सरसफाइ नगर्लान्। दिक्क नमान्नू। नझर्किनू। सम्मान गर्नू। नेपाल चलाएको उनीहरुले नै हो।’

नेपालबाट श्रमिक हैन, टुरिष्ट बोक्न चाहन्छन् चाहन्छन् उनी।

चाडबाडको बेलाचाहिँ उनी खुबै उत्साहित हुन्छन्। किनकि प्लेनभरि चढेका मान्छेको ओठमा मुस्कान छरिएको हुन्छ। वर्षौंदेखि अर्काको देशमा काम गरिरहेकाहरु आफ्नै देश फर्किंदै हुन्छन्। उनीहरुको उत्साहले पौडेललाई खुसी नबनाउने कुरै भएन। युवाहरुको लागि फ्लाइङ करिअर राम्रो रहेको उनको बुझाइ छ। ‘भर्खर साइन्समा प्लस टु सकेका विद्यार्थीहरुका लागि यो करिअर राम्रो हुन सक्छ’, उनी भन्छन्, ‘एसिया प्रशान्त क्षेत्रमा पर्यटनको सम्भावना दिनदिनै बढेर गइरहेको छ। यसले रोजगारीको अवसर पनि सिर्जना गर्नेछ। ’

०००

काठमाडौं, कमलादीको एक कुनोमा बसेर आफ्नो उडान यात्रा सुनाइरहेका छन्, पौडेल। बेलुकी भइसकेको छ। अँध्यारोका अवयव छरिन थालिसकेको छ। सडकका ल्याम्पपोष्टहरु बल्न थालिसकेका छन्। पौडेल हतारमा देखिन्छन्। भन्छन्, ‘अलिअलि खात्राखुत्रुक सामान किन्नु थियो।

फेरि कहिले उड्नुपर्ने हो, टुङ्गो छैन।’ छेवैमा उनका पाइलट साथी छन् घरिघरि उनको अनुहारमा हेर्छन् सञ्जय, र क्याप्टेनकै भाषमा भन्छन्, 'अब त जाउँ क्यारे अँध्यारो भइसक्यो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सिभिल बैंकको शाखा अब झापाको सुरुङ्गामा

सिभिल बैंकको शाखा अब झापाको सुरुङ्गामा

सिभिल बैंक लिमिटेडले झापा जिल्लाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले...

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ...

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...