coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिल्ला ठप्प, कार्यकर्ता भेटिँदैनन्

बन्दका कारण बसपार्कमा थन्काइएका सवारी साधनहरू ।    तस्बिरः शिवलाल/गुल्मी

गुल्मी – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण गुल्मीको जनजीवन प्रभावित बनेको छ। सडक, बजार कतै पनि बन्दकर्ता नभएपनि जिल्लाको जनजीवन प्रभावित भएको हो। कलकारखाना, उद्योग, बजार र विद्यालय पूर्ण रुपमा बन्द रहेका छन्।

जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सबै सवारी साधन बसपार्कमै रोकिएका छन्। सरकारी कार्यालयहरूमा सेवाग्राहीको समेत उपस्थिती न्यून छ। सरकारी कार्यालय पनि सुनसान रहेका छन्। विप्लवका कार्यकर्ता बजारमा नदेखिए पनि बन्दको प्रभाव रहेको छ।

एसइई र विद्यालयको वार्षीक परिक्षा नजिकै आएका बेला भएको बन्दले विद्यार्थीहरूको पढाई प्रभावित भएको छ। ‘घरमा छोरा–छोरीले टेर्दैनन्, विद्यालय पटक–पटक बन्द भइरहेको छ’, रेसुङ्गा नगरपालिका ८ की सिता बस्नेतले भनिन,‘परिक्षाको मुखमा भएको बन्दले निकै मर्का परिरहेको छ।’

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै भएको बन्दले कुनै क्षति नहोस् भनेर जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। उनले सुरक्षाको दृष्टिले संवेदनशिल मानिएका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ति भइरहेको बताए। आफूलाई असुरक्षित र कुनै खतरा भए प्रहरीलाई खबर गर्न पौडेलले आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय गुल्मीले बिहानै बजार बन्द गराउँदै हिड्ने शंकास्पद चार जनालाई पक्राउ गरेको छ। एसपी दिपक कुमार बस्नेतले उनीहरू विप्लपकै कार्यकर्ता वा अरु सर्वसाधारण हुन भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। उनीहरूले नेपाल बन्द सफल पारौ भन्दै बजारमा स्पिकर बजाउँदै हिँडेको प्रहरीको आरोप छ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App