७ वैशाख २०८१ शुक्रबार
अन्य

रातको समयमा चोरी-निकासी

इटहरी- असारदेखि ३ महिनासम्म देशभरका नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाइएपनि मोरङ र सुनसरीका कतिपय नदीबाट चोरी–निकासी भइरहेको छ। बढी मात्रामा बूढी खोलाको सुनसरी–मोरङ दुवैतर्फबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

बूढी खोलाबाट प्रहरीले ढुंगा, गिट्टी र बालुवा लोड गर्दै गरेको अवस्थामा ५ वटा ट्र्याक्टर नियन्त्रणमा लिएपछि चोरी–निकासी भइरहेको खुलेको हो। इटहरी प्रहरीले को१त ५४०३ नम्बरको सहित ३ वटा ट्र्याक्टरलाई जरिमाना असुल्न जिल्ला विकास समितिको जिम्मा लगाएको बताइएको छ।

 बेलबारी प्रहरीले पनि मोरङ सुन्दरदुलारीका प्रेम दोर्जे तामाङको को२त ३१२४ र मुरारी पोखरेलको को१त २७१८ नम्बरको ट्र्याक्टरमा बालुवा लोड गर्दै गर्दा पक्राउ गरी जिविसलाई जिम्मा लगाएको इन्स्पेक्टर मेघराज थापाले बताए। थापाका अनुसार पछिल्लो समय चोरी–निकासी रोक्न प्रहरीले निगरानी बढाएको छ।

बूढी खोलामा ८ स्थानलाई संवेदनशील क्षेत्र घोषणा गरिएपनि जहाँबाट पायक पर्छ, त्यही स्थानबाट चोरी–निकासी गर्ने  गरिएको छ। वर्षाको समयमा जथाभावी ढंगले ढुंगा, गिट्टी निकाल्दा नदी गहिरिँदै गएको छ।

ट्र्याक्टर सञ्चालकले विशेषगरी रातको समयमा खोलाबाट ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने गरेका छन्। ट्र्याक्टर गुड्न भित्री कच्ची सडक प्रशस्तै भएको र तोकिएको स्थानमा ती सडकबाट सहजै पुर्‍याउन सकिने हुँदा रातको समयमा बढी चोरी–निकासी हुने गरेको हो।

सुनसरीतर्फको बूढी खोलाको संवेदनशील स्थानबाट समेत ढुंगा, गिट्टी र बालुवा निकाल्ने कार्य नरोकिँदा त्यस आसपासका बस्ती उच्च जोखिममा परेका छन्। मनोमानी ढंगले नदी उत्खनन गर्नेक्रम बढेसँगै २ दिनयता बूढी खोलाले दुहबीमा डुमराही बस्तीतर्फ निरन्तर कटान गरिरहेको छ। जसले गर्दा आसपासका बस्ती उच्च जोखिममा परेका छन्। महिनादिनअघि त्यसै बस्तीका ५ वटा घर बाढीले बगाएको थियो।

बूढी खोला नदीको वडा नम्बर ३ को याक्थुङ चोकपूर्वतर्फ, वडा नम्बर ४ को भीरगाउँ क्षेत्र र वडा नम्बर १० बाट ढुंगा, गिटी र बालुवा चोरी–निकासी हुने गरेको छ। मोरङको खदम खोला केराबारी क्षेत्रबाट पनि ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी हुँदै आएको छ।

खदम खोलाको केराबारी क्षेत्रबाट भने बढी मात्रामा ढुंगा चोरी–निकासी हुँदै आएको छ। खोलाबाट प्रायः गरेर बढी मात्रामा ट्र्याक्टरले चोरी–निकासी गर्ने गरेको पाइएको छ।

सुनसरीका सिडिओ मोहनप्रसाद चापागाईंले चोरी–निकासी गर्ने ट्रक–टिप्परलाई १० हजार र ट्र्याक्टरलाई ५ हजार जरिमाना लिने गरिएको र गलत काम गर्ने कार्य पूर्ण रूपमा नरोकिए जरिमाना बढाउने बताए।

उनका अनुसार प्रतिबन्ध लगाएको समयमा खोलाबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी गर्ने कार्य पूर्ण नियन्त्रण नभए ट्र्याक्टरलाई १० हजार जरिमाना लिइने बताए। गैरकानुनी काम गर्नेलाई निगरानी गरेर कारबाही गर्न प्रहरीलाई सकुर्लर जारी गरिसकिएको सुनसरी प्रशासनले जनाएको छ। मोरङ जिल्ला प्रशासन कार्यालयले पनि प्रहरीलाई कडाइ गर्न निर्देशन दिइसकेको बताइएको छ।

अनुगमन प्रभावकारी नहुँदा ढुंगा, गिट्टी र बालुवाको चोरी–निकासी बढेको पाइएको छ। जिल्लामा सिडिओको अध्यक्षतामा अनुगमन समिति रहने गरेको छ।

 

प्रकाशित: १२ असार २०७३ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App