८ वैशाख २०८१ शनिबार
अर्थ

डकर्मी पेसामा महिलाको आकर्षण

खोटाङ – शरीरमा रातो एप्रोन ज्याकेट। टाउकामा रबरको पहेँलो टोपी। रावाबेसी गाउँपालिकाकी अम्बिका नेपाली यही पहिरनमा भूकम्पप्रतिरोधी घरको पर्खाल हालिरहेकी थिइन्।

हथौडाको सहायताले ढुंगा कुँदेर घरको सुर मिलाउँदै पर्खाल हालेको देख्दा उनको सीप व्यावसायिक डकर्मीभन्दा कम देखिँदैन। डकर्मी तालिम लिन थालेको महिना दिनमात्र पुगेको अम्बिका बताउँछिन्। स्वरोजगार बन्ने उद्देश्यले तालिम लिएको उनको भनाइ छ। तालिम अवधि अझै २० दिन बाँकी रहँदा उनले हथौडाले ढुंगा काटेर आकार दिनेदेखि हिलोसँग सुर मिलाएर घरको पर्खाल हाल्नेसम्मका काममा दक्षता प्राप्त गरिसकेकी छन्।

‘सुरु–सुरुमा पर्खाल हाल्न गाह्रो भयो,’ उनले भनिन्, ‘जानेपछि सोचेभन्दा सजिलो रहेछ।’ श्रीमान विदेशमा भएकी अम्बिका घरमा एक्लो बच्चालाई छाडेर तालिममा सहभागी भएकी हुन्।

रावाबेसी गाउँपालिका–२ कुभिन्डे हरमटारमा आयोजना गरिएको ५० दिने डकर्मी तालिममा अम्बिकासँगै दुर्गा रम्तेल र शान्तादेवी बिसंखे पनि धागोको सुता तानेर घरको पर्खाल लगाउने सीप सिक्न व्यस्त छन्। तालिमको मध्यअवधिमा पुग्दा उनीहरुले डकर्मीसम्बन्धी काम गर्ने दक्षता र आत्मविश्वास बटुलेका छन्। अहिले भूकम्पप्रतिरोधी घर बनाउने क्रम बढेकाले डकर्मी पेसा अपनाएर गाउँमै स्वरोजगार बन्ने धोको तालिममा सहभागी महिलाको छ। ‘पहिले आफ्नै घर बनाउने हो,’ अम्बिकाले भनिन्, ‘त्यसपछि रोजगारमा अरुको घर बनाउन थाल्छौं।’

सामान्यतः डकर्मी पेसा पुरुषले मात्र अपनाउने प्रचलन छ। रोजगारमा समान अवसर र समान ज्यालाको आवाज उठिरहँदा डकर्मी तालिममा पुरुषकै सहभागिता बढी रहने गरेको छ। भूकम्पपछिको पुनर्निर्माणका क्रममा सञ्चालन भइरहेका भूकम्पप्रतिरोधी घर निर्माणसम्बन्धी तालिममा महिलाको सहभागिता न्यून छ। महिलालाई पनि समान अवसर दिनका लागि डकर्मी तालिममा सहभागी गराइएको प्रशिक्षक विष्णु श्रेष्ठले बताइन्। तालिममा पुरुषसहित ११ जना सहभागी छन्। तालिममा सहभागी महिला प्रशिक्षार्थीले प्रशंसा पाइरहेको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए। ‘उहाँहरुको डकर्मी सीपको गाउँमा खुब चर्चा छ,’ गाउँपालिका प्रमुख निरौलाले भने, ‘घरको सुर मिलाउने काममा उहाँहरु नै अघि सर्नु भएको छ।’ मल्टिस्किलले हेल्भेटासको सहयोगमा डकर्मी तालिम आयोजना गरेको हो।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App