७ वैशाख २०८१ शुक्रबार
अर्थ

निर्माण क्षेत्रको समस्याबारे लेखा समितिमा छलफल

काठमाडौं - संसद्को सार्वजनिक लेखा समितिले निर्माण र ठेक्का प्रक्रियाका समस्याबारे नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

छलफलमा महासंघका अध्यक्ष रवि सिंहले विविध कारणले निर्माण काममा ढिलाइ भएपनि सबै दोष निर्माण व्यवसायीमाथि थोपर्ने गरेको बताए । सम्बन्धित निकायबीचको समन्वय अभाव, अव्यावहारिक  प्रक्रिया तथा समयमा आवश्यक बजेट निकासा नहुँदा काममा ढिलाइ हुने गरेको उनले बताए ।

महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले विदेशी निर्माण कम्पनीलाई नेपालमा काम गर्न दिन हुँदैन भन्ने पक्षमा आफूहरु नरहेको बताए । तर महत्ववपूर्ण र ठूला आयोजनामा विदेशीसँगै नेपालीले पनि अनिवार्य टेन्डर प्रक्रियामा सहभागी हुन पाउनुपर्ने धारणा उनको थियो । यस किसिमको व्यवस्थाले विदेशी सीप तथा प्रविधि नेपालमा भित्रने र नेपाली निर्माण व्यवसायी पनि सक्षम हुने उनले बताए ।

बैठकमा समितिका सदस्यहरुले केही निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा समग्र विकासको काममा बाधा पुगेको धारणा राखेका थिए । त्यसबाट मुलुकले वर्षेनी ठूलो घाटा बेहोर्नु परिरहेको उनीहरुको भनाइ थियो । सांसदहरुले मुलुकका विभिन्न भागमा सडक तथा पुल निर्माणको ठेक्का लिएका व्यवसायीले लामो समयसम्म पनि काम सम्पन्न नगर्दा जनताले सास्ती भोग्नु परेको भन्दै आफ्नो जिम्मेवारीमा इमान्दार बन्न निर्माण व्यवसायीसँग आग्रह गरेका थिए ।

समितिका सभापति भरतकुमार शाहले बैठकमा उठेका विभिन्न विषयमाथि आगामी बैठकमा सरकारी र अन्य सम्बद्ध निकायका जिम्मेवार पदाधिकारीलाई बोलाएर छलफल गरिने जानकारी दिए ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App