एक महिनापछि खुल्यो अन्नपूर्ण फेरो पदमार्ग

बिहिबार, ३० फागुन २०७५, १२ : ०५ नागरिक

127


सन्तोष पोखरेल, पोखरा
सुशीलबाबु थकाली, मुस्ताङ

साहसिक र विश्वमै ख्याती कमाएको अन्नपूर्ण फेरोको पदमार्ग झण्डै एक महिनापछि खुलेको छ। लगातारको हिमपातपछि बाक्लो हिउँ थुप्रिएको पदमार्गमा मनाङबाट गएको स्थानीयको टोलीले ट्र्याक खुलाएपछि पदयात्राका पर्यटक आउजाउ गर्न सकेका हुन्। पछिल्लो एक दशक अवधिमा हिमपातका कारण यति लामो समय पदमार्ग बन्द भएको यो नै पहिलो पटक हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका संरक्षण अधिकृत तुलसी दाहालले मनाङबाट पदमार्ग खुलाउन गएको स्थानीयको टोली मंगलबार जोमसोम झरेको बताए। ‘पदमार्ग खुलाउन गएको टोली पनि मंगलबार जोमसोम आइपुगेको छ। त्यसबाहेक दुई समूहमा गरी २४ जना विदेशीले पनि थोराङला भञ्ज्याङ (५४१६ मिटर) पार गरेर ओर्लेका छन,’ उनले भने, ‘यो पटक निकै नै सास्तीपूर्ण तरिकाले पदमार्ग खुलाउनुप-यो।’

सिजनमा परेको झण्डै डेढ महिनाको हिमपातले पदमार्ग पूर्ण रुपमा बन्द भएको थियो। सिजनका बेला पदमार्ग बन्द हुँदा पदयात्राका लागि आएका विदेशी पर्यटक फेरोको मनाङ खण्डबाटै फिर्ता हुनु परेको थियो। ‘सिजनका बेला पदमार्ग बन्द हुँदा पदयात्राकै लागि भनेर आएका विदेशीको यात्रा पूरा हुन सकेको थिएन,’ दाहालले भने, ‘सिजनका बेला पाहुनालाई सेवा दिन नपाउँदा स्थानीय व्यवसायीलाई पनि निकै नै मार परेको थियो। व्यवसायसमेत चौपट पर्ने अवस्थामा थियो। बल्लतल्ल पदमार्ग खुलेको छ।’

पदमार्गको अवस्था बुझ्न र ट्र्याक खुलाउन मनाङतिरबाट स्थानीयको एक टोली केही दिनअघि पदयात्रामा हिँडेको थियो। थोराङला भञ्ज्याङ पार गरेर त्यही टोली मुस्ताङ झरेको थियो। ‘पदयात्राको ट्र्याक मात्र खुलेको हो। पूरै सहज त भएको छैन,’ दाहालले भने, ‘तर विदेशी पर्यटकले साहसिक खण्ड थोराङला भञ्याङ पार गरेका छन्। पदमार्ग खुलाउन हिँडेका १५ जना मनाङका स्थानीय पनि बाटो पहिल्याउँदै जोमसोम झरेका छन्।’ पदयात्राको ट्र्याक खुलाउन हिँडेका उनीहरुले पदमार्गको हिउँ पन्छाएको नभई पदमार्ग मात्र पहिल्याएका हुन्। अधिक हिमपातले गर्दा पदमार्गको ट्र्याक नै मेटिएको थियो। संकेत बोर्ड र अनुभवका आधारमा टोलीले पदमार्ग पहिचान गरेर ट्र्याक खुलाएको उनले बताए।

‘पदमार्गमा जमेको हिउँ हटाएर सकिने अवस्था नै छैन। अझै पनि घुँडासम्म हिउँ छ, तर, पदमार्ग पछ्याएर पदयात्रा गर्न सकिने भएको छ,’ दाहालले भने, ‘अब अरु थप हिउँ नपरेमा पदयात्रा सहज हुनेछ।’ अरु हिउँ नथपिएको खण्डमा सात दिनमा सबै पग्लिन सक्ने अनुमान रहेको उनले बताए। अन्नपूर्ण फेरोको पदयात्रामा वर्षमा झण्डै ३० हजार पर्यटक पुग्छन्। तीमध्ये अधिकांश पर्यटक मनाङ हुँदै भञ्ज्याङ पार गरेर मुस्ताङ झर्छन्। मुस्ताङ हुँदै मनाङ झर्नेको संख्या न्यून हुन्छ। एक्यापको मुस्ताङ कार्यालयले मुस्ताङ खण्डबाट पनि पदमार्ग खुलाउनका लागि टोली खटाउने तयारी गरिरहेकामा मनाङबाट हिँडेको समूह मुस्ताङ ओर्लेको उनले बताए। ‘हामीले पनि अर्काे टिम मुस्ताङबाट पठाउने तयारी गरिरहेका थियौं। तर, मनाङको टोली आएपछि हामीले पठाएनौं,’ दाहालले भने।

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्टेन गुरुङले पनि पदमार्ग खुलेको बताए। उनले लामो समय पदमार्ग अवरुद्ध हुँदा पर्यटकको पदयात्राको चाहना पूरा हुन नसकेको बताए। ‘२१ दिनसम्म त पर्यटकको तथ्यांक नै राख्नु परेन। २१ दिनसम्म कोही पनि पर्यटकले थोराङला भञ्ज्याङ नै गरेनन्,’ गुरुङले भने, ‘हिमपात रोकिएपछि बल्ल बाटो खुलाउन सहज भएको हो।’ विदेशी पर्यटकको समूह पनि मनाङबाट भञ्ज्याङ पार गरेर मुस्ताङ ओर्लेपछि अरुका लागि सहज भएको उनले बताए। ‘अहिले पनि पूर्ण रुपमा हिउँ हटेको होइन। मनाङबाट हिँडेपछि हिउँ टेक्दै अघि बढ्नुपर्छ,’ गुरुङले भने, ‘कुलोजस्तै बाटोको ट्र्याक खुलेको हो। पदमार्गमा थुप्रिएको पूरै हिउँ फ्याकेको होइन। बाटोमा जमेको हिउँ फ्याकेर सम्भव पनि छैन। हिउँ छिचोल्दै पदयात्रा गर्नुपर्छ।’

पदयात्रामा मार्च–अप्रिल चल्तीको सिजन मानिन्छ। पर्यटन व्यवसायीले सेप्टेम्बर–नोभेम्बरपछि दोस्रो सिजनको रुपमा मार्च–अप्रिललाई मान्दै आएका छन्। तर, यो पटक प्राकृतिक प्रकोपले पदयात्रा क्षेत्र अस्तव्यस्त बनाएको व्यवासायीको भनाइ छ। अन्नपूर्ण फेरो विश्वमै कहलिएको साहसिक पदमार्ग हो। यो पदमार्ग वर्षमा झण्डै ३० हजार विदेशी पर्यटकले पार गर्छन्। मनाङ र मुस्ताङलाई जोड्ने थोराङला भञ्ज्याङ (५४१६ मि) पार गर्नुपर्ने भएकाले साहसिक पदमार्गमा गनिएको छ। पदयात्रीले भञ्ज्याङ पार गर्नुलाई निकै नै उपलब्धिमूलक मान्ने गरेका छन्।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले फेरोको पदयात्रा खुले पनि अन्नपूर्ण आधार शिविर (एबिसी) खुलाउन अझै समय लाग्ने बताए। एबिसीको छोमरोङभन्दा अगाडि जान सकिने अवस्था नरहेको उनले बताए। त्यसबाहेक मर्दीमा पनि हाइ क्याम्पभन्दा माथि जान सकिने अवस्था नरहेको उनले बताए। ‘अभैm पनि चल्तीका धेरै पदमार्ग अस्तव्यस्त छन्। अझै केही दिन ती पदमार्ग खुल्ने अवस्था छैन,’ भुजेलले भने, ‘घाम लागेको खण्डमा केही दिनमा सबैतिर खुल्न सक्छन्। तर, हिमपहिरोको त्रास भने उस्तै छ।’






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad