८ वैशाख २०८१ शनिबार
अर्थ

प्यान ऐच्छिक बनाउन लगानीकर्ताको दबाब

काठमाडौं - सरकारले वैशाखदेखि सेयर खरिदमा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लगाउने तयारी गरिरहेका बेला लगानीकर्ताले त्यसको विरोध गर्दै अनिवार्य होइन ऐच्छिक बनाउन दबाब दिन थालेका छन्। बुधबार लगानीकर्ताले राजस्व सचिव लालशंकर घिमिरेलाई भेटेर प्यान ऐच्छिक बनाउन दबाब दिएका हुन्।

सरकारले वैशाखदेखि सेयर खरिद गर्दा अनिवार्य रुपमा प्यान लगाउने तयारी गरेको छ। लगानीकर्ताले त्यसको विरोध गर्दै आएका छन्। सरकारले २०५८ को आयकर ऐनमा अनिवार्य प्यानको व्यवस्था गरेकाले त्यही अनुसार सेयर खरिदमा पनि लागू गर्न लागेकोे हो। तर, लगानीकर्ताले सेयर बजार निरन्तर ओरालो लागेका बेला प्यान लगाउँदा झनै समस्या आउने भन्दै यसलाई ऐच्छिक बनाउन आग्रह गर्दै आएका छन्। घट्दो सेयर बजामा प्यान लगाउँदा लगानीकर्तालाई हतोत्साहित पार्ने र बजार झनै घट्ने सम्भावना हुने भएकाले हतारमा लागू गर्न नहुने उनीहरुको भनाइ छ।

सरकारले सेयर बजारलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्नेमा लगानीकर्तालाई ढोका बन्द गर्ने काम गर्न नहुने उनीहरुको भनाइ छ। सरकारले ऐन आएको १७ वर्षपछि सेयर खरिदमा प्यान लगाउँदा पनि विरोध गर्नुको तुक नहुने धारणा सार्वजनिक गर्दै आएको छ। सरकारको चालु आवको बजेटमार्फत धितोपत्रको दोस्रो बजारमार्फत सेयर खरिद गर्दा खरिदकर्ताले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसै अनुसार आगामी वैशाखदेखि लागू गर्ने तयारी गरिएको हो।

प्यानको विरोधी नरहेको तर, बजार ओरालो लागेको समयमा प्यान लागू गर्नु व्यवहारिक नहुने तर्क लगानीकर्ताको छ। प्यान स्वःस्फूर्त रुपमा लिने वातावरण बनाउनुपर्ने र प्यान लिन देशभर सहज व्यवस्था नभएकाले सहज बनाएर मात्र लागू गर्न सरकारलाई उनीहरुले सुझाव दिएका थिए। उनीहरुले देशको भौगोलिक अवस्थाका साथै अन्य व्यावहारिक पक्षलाई समेत मध्यनजर गरी प्यान २०७६ वैशाख १ देखि अनिवार्य रुपमा लागू नगरी चरणबद्ध रुपमा ऐच्छिक रुपमा लिने व्यवस्था लागू गर्नुपर्ने धारणा लगानीकर्ताले राख्दै आएका छन्।

प्रकाशित: ३० फाल्गुन २०७५ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App