७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भेनेजुएलाको ऊर्जा पुनर्स्थापनाका लागि चीनले सहयोग गर्ने

भेनेजुएली राष्ट्रपति निकोलास मादुरो नेतृत्वको सरकारको विरोधमा राजधानी कराकसमा मंगलबार गरिएको प्रदर्शन । तस्बिर : एजेन्सी

कराकस - चीनले भेनेजुएलाको विद्युत् सञ्जाल पुनर्स्थापनाका लागि बुधबार सहयोगको प्रस्ताव राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर हमला गरेको आरोप भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले लगाएको केही समयपछि बेइजिङले भेनेजुएलाको ऊर्जा संकट समाधानका लागि सहयोगको प्रस्ताव गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। 

दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा इतिहासमै लामो समयसम्म ‘ब्ल्याकआउट’ भएपछि मादुरोले आफ्ना अमेरिकी समकक्षी ट्रम्पलाई साइबर हमलाको आरोप लगाएका हुन् । रुस र चीनको समर्थन प्राप्त गरेका मादुरोलाई देशभित्र शक्तिशाली सेना र राज्यका अन्य अंगको पनि समर्थन रहेको छ । उनै मादुरोले देशको आर्थिक संकटका पछाडि वासिङ्टनको हात रहेको आरोप लगाउँदै प्रमुख विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष उवान गुआइडोलाई संयुक्त राज्य अमेरिकाको कठपुतली भएको आरोप पनि लगाएको रोयटर्सले उल्लेख गरेको छ । 

निरन्तर ६ दिनसम्म विद्युत् आपूर्ति बन्द (ब्ल्याकआउट) भएपछि भेनेजुएलाका अस्पतालका उपकरणहरु सञ्चालनमा अत्यन्तै अप्ठेरो भइरहेको छ भने अत्यधिक गर्मीका कारण खानेकुरा कुहिरहेका छन् । देशको प्रमुख टर्मिनल बन्द भएका कारण कुनै पनि देशबाट सामान पनि आयात नभएको रोयटर्सले उल्लेख गरेको छ । 

ह्याकिङ आक्रमणका कारण भेनेजुएलाको विद्युत् प्रसारण सञ्जालमा समस्या उत्पन्न भएको विषय चीनसमक्ष आइपुगेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले बेइजिङमा आयोजित एक कार्यक्रममा बताए । ‘भेनेजुएलाको ऊर्जा समस्याबारे चीन अत्यन्तै चिन्तित बनेको छ,’ लुलाई उद्धृत गर्दै रोयटर्सले उल्ले्ख गरेको छ । ‘विद्युत् आपूर्ति बन्दबारे भेनेजुएला आफैंले कारण पत्ता लगाउनेमा चीन विश्वस्त छ । त्यसैगरी देशमा सामाजिक व्यवस्था कायम गर्न पनि भेनेजुएला आफैंले सक्छ भन्नेमा चीन विश्वस्त छ । विद्युत् आपूर्तिमा देखिएको समस्या समाधानका लागि सहयोग र प्राविधिक समर्थन उपलब्ध गराउन चीन तयार छ,’ प्रवक्ता लुले बताए । 

भेनेजुएलालाई सहयोग गर्ने बताए पनि लुले यसबारे विस्तृत विवरण भने नदिएको रोयटर्सले उल्लेख गरेको छ । गत बिहीबारदेखि विद्युत् आपूर्ति बन्द भएका क्षेत्रसहित देशका धेरै भूभागमा मंगलबारबाट विद्युत् आपूर्ति सुरु भएको बताइएको छ । यद्यपि देशको राजधानी कराकसका केही भागसहित कोलम्बियाको सीमानजिकैको पश्चिमी क्षेत्रमा भने अझै विद्युत् आपूर्ति नभएको सामाजिक सञ्जालमा आएका विवरण उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । 

देशका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको भेनेजुएलाका सूचना मन्त्री जर्ज रोड्रिजले बताएका छन् । भेनेजुएलाको दक्षिणपूर्वी क्षेत्रमा रहेको गुरी जलविद्युत् आयोजनाको राष्ट्रिय प्रसारण सञ्जालमा जोडिएको ट्रान्समिसन लाइनमा प्राविधिक समस्याका कारण ‘ब्ल्याकआउट’ भएको हुनसक्ने विज्ञहरुले अनुमान गरेका छन् । 

राष्ट्रपति मादुरोले भने भेनेजुएलाको राष्ट्रिय विद्युत् गृहमा अमेरिकाले साइबर हमला गरेका कारण विद्युत् आपूर्ति बन्द भएको आरोप लगाएका छन् । 

भेनेजुएलाको समाजवादी नेता ह्युगो चाभेजको निधनपछि सत्तामा उदाएका मादुरोले विपक्षीले बहिष्कार गरेको गत वर्ष सम्पन्न निर्वाचनमा जित हासिल गरेको भन्दै यस वर्षको सुरुवातमा दोस्रो कार्यकालका लागि सपथ लिएपछि भेनेजुएलाको राजनीतिमा तनाव उत्पन्न भएको थियो। 

मादुरोको कदमविरुद्ध विपक्षीले गरेको प्रदर्शनका क्रममा जनवरी २३ का दिन राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता उवान गुआइडोले आफूले आफैंलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राजनीतिमा थप समस्या सुरु भएको थियो ।विपक्षी नेतालाई अमेरिकासहित हालसम्म ५० भन्दा बढी राष्ट्रले मान्यता दिइसकेका छन् भने मादुरोलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा विशेषाधिकार ‘भिटो’ शक्ति राष्ट्र चीन र रुसको समर्थन रहेको छ। 

आर्थिक रूपमा समस्याग्रस्त भेनेजुएलामा राजनीतिक शक्ति संघर्षका कारण जनताको दैनिकी थप कष्टप्रद हुँदै गएको छ। दैनिक  जीवनमा आवश्यक पर्ने अत्यावश्य चिजमा समेत जनताको पहुँच हुन छोडेका कारण कतिपय स्थानमा लुटपाटसमेत मच्चिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App