coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतको फराकिलो जित

विराटनगर - अहिलेसम्म आयोजना भएका साफ च्याम्पियनसिपका सबै चार संस्करणमा उपाधि विजेता भारतको आक्रामक खेलका अगाडि निरीह बनेको माल्दिभ्स विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप प्रतियोगितामा ६–० को फराकिलो अन्तरले पराजित भएको छ। 

विराटनगरस्थित सहिद रंगशालामा बुधबार भएको समूह ‘बी’ को पहिलो  खेलमा भारतले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गर्दै उपाधिमा दाबेदारी प्रस्तुत गरेको हो ।

शारीरिक र रणनीतिक हिसाबले कमजोर देखिएको माल्दिभ्सविरुद्ध भारतले दोस्रो मिनेटमा फ्रिकिकबाट दबाब दिन थालेको थियो। भारतलाई पेनाल्टी बक्सको लाइनमा सन्जुको फ्रिकिक प्रहार माल्दिभ्सको रक्षापंक्तिले बचाउ गर्दै पहिलो संकट टारेको थियो । 

आठौं मिनेटमा माल्दिभ्सको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै भारतकी ग्रेस डाङ्मीले सुरुआती अग्रता दिलाइन् ।  सुरुआतबाट नै दबाबमा राखेको भारतले १३औं मिनेटमा दोस्रो गोल थप्यो । सन्ध्या रंगनाथनले पेनाल्टी बक्सभित्र पाएको बललाई सदुपयोग गर्दै भारतको अग्रता २–० मा पुर्याइन् । 

मैदानको मध्यभागबाट दिएको लामो पासलाई सन्ध्याले नै गोलको दिशा दिन खोजे पनि माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले बचाउ गरिन् । पछि परेको भुटानकी खेलाडीले २०औं मिनेटमा बल अगाडि बढाउँदै केही मुभ बनाउने प्रयास गरेकी थिइन् । तर उनको त्यो प्रयास विफल भयो । यो नै माल्दिभ्सको पहिलो र अन्तिम प्रयास बन्यो ।  लगत्तै एक मिनेटपछि इन्दुमाथि काथीरसेनले पेनाल्टी बक्सभित्र पाएको बललाई नियन्त्रणमा लिँदै प्रहार गोलमा परिणत हुँदा भारतले ३–० को अग्रता बनायो ।

माल्दिभ्सकी गोलकिपर अमिनाथले पेनाल्टी बक्सनजिकैबाट प्रहार गरेको बललाई पन्च गर्दै बचाउको प्रयास गरे पनि असफल भएकी थिइन् । २७औं मिनेटमा डालिमा छिब्बरले उपलब्ध गराएको लामो पासलाई सन्जुले गोल गर्दै भारतको अग्रता ४–० मा पुर्याइन् । भारतको आक्रामक रणनीतिअगाडि निरीह देखिएको माल्दिभ्सको रक्षापंक्ति निकै फितलो देखिएको थियो । आपसी तालमेलमा रुमलिएको माल्दिभ्सले ३१औं मिनेटमा लिएको कुलिङ ब्रेकपछि केही सुधारिएको प्रदर्शन गर्याे । यद्यपि भारतको आक्रामक रणनीतिलाई भने रोक्न सकेन।

पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी बक्सअगाडि पाएको फ्रिकिकमा भारतकी रतनबाला देवीले आकर्षक गोल गर्दै माल्दिभ्सलाई थप दबाबमा राखिन् । २५ यार्डबाट गरेको प्रहार माल्दिभ्सकी गोलकपिरले थाहै नपाई गोलमा परिणत भएको थियो । पहिलो हाफमा लिएको ५–० को अग्रतापछि उच्च मनोबलका साथ मैदान उत्रिएको भारतले दोस्रो हाफमा थप एक गोल थप्यो । ४० यार्ड टाढाबाट प्रहार गरेको लामो बललाई माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले नियन्त्रणमा राख्न नसक्दा भारतले अग्रता बढाउने मौका पाएको हो । मुख्य खेलाडीलाई आराम दिँदै वैकल्पिक खेलाडीलाई मैदान उतारे पनि उत्तिकै आक्रामक भएको भारतको यो जितसँगै अघिल्लो चरणको यात्रा सहज भएको छ । समूह ‘बी’ को पहिलो खेलमा जित निकालेको भारतले समूहतालिकामा तीन अंक जोड्दा फराकिलो अन्तरले पराजित भएको भुटान अंकविहीन भएको हो।

तुलनात्मक हिसाबमा पहिलोभन्दा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको माल्दिभ्सले भारतको पोस्टमा एउटा पनि प्रहार गर्न सकेन र नतिजा सुम्पन बाध्य बन्यो । पहिलो खेलमा फराकिलो जित निकालेको भारतकी प्रशिक्षक मेमोल नडुगाडान रक्कीले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताइन्। 

‘रणनीतिक हिसाबमा हाम्रा खेलाडीले राम्रो खेल खेले । सन्तुलित खेल प्रदर्शनले खेलमा नतिजा निक्लियो,’ भारतकी प्रशिक्षक नडुगाडानले भनिन्, ‘पहिलो हाफमा नै हामीले पर्याप्त गोल निकालिसकेका थियौं । मिडफिल्डसँगै सबै खेलाडीले राम्रो प्रदर्शन गरे । खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु । आउँदो खेलमा अझै राम्रो खेल्नु छ।’

उता फराकिलो पराजयका बावजुद पनि माल्दिभ्सका प्रशिक्षक अब्दुल्लाह यासमिनले खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको प्रतिक्रिया दिए।

‘पहिलो रोजाइको रक्षापंक्तिका खेलाडीसहित पाँच जना खेलाडी घाइतेका कारण हामीले दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेका थियौं, पहिलो हाफमा आपसी तालमेल उति राम्रो हुन सकेन,’ माल्दिभ्सका प्रशिक्षक अब्दुल्लाह यासमिनले भने, ‘दोस्रो हाफमा रक्षापंक्तिमा केही सुधार गरेपछि हामीले भारतको आक्रामक खेललाई रोक्न सफल भयौं । अब श्रीलंकासँग प्रतिस्पर्धा छ । उक्त खेलमा राम्रो हुने अपेक्षा छ किनभने घाइते खेलाडी पनि खेलमा फर्किनेछन् ।’

समूह ‘बी’ को पहिलो खेलमा जित निकालेको भारतले लिगको दोस्रो खेल आइतबार श्रीलंकासँग खेल्नेछ भने पराजित माल्दिभ्सले शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै प्रतियोगिताअन्तर्गत बिहीबार भुटान र बंगलादेशबीच खेल हुनेछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक नेपालसँग ३–० ले पराजित भएको भुटानले दोस्रो खेल बंगलादेशसँग खेल्न लागेको हो ।  

विराटनगरका अधिकांश सडक बन्ने क्रममा रहेकाले सडक बन्द हुँदा प्रतियोगितास्थल सहिद रंगशालाअगाडिबाट सर्वसाधारणलाई पैदल मात्रै हिँड्न दिइएको थियो भने मोटरसाइकल, साइकल तथा कुनै पनि चारपांग्रे सवारी साधन चलाउन नपाउँदा धेरै खाल्डाखुल्डीको बाटो प्रयोग गर्दै सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य भएका थिए । प्रचारप्रसारको कमीका कारण प्रतियोगिता हेर्ने दर्शकको उपस्थिति अति नै न्यून थियो। 

प्रकाशित: ३० फाल्गुन २०७५ ०३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App