७ वैशाख २०८१ शुक्रबार
अर्थ

जीवनमा पहिलोपटक तलब लिए राउटेले

सुर्खेतको वीरेन्द्रनगरस्थित मेगा बैंकबाट तलब बुझ्दै राउटे मुखिया सूर्यनारायण शाही। तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत - जीवनमा पहिलोपटक जागिर खाएका राउटे समुदायका पाँच जनाले पहिलोपटक तलब बुझेका छन्। सामाजिक सेवा केन्द्र ९सोसेक०द्वारा अघिल्लो महिना सामाजिक कार्यकर्तामा भर्ना गरिएका राउटे समुदायका तीन मुखियासहित पाँच जनाले बुधबार पहिलो महिनाको तलब बुझेका हुन्। जीवनमै पहिलोपटक तलब पाएका राउटे समुदायका अगुवाहरू खुसीले दंग परेका छन्।

सोसेकले राउटे समुदायका मुखियाहरू सूर्यनारायण शाही, दिलबहादुर शाही, वीरबहादुर शाही, पूर्वमुखिया महिनबहादुर शाही र राउटे युवा प्रकाश शाहीलाई महिनाबारी तलब दिने गरी सामाजिक कार्यकर्ता बनाएको हो। सुर्खेतको लेकबेंसी नगरपालिकामा बस्ने उनीहरू तलब बुझ्न बुधबार सदरमुकाम वीरेन्द्रनगर आएका थिए। तलबबापत पाएको चेक साट्न उनीहरू वीरेन्द्रनगरस्थित मेगा बैंक पुगेका थिए।

राउटे मुखिया वीरबहादुर शाहीले भने, ‘हामी मुखियाले मात्रै जागिर खाएर भएन, हाम्रा जनतालाई पनि जागिर दिनुप-यो। सबैले जागिर पाए जीविका चलाउन सजिलो हुन्थ्यो।’

‘बालबच्चालाई लिटो खुवाउने, अन्य समुदायसँग समन्वय गर्ने जिम्मेवारी पाएका छौं, त्यो जिम्मेवारी पूरा गरेबापत तलब बुझ्न आएका हौं,’ मुखिया सूर्यनारायण शाहीले भने, ‘पहिलो महिनाको तलबबाट आफू र श्रीमतीलाई लत्ताकपडा र केही खाद्यान्न किनेर लान्छु।’ अर्का मुखिया वीरबहादुर शाहीले समुदायका सबैलाई जागिर दिन अनुरोध गरे। ‘हामी मुखियाले मात्रै जागिर खाएर भएन, हाम्रा जनतालाई पनि जागिर दिनुप-यो,’ उनले भने, ‘सबैले जागिर पाए जीविका चलाउन सजिलो हुन्थ्यो।’

फिरन्ते जिवन बिताउँदै आएका राउटे समुदाय पछिल्लो समय आफ्नो परम्परागत पेसाबाट विमुख हुँदै गएको छ। काठका भाँडाकुँडा बनाएर अन्नसँग साट्ने यो समुदायले यो काम छाड्दै गएको हो। सामुदायिक वनहरूले रूख काट्न नदिने गरेकाले काठका भाँडाकुँडा बनाउने पेसा संकटमा परेको पूर्वमुखिया महिनबहादुर शाहीले बताए। ‘सरकारले दिने भत्ता र दाताहरूको सहयोगमा जीविका चलाउने गरेका छौं,’ उनले भने, ‘सबैलाई जागिर भइदिए धेरै सजिलो हुन्थ्यो।’

सोसेकका अध्यक्ष हीरासिंह थापाले जागिर खाएका राउटे समुदायका अगुवाहरूले आफ्ना बालबालिकाहरूलाई पोषणयुक्त खाना खुवाउन सुरु गरेको बताए। ‘राउटे समुदायका सबै बालबालिकाहरू कुपोषित छन्, उनीहरूलाई यसबाट मुक्त गर्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘जागिर खाएपछि राउटे अगुवाहरूले आफ्ना समुदायका बालबालिकाहरुलाई नियमित सर्वोत्तम पिठोको लिटो बनाएर खुवाउन थालेका छन्।’ उनका अनुसार पछिल्लो समय राउटे बालबालिकाले पढ्न पनि थालेका छन्।

सोसेकले पाँच जना राउटेलाई मासिक १५ सय रुपैयाँका दरले तलब दिने गरी एक वर्षसम्मका लागि सामाजिक कार्यकर्तामा भर्ना गरेको हो। ‘राउटे समुदायको सशक्तिकरणका लागि उनीहरूकै अगुवाहरू परिचालन गर्ने उद्देश्यअनुसार जागिर दिएका हौं,’ यसले राउटे समुदायमा सकारात्मक प्रभाव परेको छ,’ सोसेकका अध्यक्ष थापाले भने, ‘कार्यक्रमको प्रभावकारिता हेरेर यसलाई थप गर्दै लैजाने सोच बनाएका छौं।’

प्रकाशित: ३० फाल्गुन २०७५ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App