coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेपत्ता बालक जंगलभित्र भेटिए

खोटाङ  – खोटाङमा बेपत्ता भएका १९ महिने बालक २३ घण्टापछि सकुशल फेला परेका छन्। मंगलबार बिहान साढे १० बजे घरबाटै हराएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–७, टेम्मा हात्तीसार टोलका राजकुमार मगर र सपना मगरका छोरा एवान मगर बुधबार बिहान ९ बजे भेटिएका हुन्।

उनी घरभन्दा दुई किलोमिटर टाढा भस्लुङ पाखामा सकुशल फेला परेको स्थानीय शिक्षक पञ्चुकुमार राईले जानकारी दिए। मंगलबार दिनभर र रातभर खोजी गर्दा नभेटिएका बालकलाई उत्तिसको घनाजंगल र काँडाघारीभित्र फेला पारिएको हो। चुथ्रोको फेदमा शान्तसँग बसिरहेका बालक स्थानीयलाई देखेपछि अत्तालिँदै आएको शिक्षक राईले बताए।

१९ महिनाको बालकलाई यसरी जंगलभित्र कसले पु¥यायो भनेर स्थानीय अचम्मित भएका छन्। ‘कसैले लगेर राखेको जस्तो पनि देखिन्न,’ शिक्षक राईले भने, ‘हिँडडुल गर्न नसक्ने बालक कसरी त्यति टाढा पुग्यो, हामी अचम्ममा परेका छौं।’ बेपत्ता भएका बालक सकुशल फेला परेपछि अभिभावक अत्यन्त खुसी भएका छन्।

आफन्तका अनुसार आमा कामका लागि बारीमा गएका बेला बालकलाई हजुरबाको जिम्मामा छाडिएको थियो। हजुरबा काम विशेषले केहीबेर घरबाहिर गएर फर्कंदा बालक राखेको ठाउँबाट बेपत्ता भएका थिए। एकाएक बालक बेपत्ता भएपछि स्थानीय बासिन्दाका तीन समूह खोजीमा निस्किएका थिए भने प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय (खोटाङ)का डिएसपी राजकुमार केसीले बताए। ‘बालक हराएको खबर आएपछि प्रहरी पठायौं, रातभर नभेटिएका बालक जंगलमा सकुशल फेला परेको खबर आयो,’ डिएसपी केसीले भने, ‘जंगली जनावरले आक्रमण गरेको देखिन्न। स्वास्थ्य जाँच गर्दा पनि बालकको अवस्था सामान्य रहेको जानकारी आएको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।’

प्रकाशित: ३० फाल्गुन २०७५ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App