coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सीके राउतसँगको सम्झौता खारेजीको माग गर्दै सत्ता र प्रतिपक्षी युवाको प्रदर्शन

जाजरकोट– गत शुक्रवार स्वतन्त्र मधेस गठबन्धन नामक समूहका नेता सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गर्दै जाजरकोटमा सत्तारुढ नेकपा र विपक्षी पार्टीका युवाहरुले प्रदर्शन गरेका छन्। 

सरकारले देश टुक्राउन उद्धत व्यक्ति र संगठनसँग गरेको सम्झौता नेपालको हितमा नभएको भन्दै उनीहरुले सम्झौता   खारेज गर्न आग्रह गरेका हुन्। नेकपा निकट युवा संघ नेपाल, अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेपाल तरुण दल, नेपाल विद्यार्थी संघमा आबद्ध युवा विद्यार्थीहरुले  सरकार र सीके राउत बीच भएको सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै विरोध गरेको बताए। 

सदरमुकाम खलंगाका विभिन्न बजारहरुमा राष्ट्रवादी नारा लगाउँदै  जुलुस गरेका उनीहरुले ठाँटीबजारमा कोण सभामार्फत  सरकार र सीके राउतको चर्काे विरोध गरे। हातमा विभिन्न नारा लेखिएका कार्डहरु समातेर उनीहरुले बजार परिक्रमा गरे। 

युवा संघका केन्द्रीय सदस्य विश्वविक्रम शाहले देश टुक्र्याउने सीके राउतसंग सरकारले सम्झौता गरेर गल्ती गरेको बताए। उनले  नेपालको अखण्डता र अस्मिताको खिलापमा बोल्ने सीके राउतलाई कारवाही गर्नुपर्ने र सरकारले गरेको सम्झौता खारेज गर्नुपर्ने आफूहरुको रहेको बताए। उनले आफूहरु मात्र नभएर देशैभरिका देशभक्त युवा र जनताले यो सम्झौताको विरोधमा लाग्नुपर्ने बताए। 

नेपाल विद्यार्थी संघका नेता अनिशकुमार कार्कीले सरकाले राष्ट्र विरोधीसंग सम्झौता गरेर नेपालीहरुको मन दुखाएको बताए। उनले खुलेआम नेपालको भौगोलिक अखण्डता र सामाजिक एकताको विरुद्ध गतिविधि गर्नेलाई सरकारले सम्मान गरेकोमा आम देशवासीहरु दुःखी भएको बताए। सरकार र सीके राउतसँगको सम्झौताको विरोध गर्न आयोजित युवा विद्यार्थीहरुको  कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिती थियो।

प्रकाशित: २९ फाल्गुन २०७५ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App