७ वैशाख २०८१ शुक्रबार
अर्थ

'त्यसै उडान रोक्न मिल्दैन'

काठमाडौं - अमेरिकी विमान कम्पनी बोइङको ७३७ म्याक्स ८ सिरिज विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले तत्काल यसको उडान रोके पनि नेपालले यसबारे ठोस निर्णय गरेको छैन ।

नेपालका कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको र अन्य मुलुकका जहाजलाई बिना ठोस आधार उडान रोक्न नमिल्ने हुनाले नेपालले यसबारे निर्णय गर्न नसकेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले नेपाली कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको भन्दै विदेशी कम्पनीका जहाजलाई त्यसै रोक्न नमिल्ने जानकारी दिए।

‘हाम्रो देशका कम्पनीहरुले यस्ता विमान सञ्चालनमा ल्याएका भए  प्राधिकरणले चाहेमा त्यस्ता विमानलाई रोक लगाउन सक्थ्यो,’ महानिर्देशक गौतमले मंगलबार नागरिकसँग भने, ‘अन्य मुलुकको हकमा बिना ठोस आधार उडानमा रोक लगाउन मिल्दैन ।’  महानिर्देशक गौतमका अनुसार विमान उड्न दिने वा नदिने निर्णय विमान दर्ता भएको देशले मात्र गर्न सक्छ।

गत आइतबार इथियोपिया र गत अक्टोबर २९ मा इन्डोनेसियामा बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटना भएको थियो । पाँच महिनाको अवधिमा एउटै सिरिजका दुई विमानको दुर्घटना समान देखिएपछि यसको सुरक्षालाई लिएर संसारभर प्रश्न उब्जिएको हो । दुवै विमान उचाइ लिएलगत्तै दुर्घटनामा परेका र पाइलटले समस्या आएको टावरलाई जानकारी गराएका थिए। 

यी दुई दुर्घटनालाई लिएर उक्त मोडलको विमानमै खराबी रहेको अनुमान गर्दै अहिले विभिन्न देश र एअरलाइन्स कम्पनीले विमान ग्राउन्डेड गर्न थालेका छन्। 

नेपाली कुनै पनि कम्पनीसँग यो सिरिजका जहाज छैनन् । तर नेपालमा उडान गर्ने कतिपय मुलुक र तिनका कम्पनीले भने यस्ता जहाज सञ्चालनमा ल्याएका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर विभिन्न एयरलाइन्स कम्पनी र मुलुकका गरी दैनिक झण्डै एक दर्जन उडान यही सिरिजका  जहाजबाट भइरहेको छ।

चीनको चाइना इस्टर्नले यही जहाज उडान गर्दै आएकामा अहिले रोकिसकेको छ । तर, अन्य विभिन्न देशका एयरलाइन्सबाट भने बोइङ ७३७ म्याक्स ८ मार्फत दैनिक उडान भइरहेका छन् । विमानस्थल कार्यालयका अनुसार बोइङ ७३७ म्याक्स ८ सिरिजका विमानबाट फ्लाई दुबइले उडान गर्दै आएको छ । यसले दैनिक चार उडान गर्छ । ओमनको ओमन एयरले दैनिक दुई र सलाम एअरले दैनिक एक उडान गर्छ । मलेसियाको मालिन्दो एयरले दैनिक दुई उडान र मलेसियन एयरले दैनिक एक उडान गर्छ । जेट एयरले डिल्लीबाट काठमाडौं दैनिक तीन उडान गर्छ।

एयरलाइन्स विज्ञहरु नेपाली कम्पनीसँग यो सिरिजका जहाज नभए पनि यहाँ आउने अन्य विदेशी कम्पनीले यस्ता जहाज प्रयोग गरेकाले स्वाभावैले सुरक्षा चासो देखिएको बताउँछन्।

चीनको हवाई नियामक निकायले सोमबार चीनका विमान कम्पनीलाई बोइङ ७३७ म्याक्स ८ नउडाउन निर्देशन दिएको छ । चीनका विभिन्न एयरलाइन्समा उक्त मोडलका ७० विमान सञ्चालनमा छन् । चीनले आफ्ना कम्पनीलाई उक्त सिरिजको जहाज नउडाउन निर्देशन दिए पनि सोही सिरिजको जहाज चीनमा आउन भने रोकेको छैन।

सिंगापुरको नागरिक उड्डयन प्राधिकरणले सिंगापुरबाट उड्ने मात्रै होइन, अरु देशबाट सिंगापुर आउने उक्त सिरिजको जहाजमा पनि प्रतिबन्ध लगाएको छ।

चीन र सिंगापुरपछि अन्य देशका एयरलाइन्स कम्पनीले पनि धमाधम बोइङ ७३७ म्याक्स ८ लाई ग्राउन्डेड गरेका छन् । इथियोपियन एअरलाइन्सले पनि बोइङ ७३७ म्याक्स विमान ग्राउन्डेड गरेको जनाएको छ । उक्त एअरलाइन्ससँग आठवटा सोही सिरिजका जहाज छन्। इन्डोनेसियाको लायन एयरले पनि उक्त सिरिजको विमान ग्राउन्डेड गरेको छ । लायन एयरसँग १३ विमान छन् । यसअघि दुर्घटनामा परेको लायन एयरकै जहाज हो । 

एजेन्सीहरुका अनुसार मंगलबारसम्म ब्रिटिस एयरवेज, मंगोलियन एअरलायन्स, एरोमेक्सिको र ब्राजिलको गोल एअरलायन्स लगायतले बोइङ ७३७ म्याक्स ८ सिरिजका विमान ग्राउन्डेड गरेका छन्।

अमेरिकी जहाज निर्मता कम्पनीबाट निर्मित बोइङ ७३७ म्याक्स ८ सिरिजका करिब तीन सय ५० विमान संसारभर उडिरहेका छन्। ती विमानहरु सम्बन्धित देश वा उत्पादन कम्पनीले मात्रै उडान रोक्न सक्छन् । महानिर्देशक गौतमका अनुसार बोइङ कम्पनी हेर्ने मुख्य निकाय अमेरिकाको स्टेट अफ रजिस्ट्रीबाट कुनै निर्णय नभई रोक्नेबारे केही सोचिएको छैन । त्यसैगरी, आइकाओमा सम्मिलित एक सय ९२ देशमध्ये सिंगापुरबाहेकले प्रतिबन्ध नलगाएको अवस्थामा नेपालले हतारिएर प्रतिबन्ध लगाउनु ठीक नहुने उनको बुझाइ छ । ‘आइकाओ, उत्पादन कम्पनीले कुनै निर्णय नगरेको अवस्थामा हामीले हतारिएर निर्णय गर्नु ठीक होइन,’ उनले भने, ‘केको आधारमा उडान रोक्ने र फेरि भोलि के आधारमा फुकुवा गर्ने भन्ने विषय रहन्छ ।’ त्यसैले नेपालमा उडान गर्दै आएका बोइङ ७३७ म्याक्स ८ सिरिजका विमानको उडान रोक्ने निर्णय नभएको हो । गौतमका अनुसार नेपालमा उक्त सिरिजको विमान भए त्यसलाई रोक्ने निर्णय भने प्राधिरकरणले गर्न सक्थ्यो ।

अब के हुन्छ ?
बोइङ कम्पनीले ७३७ म्याक्स ८ सिरिजको विमान संसारमै प्रसिद्ध छ । यो सिरिजका करिब तीन सय ५० विमान संसारभर उडिरहेका छन् भने विभिन्न ६० वटा वायुसेवा कम्पनीले पाँच हजारवटा विमान अर्डर दिइसकेको जनाइएको छ । अहिले धमाधम एअरलाइन्सले ग्राउन्डेड गरेका विमानहरु अस्थायी ग्राउन्डेड हुन् । नेपालका उड्डयन विज्ञका अनुसारमा उक्त सिरिजका विमानमा समस्या रहेको अनुमान गर्दै विमान ग्राउन्डेड गरिएको हो । यस्तो समस्याको समाधान गर्न कतिपय देश तथा एअरलाइन्सले आफैं जाँच गरेर समस्या पत्ता लगाउन सक्छन् । जहाज निर्माण कम्पनीले पनि यसको  समस्या पत्ता लगाएर त्यसको समधान गरेर विमान पुनः उडाउन अनुमति दिनेछ। 

बोइङ कम्पनीले म्याक्स ७, ८, ९ र १० सिरिजका विमान उत्पादन गर्दै आएको छ । यसअघि उत्पादन कम्पनीले परीक्षण उडान गर्दा सन् २०१७ को मेमा विमानको इन्जिनमा समस्या हुन सक्ने अनुमान लगाएर केही समयका लागि उडान रोकेको थियो । समस्या समाधान भएको भन्दै स्थगित गरेको १० दिनपछि उडान गर्न अनुमति दिएको थियो । यसपटक भने उत्पादन कम्पनीले कुनै जानकारी दिएको छैन।

उत्पादन कम्पनी बोइङले इन्डोनेसियाको दुर्घटनाको कारण अध्ययन गरिरहेको छ भने इथियोपियामा पनि आफ्नो प्राविधिक टोली पठाएर प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App