८ वैशाख २०८१ शनिबार
समाज

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

स्थानीय पीडा स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत। तस्बिरः सरिता/नागरिक

धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४, ढाडकुनाकी २१ वर्षीया ठमेली माया तामाङले सात महिनाअघि बच्चा पाउन नसकेर ज्यान गुमाइन्। गाउँमा स्वास्थ्यचौकी तथा टाढाको स्वास्थ्य संस्था जान एम्बुलेन्स नभएकै कारण उनले अकालमै ज्यान गुमाउनु पर्याे।

ग्रामीण सडक, आर्थिक अवस्था कमजोर र स्वास्थ्य सेवाको पहुँच नभएकै कारण तामाङले ज्यान गुमाउनुपरेको पीडा स्थानीयको स्मरणमा ताजै छ। त्यस्तै गजुरी गाउँपालिकास्थित अर्चलेमा पनि समयमै उपचार नपाएकै कारण एक शिशुले ज्यान गुमाउनुपरेको थियो।

यसरी समयमै उपचार पाउन नसक्दा ग्रामीण क्षेत्रका सुत्केरी तथा शिशुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ। चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको यस भेगका अधिकत्तर महिलाले घरमै बच्चा जन्माउने गरेका छन्। जसका कारण आमा–बच्चा दुवैले ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीय विष्णु चेपाङले बताइन्। ‘नजिकै स्वास्थ्य चौकी नहुँदा महिला तथा शिशुको ज्यान गएको उदाहरण धेरै छन्,’ उनले भनिन्, ‘गाउँसम्म एम्बुलेन्स सेवा नहुँदा समयमै अस्पताल पु¥याउन नसकिएका कारण यस्तो समस्या देखिएको हो। ’

यही समस्यालाई मध्यनजर गर्दै गजुरी गाउँपालिकाले सुत्केरी हुने महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। गत वर्षदेखि गजुरीमा र यस वर्षदेखि पीडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षा घर स्थापनासहित एम्बुलेन्सको व्यवस्था गरेको हो। घरमै प्रसूति हुने चलनलाई कम गर्न गाउँपालिकाले सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थासम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो। गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले अब कसैले पनि अस्पताल पुग्न ढिलाइका कारण ज्यान गुमाउनु नपर्ने बताए।

धादिङको गजुरी गाउँपालिकाले सुत्केरी हुने महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। घरमै बच्चा जन्माउने चलन हटाउन गाउँपालिकाले सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थासम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो।

आम नागरिकलाई अनुभूत हुने गरी गाउँपालिकाले गर्भवती, नवजात शिशु तथा आमा सुरक्षा कार्यक्रम अघि बढाएको छ। यसै वर्षबाट सबै वडामा स्वास्थ्यचौकी स्थापना प्रक्रिया सुरु गर्नाका साथै प्रसूति प्रतीक्षा घर पनि व्यवस्था गर्न लागिएको अध्यक्ष बस्नेतले बताए। कानुनका नजरमा सबै नागरिक बराबर भएका कारण कसैलाई काखा कसैलाई पाखा नगरिने उनको भनाइ छ। ‘हामी नयाँ संरचना गएका छौं, कानुनले सबैलाई समान दृष्टिले हेर्छ,’ अध्यक्ष बस्नेतले भने, ‘स्वास्थ्य, शिक्षाजस्ता नागरिकले पाउने आधारभूत अधिकार सबैका लागि सुनिश्चित गर्न पहल गरिरहेका छौं।’

गजुरी गाउँपालिकाले गजुरी बजार र पीडा स्वास्थ्य चौकीमा ‘प्रसूति–प्रतीक्षा घर’ सञ्चालन गरिसकेको छ भने किराञ्चोकमा यो सेवा सुरु गर्ने तयारीमा छ। प्रत्येक वडामा यो व्यवस्था गर्न गाउँपालिकाले योजना बनाइरहेको छ। गाउँपालिकाले आफ्नै खर्चमा सञ्चालन गरेको प्रसूति प्रतीक्षा घरमा चिकित्सकले बच्चा जन्मने अनुमानित मिति तोकिदिएका महिलालाई राख्ने गरिन्छ र सुत्केरी गराइन्छ। बच्चा जन्माउनुअघि आएर बस्ने महिलाका लागि खाने बस्नेलगायत सम्पूर्ण खर्च गाउँपालिकाले नै बेहोर्ने गरेको छ।

गभर्वतीहरूमा जुनसुकै बेला जटिल अवस्था आउनसक्ने तर गाउँ–गाउँमै तत्काल उपचार सम्भव नहुने हुँदा ज्यान नै जानसक्ने खतरालाई मध्यनजर गरेर गर्भवतीलक्षित सेवा सुरु गरिएको पीडा स्वास्थ्य चौकीका प्रमुख यज्ञबहादुर केसीले बताए। ‘एम्बुलेन्स नहुँदा यसै क्षेत्रका महिलाले ज्यान गुनाउनुपरेको पीडा हामीसँग ताजै छ,’ उनले भने, ‘अब सुत्केरीका साथै असहाय, आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहज भएको छ।’

गभर्वतीलाई स्वास्थ्य संस्था तथा प्रतीक्षा घरमा बस्न पठाएबापत स्थानीय स्वास्थ्य स्वयंसेविकालाई समेत भत्ताको व्यवस्था गरिएको स्वास्थ्य चौकीले जनाएको छ। पृथ्वी राजमार्गबाट १३ किलोमिटर दूरीमा पर्ने यस स्वास्थ्य चौकीमा खासगरी तामाङ र चेपाङ समुदायका मानिसले सेवा लिने गरेका छन्।

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App