८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रीको विदेश सयरमा विज्ञको साटो श्रीमान्

काठमाडौं – सरकारी खर्चमा हुने विदेश भ्रमणको कोटामा सकेसम्म परिवारका सदस्यलाई लिएर जाने परम्परा सामान्य भइसकेको छ। यही परम्परा पछ्याउँदै कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरीले श्रीमान् लिएर विदेश भ्रमण गरेकी छन्।

गत माघमा ५ दिन (माघ १७ देखि २१ सम्म ) उनी इटलीको राजधानी रोममा गइन्। उनीसँगै उनका श्रीमान् सन्तोष थारू पनि रोम गए। उनको साथमा कृषि मन्त्रालयका सहसचिव योगेन्द्र कार्की पनि थिए। खाद्य कृषि संगठन (एफएओ)ले गरेको जेनेटिक रिसोर्सेस कमिसन कार्यक्रम सहभागी हुन राज्यमन्त्री रोम गएकी थिइन्। बोट–बिरुवाको जेनटिक स्रोतको प्रयोग र संरक्षण गर्ने विषयमा एफएओले रोममा कार्यक्रम गरेको थियो।

‘सम्बन्धित विज्ञ जानुपर्ने कार्यक्रममा विज्ञ नगई राज्यमन्त्री आफैं गइन्,’ स्रोतले भन्यो। एफओएको कार्यक्रमको उद्देश्य बोट–बिरुवाको जेनेटिक स्रोतलाई मानव कल्याणमा कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रित थियो। रोम भ्रमणको सम्पूर्ण खर्च एफएओले व्यहोरेको कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए। उनले भने, ‘राज्यमन्त्री र उनको टिमको खर्च मन्त्रालयले व्यहोरेको होइन,’ उनले भने।

राज्यमन्त्रीले विदेश भ्रमण गर्नुपरेमा त्यसको स्वीकृति मन्त्रिपरिषद्को बैठकबाट गर्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ। गत माघमा राज्यमन्त्री र उनका श्रीमान्को विदेश भ्रमणको स्वीकृति गत माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो। मन्त्रीको सचिवालयका सदस्यहरूले भने राज्यमन्त्रीका श्रीमान्ले आफ्नो विदेश भ्रमणको सबै खर्च स्वयम्ले व्यहोरेको दाबी गरे।

राज्यमन्त्रीका सचिवालयका सदस्य धर्म जिसीले भने, ‘उहाँ (राज्यमन्त्रीका श्रीमान्) राज्यमन्त्रीसँगै विदेशको कार्यक्रममा जानुभयो। तर उहाँले आफ्नो खर्च आफैं ब्यहोर्नु भएको हो।’ तर मन्त्रालय स्रोतका अनुसार रोम भ्रमणको सबै खर्च एफएओ र मन्त्रालयले ब्यहोरेको थियो। राज्यमन्त्रीका श्रीमान् सन्तोष पूर्व सभासद् पनि हुन्।

राज्यमन्त्री चौधरीले आफ्नो श्रीमान्लाई लिएर विदेश भ्रमणमा गएको यो पहिलोपटक होइन। गत मंसिरमा पनि उनी श्रीमान्लाई लिएर बाज्रिल भ्रमणमा गएकी थिइन। त्यो भ्रमण पनि सरकारी खर्चमा गरिएको थियो। तर सचिवालयका सदस्य जिसीले ब्राजिल भ्रमणमा जाँदा राज्यमन्त्रीले आफ्नो श्रीमान्लाई नलगेको दाबी गरे। उनले भने, ‘ब्राजिल भ्रमणको क्रममा एयरपोर्टमा राज्यमन्त्रीले फेसबुकमा श्रीमान्सहितको फोटो राख्नुभएको हो तर भ्रमणमा उहाँ (राज्यमन्त्री) एक्लै जानु भएको हो।’

मन्त्रीहरूको आफूखुसी विदेश भ्रमण गर्न थालेपछि सरकारले केही महिनाअघि निर्देशिका ल्याई मन्त्रीहरूको विदेश भ्रमणलाई कडाइ गरेका थियो। तर निर्देशिका जारी भएपछि पनि मन्त्रीहरूको अनावश्यक विदेश भ्रमणको क्रममा रोकिएको छैन।

पछिल्लो तीन महिनामा मन्त्रीहरूको विदेश भ्रमणमा मात्रै राज्यकोषको झन्डै दुई करोड खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विदेश भ्रमणसम्बन्धी निर्देशिकामा सरकारी खर्चमा विदेश भ्रमणमा आफ्नो परिवारको सदस्यलाई लिएर जान नपाइने व्यवस्था छ। तर सो व्यवस्थालाई उल्लघंन गर्दै मन्त्रीहरूले सकेसम्म आफ्नो परिवारका सदस्यहरू लिएर विदेश भ्रमण गर्ने गरेका छन्।

स्रोतका अनुसार परिवारका सदस्यहरूलाई विदेश भ्रमणमा लैजादा मन्त्रीहरूले परिवारका सदस्यलाई स्वकीय सचिवालयमा मनोनित गरी सचिवालयका सदस्यको हैसियतबाट विदेश भ्रमण गराउने गरेका छन्। मन्त्रीले सचिवालयमा मनोनित गरेका सदस्यहरूमध्ये अधिकांश परिवारका सदस्य हुने गरेका छन्।

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App