coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालका दर्जन गाउँ डुबाउने भारतीय सीमामा तीन तहको अवरोध

वीरगन्ज – ओरिया नदी र बर्खे पानीको निकास साँघुरो भएकोले पर्साको पश्चिमी क्षेत्र छिपहरमाई गाँउपालिका क्षेत्रत्रका एक दर्जन गाउँ हरेक वर्ष बाढीको जोखिममा पर्छन्। सीमानजिकै भारततर्फ निर्माण भएका सडक, नहर र रेल लाइनका कारण पानीको निकासमा समस्या छ।

नहर र रेल लाइन पुरानै संरचना हो भने भारतीय अर्धसैनिक ‘सीमा सुरक्षा बल’ (एसएसबी)को गस्तीका लागि बनेको सडक नयाँ हो। पुराना संरचना नहर र रेल लाइनमा पानीका लागि पर्याप्त निकास बनाउन सिमावर्ती क्षेत्रका नेपालका र भारतका स्थानीय बासिन्दाले माग उठाउँदै आएकोमा त्यसको सुनुवाइ नहुदै बाँधभन्दा अग्लो नयाँ ‘एसएसबी’ सडक थपिएको छ।

ती संरचनामा ठोक्किएर पानी नेपालतर्फ फर्किने हुँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ। बाढीमा नेपाली भूभाग मात्र हैन भारततर्फ नहरको उत्तरपट्टीका बस्तीहरू पनि डुबानमा पर्ने गरेका छन्। हरेक वर्ष बाढीको चपेटामा पर्दै आएका नेपाली किसानले लगाएको धानवाली नष्ट हुने गरेको छ। गएको वर्षायाममा मात्र सीमा क्षेत्रका एक हजारभन्दा बढी घरधुरी हप्तौं डुबानमा प¥यो। यसमध्ये सीमावारिका करिब ७ सय घर बाढीको चपेटामा थिए।

नेपालतर्फ मिर्जापुरभन्दामाथि ओरिया नदीको चौडाइ धेरै भए पनि दक्षिणतिर बढ्दै जाँदा नदी साँघुरो हुँदै गएको छ। यसले वर्षायाममा आउने चुरेको फेददेखिको ठूलो जलराशिलाई थेग्न सक्दैन। हरेक वर्ष बाढीका कारण मिर्जापुर, जयमंगलापुर, भिषूवा, सम्भौता, बुडगाई, टिहुकी, तुलसीवर्वालगायतका गाँउ प्रभावित हुनुका साथै वर्षेनि करोडांै रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी हुने गरेको छिपहरमाई गाँउपालिका –३ का रामबहादुर साह बताउँछन्। बाढी सम्झिँदा सो क्षेत्रका बासिन्दा हिउँदमा पनि तर्सिन्छन्। बाढीको त्रास आउने असार–साउनलाई औंलामा गन्छन्। ‘बाढीले हरेक बर्खायाममा यस क्षेत्रका बासिन्दाको जनजीवन मात्र प्रभावित गर्ने गरेको छैन, हिसाब गर्ने हो भने करोडौंको क्षति हुन्छ,’ सहले भने, ‘बाली डुब्छ, चौपाया नोक्सान हुन्छ, घरमा क्षति हुन्छ, मानिस बिरामी हुनेदेखि ज्यान गुमाउनेसम्मका घटना भएका छन्।’

भारततर्फको नहरभन्दा उत्तरतर्फको गाँउका नागरिक पनि बाढीका कारण पीडित बन्ने गरे पनि उनीहरूको गुनासो सुनिदिने कोही नरहेको त्यहाँका स्थानीय बताउँछन्। ‘यहाँ (नहरको डिल)बाट उभिएर हेर्नुस्, उत्तरमा (नेपालतिर) जहाँसम्म तपाईंको आँखा जान्छ सबै क्षेत्र डुबानमा पर्ने हो,’ सिमावर्ती भारतीय बजार सिक्टाका जहुर मियाँले भने, ‘यता भारततिर पनि त्यसैगरी डुबान हुन्छ। हरेक वर्षको नियति हो यो।’ यो समस्या निदानका निम्ति नेपाल भारत दुवैतर्फका सरकारको सहकार्य आवश्यक रहेको स्थानीयको भनाइ छ। तर यस्तो प्रयास भएको देखिँदैन।

‘सीमाक्षेत्रमा बसेर सीमको रक्षा गर्दै आएका नेपाली बाढीको मारबाट पीडित छन। सीमारक्षक नागरिकको पीडा राज्यद्वारा नसुनिनु आफैंमा दुःखदायी छ। अब स्थानीय सरकारको हैसियतमा हामी आएका छौं, आफ्नो स्रोतसाधन र बलबुताले भ्याएसम्म यसको निदानका लागि काम गर्दैछौं,’ छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले भने, ‘बाढी, डुबान र कटानको समस्याबाट जोगाउनका लागि थालेको प्रयासमा प्रदेश सरकारले चासो देखाएन, सिंहदरबार धाउने क्रम जारी छ। केही आशा देखिएको छ।’ केही लगानी र सिमापारिका संरचनामा केही सुधार गरेपछि बाढीको जोखिमबाट बस्ती जनता र जमिनलाई संरक्षण गर्न सकिने उनी बताउँछन्। ओरिया नदीको तटबन्ध निर्माण गरी त्यसको बहाव क्षेत्रलाई फराकिलो गर्नसके पानी नियन्त्रण गर्नसकिने प्राविधिकको राय रहेको उनको भनाइ छ।

सीमापारि रहेको भारतीय नहर ओरिया नदीको माथिबाट लगिएको छ। नहरमुनिको नदी वर्षाको पानीसँग आउने माटोले पुरिएर भरेको छ। भरिएको त्यस माटो निकाल्ने र भारतीय संरचनामा पानी निकासका लागि ठाउँ बनाउने काम भारतीय पक्षबाट नैं हुनु पर्ने देखिन्छ। यसको लागि संघीय सरकारस्तरबाट भारत सरकारसँग पहल गर्नुपर्ने स्थानीय नागरिक अगुवाहरूको भनाइ छ।

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App