८ वैशाख २०८१ शनिबार
राजनीति

सिकेलाई ‘खलिफा’ बनाउन खोजियो : मुख्यमन्त्री राउत

नागरिकसँग कुरा गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाु राउत।    तस्बिरः सुरेश/नागरिक

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वतन्त्र मधेशका लागि संगठित अभियानको अगुवाइ गरेका चन्द्रकान्त (सिके) राउतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक  महत्व दिइरहेको टिप्पणी गरेका छन्।

मधेसमा जनाधार नै नरहेका राउतलाई मुलुकका प्रधानमन्त्रीले ठूलै उपलब्धी प्राप्त गरेजस्तो मञ्च प्रदान गर्न नहुने मुख्यमन्त्री राउतको भनाइ छ। ‘म र हाम्रो (पार्टी संघीय समाजवादी फोरम) ले सुरुदेखि नै कुनै बहानामा विखण्डनकारी तत्वलाई पश्रय दिन नहुने विषयमा स्पष्ट रहेका छौं। यसबारे बेलाबेलामा हामीले आफ्ना कार्यकर्तालाई बहकिन नदिन सचेत पनि गराइरह्यांै,’ उनले नागरिकसँग भने।

‘तर, प्रधानमन्त्रीले जसरी सिके राउतलाई हाइलाइट गरिरहनु भएको छ त्यो गलत हो। निन्दनीय हो। उहाँको आफ्नै पार्टीभित्रसमेत त्यसको कडा विरोध सुरु हुनुले पनि त्यसको पुष्टि गर्दछ,’ मुख्यमन्त्री राउतले भने। यद्यपि राउतले विखण्डनकारी नीति परित्याग गरी मूलधारको राजनीतिमा आउन लागेको सन्देश भने तराई मधेसका लागि सुखद् पक्ष रहेको उनलको भनाइ छ।

‘सिके राउतलाई नेकपाले संघीय समाजवादी फोरम र राजपाविरुद्ध ‘खलिफा’ को रूपमा प्रयोग गर्न चाहेको छ। राउतलाई संसदीय राजनीतिमा ल्याइसकेपछि मधेसका जनता उतैतिर सोहोरिने सपना देखेको हुनसक्छ’ मुख्यमन्त्री राउतले नागरिकसँग भने, ‘तर, छ महिनापछि फेरि मलाई सोध्न आउनुहोला, सिके राउतका कार्यकर्ता कति छन् ?’ अहिले सिके राउतलाई विमानस्थलमा स्वागत गर्न पुग्ने युवाले स्वतन्त्र मधेस चाहेको उल्लेख गर्दै उनले सिके राउत अखण्डताको पक्षमा उभिसकेपछि सबैले छोडेर जाने दाबी गरे।

मुलुकमा संघीय गणतन्त्र स्थापना भइसके पनि विभिन्न समुदाय अधिकारकै मागमा केन्द्रित हुनुपर्ने अवस्थाले पृथकतावादी तत्वलाई मलजल प्राप्त भइरहेको भन्दै मुख्यमन्त्री राउतले निराशा व्यक्त गरे। उनले संविधानमा देखिएका केही त्रुटिलाई जायज सम्बोधन गर्दै सबै वर्ग, भूगोल र समुदायको अधिकारलाई संस्थागत गर्न संघीय सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता औंल्याए।

अर्को प्रसंगमा मुख्यमन्त्री राउतले राजपासँग तालमेलगरी गठन भएको प्रदेश सरकार संघीय सरकारको भन्दा बढी टिकाउ र भरपर्दो भएको दाबी गरेका छन्। ‘रेशम चौधरीको विषयलाई लिएर राजपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ, फोरम सरकारमै बसिरहे प्रदेश सरकारबाट पनि राजपा अलग भएपछि के हुन्छ ?’ नागरिकको जिज्ञासामा मुख्यमन्त्री राउतले त्यस्तो दाबी गरेका हुन्।

‘दुईतिहाइ हाराहारीमा एकल बहुमत प्राप्त संघीय सरकारको भन्दा फोरम र राजपा मिलेर बनेको समान्य बहुमतको सरकार बढी टिकाउ छ,’ उनले भने, ‘केन्द्रमा जे भए पनि प्रदेशमा राजपाले सरकार छोड्ने रतिभर सम्भावना छैन।’ प्रदेशमा प्राप्त जनादेशअनुरूप आपूm नेतृत्वको सरकारले जनअधिकार तथा विकासको सवालमा उल्लेख्य काम गरिरहेको उनको दाबी छ। मुख्यमन्त्री राउतले भने, ‘हाम्रा प्रधानमन्त्री ओलीजी आफ्नो स्थायित्वप्रति जति ढुक्क हुनुहुन्छ त्यो भन्दा बढी म आफ्नो स्थानमा विश्वस्त छु।’

‘महाअभियानको तयारीमा राउत’
सरकारसँग स्वतन्त्र मधेस गठबन्धनलाई विघटन गर्ने लिखित सम्झौता गरेका सिके राउतले मधेसका सबै जिल्लामा संगठन सुदृढ गरी अझ सशक्त रूपमा अभियान सञ्चालन गर्ने तयारीमा लागेको उनी निकट स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले राउतलाई राष्ट्रियसभा सदस्य बनाएर संघीय सरकारको मन्त्री बनाउने आन्तरिक तयारीमा जुटेको चर्चा चलिरहँदा राउत निकट स्रोतले जस्तोसुकै पदको प्रलोभन आए पनि अभियान नरोकिने जिकिर गरेको छ। ‘जेलबाट उम्किने कुनै आधार नभेटिरहेको बेला रणनीति तहत नै सरकारसँग एक प्रकारको सम्झौता गरिएको हो,’ गठबन्धन संयोजक राउतका एक सहयात्रीले नागरिकसँग भने, ‘अभियानको प्रभावलाई मत्थर पार्न सरकारले विभिन्न विकल्प खोज्नु स्वभाविक हो। तर, हाम्रो अभियान रोकिनेवाला छैन। अब महाअभियानका रूपमा अघि बढ्छ।’

दशकौंदेखि संस्थापन पक्षसँग असन्तुष्ट मधेसमा अनेकौ विद्रोह भएको र प्रत्येक व्रिदोह नियन्त्रण गर्न सम्झौता भए पनि आजसम्म कुनै सम्झौताको ठोस कार्यान्वयन नभएको उल्लेख गर्दै उनले भने, ‘सरकारले आफैं गरेको सम्झौता नमान्ने, हामीले मान्नै पर्ने ?’ स्वतन्त्र मधेसको मुद्दालाई सरकारले अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको उल्लेख गर्दै राउतनिकट श्रोतले भन्यो, ‘अभियान जारी रहनेछ। अबको स्वरूप कस्तो बनाउने भन्नेबारे उहाँ (सिके राउत) रणनीति बनाउँदै हुनुहुन्छ।’

सरकारसँग एकप्रकारको सम्झौता गरी तत्काल काठमाडौंमा मिडियासामु प्रतिबद्धता गरे अनुरूप सम्बोधन गरे पनि त्यसपछि राउत मौन हुनु पनि रणनीतिअन्तर्गत नै रहेको स्रोतको दाबी छ। जनकपुरस्थित आफ्नै घरमा बसिरहे पनि कुनै हालतमा मिडियाको अगाडि आउन नमानेका राउतले उपयुक्त रणनीति तय गरिसकेपछि दुई–तीन दिनपछि पत्रकार सम्मेलन गरेरै भावी कार्यदिशा सार्वजनिक गर्ने योजना रहेको स्रोतले जनायो।

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App