coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सत्यमोहन जोशीलाई ‘कालीभक्त पन्त लोकसाहित्य पुरस्कार’

काठमाडौं - संस्कृतिविद् सत्यमोहन जोशी नगद एक लाख एक हजार राशिको कालीभक्तपन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कारबाट सम्मानित भएका छन्। कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार प्रदान गरेको थियो।

विदेशमा बसेर नेपाली लोक साहित्यमा योगदान गर्नेमध्येबाट एकजनालाई एक हजार एक युएस डलर र नेपालबाट योगदान गर्नेमध्येबाट एक जनालाई एक लाख एक हजार राशिको पुरस्कार यसै वर्षबाट वितरण गर्न थालिएको संस्थापक अध्यक्ष स्रष्टा महेश्वर पन्तले जानकारी दिए। 

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्रष्टा कालीभक्तपन्त नेपाली लोक साहित्य इतिहासका नक्षेत्र रहेका बताए । पुरस्कृत तथा सम्मानित जोशीले कालीभक्तपन्तको प्रेरणाले नै आफू लोक साहित्यको क्षेत्रमा लागेको क्षेत्रमा लागि परेको उल्लेख गर्दै सहप्राज्ञ रहेका बेला ज्यानको जोखिम मोलेर लोक साहित्यको खोज अनुसन्धानका लागि विकट जिल्लामा गएको अनुभव सुनाउँदै त्यहाँका स्थानीय वनपाखाका गीतबाट प्रभावित भएको कुरा बताए। 

साहित्यकार प्रेम छोटाले कालीभक्त पन्त राणा सरकारविरुद्धको आन्दोलनमा लागेका सेनानी भएको र प्रजातन्त्रको उदयपछि तत्कालीन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालाई प्रजातन्त्रका सेनानीलाई पेन्सन दिनुपर्ने माग राख्दा सुनुवाइ नभएकै कारण नेपाली लोकसाहित्यको उत्थानमा लागेको जानकारी दिए। त्यसैगरी साहित्यकार गोपीकृष्णले स्रष्टा कालीभक्तपन्तको नेपाली लोकसाहित्यका क्षेत्रमा रहेको योगदानका विषयमा चर्चा गरेकाथिए।

कार्यक्रममा स्रष्टा महेश्वर पन्तको दोस्रो कथा कृति ‘नबोल्नेहरू पनि’ लोकार्पित भएको थियो। सो कृतिमाथि समीक्षा गर्दै वरिष्ठ साहित्यकार किशोर पहाडीले कथाभित्रका हरेक कथाले नेपाली जनजीवन र माटो बोलेको कुरा बताए। अर्का समीक्षक राजकुमार बानियाँले कृतिभित्रका कथाहरू उत्तिकै सशक्त रहेको प्रतिक्रिया दिए। कथाकार महेश्वर पन्तले आफू अमेरिका बसेता पनि मन मुटु सबै तिनै गाउँबेंसी र तिनै झुपडीहरूमा रहेको कुरा बताए भने साहित्यकार गोविन्दगिरी प्रेरणाले महेश्वर पन्तका कथाहरू पाठकहरूलाई तिनै परिवेशमा घुलमिल गराउन सक्ने क्षमता भएको बताए । कथाकृति ‘नबोल्नेहरू पनि’ का सम्पादक हरि अधिकारी हुन् भने सह सम्पादक रमेश दाहाल हुन्। 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App