कार्यसम्पादनमा कमजोर मन्त्री फेर्ने तयारी

बुधबार, २९ फागुन २०७५, ०६ : ५१ टपेन्द्र कार्की

काठमाडौं – कार्यसम्पादन सन्तोषजनक नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी थालेका छन्। प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले अनलाइनमार्फत गरेको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षसमेत रहेका ओलीले उनीहरुको विकल्प खोज्न अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत छलफल अघि बढाएका छन्। मन्त्रिपरिषद्का आधाभन्दा बढी सदस्य एक वर्षमा गरिसक्ने भनेको काम सक्न असफल देखिएका छन्।

साउनपछिको कार्यसम्पादन मूल्यांकनका लागि प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखामार्फत गरिएको अनलाइन अनुगमनमा अधिकांश मन्त्री असफल भएका थिए। प्रधानमन्त्री ओलीले उनीहरुले भनेअनुसार कार्यसम्पादन भएनभएको विषयलाई अनलाइनमै हेरिसकेका छन्। साउनदेखि माघसम्मको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा कमजोर देखिएका छन्। यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रगति विवरण पनि कमजोर छ।

भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, खानेपानीमन्त्री बिना मगर, उद्योगमन्त्री मात्रिका यादव र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि योजनाअनुसार काम गर्न नसकेको अनुगमनले देखाएको छ। गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुन औसत देखिएका छन्। सो प्रगति विवरणअनुसार उद्योग मन्त्रालयको कार्यप्रगति १३ प्रतिशत छ। खानेपानी मन्त्रालयले विकास खर्च १० प्रतिशत पनि कटाउन सकेको छैन।

भौतिक मन्त्रालयको विकास खर्च ३१ प्रतिशत रहेको भए पनि उसले सम्पादन गर्नुपर्ने काम भने जम्मा ९ प्रतिशत पनि पूरा गरेको छैन। ऊर्जा मन्त्रालयको प्रगति विवरण २७ प्रतिशत छ। शिक्षा मन्त्रालयको प्रगति विवरण २१ प्रतिशत र विकास खर्च ३९ प्रतिशत छ। स्वास्थ्यको विकास खर्च ३० प्रतिशत र प्रगति विवरण २२ प्रतिशत रहेको छ। भूमिसुधार मन्त्री अर्याल र कृषिमन्त्री चक्रपाणि खनाल ‘कामै नगर्ने’ को सूचीमा परेका छन्।

साउनदेखि माघसम्मको मूल्यांकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सबैभन्दा कमजोर देखिएका छन्। यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको प्रगति विवरण पनि कमजोर छ।

नतिजा व्यवस्थापन महाशाखाका अनुसार मन्त्रालयले बनाएको कार्यसूचीको अनलाइनमार्फत अनुगमन गर्दा काम नभएको भाग रातो देखिन्छ। ‘सबै मन्त्रालयले वार्षिक नीति तथा कार्यक्रमलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने र त्यसको विवरण प्रधानमन्त्री कार्यालयमा पठाउने व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री कार्यालयबाट यसको अनुगमन गर्दा कति काम भयो, कति हुन बाँकी छ भन्ने देखाउँछ’, प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने। उनका अनुसार मन्त्रीहरूले नै पेस गरेको कार्ययोजनाअनुसार काम पूरा भएमा हरियो रङ, काम सुरु भए पहेंलो र सुरु नै नभएको कामलाई रातो चिह्न दिइएको छ। यसरी हेर्दा सबैभन्दा बढी भौतिक, भूमिसुधार, कृषि र उद्योग मन्त्रालयको कार्यसूचीमा रातो रङ रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा र खेलकुदमन्त्री जगत विश्वकर्माले धेरैजसो योजना सुरु गरेको भए पनि पूरा भएका छैनन्। अनलाइन अनुगमन सुरु भएपछि कार्यसम्पादन मूल्यांकनमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण बिष्ट र कानुनमन्त्री भानुभक्त ढकाल औषत देखिएका छन्। उनीहरुलाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, गृहमन्त्री थापा र ऊर्जामन्त्री पुनले पछ्याएको स्रोतले दाबी गरेको छ।

केही मन्त्रीको काममा प्रधानमन्त्री असन्तुष्ट बनेपछि गत महिनामै मन्त्री हेरफेर गर्ने तयारी भए पनि अर्का अध्यक्ष दाहालसँग छलफल भएको थिएन। मंगलबार बिहान दाहालसँग समेत छलफल गरेपछि प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका हुन्। गत भदौमा पनि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे दाहालसँग छलफल गर्दा सकारात्मक जवाफ नपाएपछि हच्केका थिए।

मंगलबारको भेटमा भने दाहालले प्रधानमन्त्रीको अधिकार भएकाले यसको सदुपयोग गर्न सुझाव दिएका छन्। मन्त्री हेरफेरकै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिको समेत तयारी भएको छ। १५ दिनअघि ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि पर्यटन मन्त्रालय मन्त्रीविहिन भएको थियो।

छलफल हुँदै छ : दाहाल
विनोद सुवेदी

विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको बताएका छन्। विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले मन्त्रिमण्डल पुनर्गठनका विषयमा आफूसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेको जानकारी दिए। दाहालका अनुसार यस विषयमा बालुवाटारमा छलफल भएको हो।

सरकारलाई थप गतिशील बनाउन मन्त्रिमण्डलमा परिवर्तन गर्ने विषयमा प्रधानमनत्रीले सल्लाह मागेको दाहालले बताए। मन्त्रिमण्डल पुनर्गठन प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको विषय भएकाले आफैं निर्णय गर्न आफूले सुझाएको दाहालले प्रष्ट पारे। ‘प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनका विषयमा सुझाव माग्नु भयो’, दाहालले भने, ‘यो तपाईंको क्षेत्राधिकार भित्रको विषय भएकाले आफैं निर्णय गर्नुस् भन्ने सुझाव दिए“।’ ओली पनि पार्टी अध्यक्ष हुन्।

दाहालले सरकारको काम प्रभावकारी हुन नसकेको बताए। सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो आइरहेको उनको भनाइ थियो। सरकारले संवैधानिक पूर्वाधार, अन्तराष्ट्रिय सम्बन्ध, युवा स्वरोजगार र सामाजिक सुरक्षा विषयमा महत्वपूर्ण काम गरेको दाहालको दाबी छ।

दाहालले सिके राउत समूहलाई संवैधानिक मूलधारमा ल्याउन सरकार सफल भएको पनि बताए। सरकारसँग सहमतिपछि राउत समूहले गरेका क्रियाकलाप कार्यकर्ता व्यवस्थापनका लागि भएको दाहालको भनाइ थियो।‘ कार्यकर्ता मिलाउन केही समय लाग्न सक्छ’, दाहालले भने, ‘हतार गर्न जरुरी छैन।’ सरकारले विखण्डनकारी शक्तिलाई मूलधारमा ल्याउन गरिरहेको प्रयास सकारात्मक भएको बताउँदै उनले यसमा आफ्नो समर्थन रहेका स्पष्ट पारे।

‘सरकारले गरेको काममा मेरो समर्थन छ’, दाहालले भने। राउतस“गको सहमतिका विषयमा पार्टीभित्रै चर्को विरोध भइरहेको बारेमा प्रश्न गर्दा दाहालले पार्टीका नेताहरूले बाहिर धेरै नबोले राम्रो हुने बताए। उनले भने, ‘साथीहरूले बाहिर धेरै नबोले हुन्छ।’ दाहालले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिने प्रयास भइरहेको जानकारी दिँंदै एकदुई दिनमै अन्तिम निर्णय हुने बताए।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad