७ वैशाख २०८१ शुक्रबार
कला

‘कमजोरी सुधार्न निर्देशन’

काठमाडौं - एउटा गर्भवती महिलालाई सन्तान जन्माउन नौ महिनाको यात्रा निकै कष्टकर हुन्छ। पेटमा बच्चा बसेदेखि बच्चालाई जन्माउनसम्मको अवधिको वेदना ती महिलालाई जति थाहा हुन्छ। उनको पीडा अन्यलाई त्यति थाहा हुँदैन। नवनिर्देशक भीषण राई महिला त होइनन्। तर उनले निर्देशन गरेको फिल्म ‘पुरानो बुलेट’ को निर्माण अवधि नौ महिना पुग्दा उनले गर्भवती महिलाको जस्तै व्यथा भोगेका छन्।

प्राविधिक र कलाकारले दिने दुःख सहेरै हाँसेर फिल्मको काम सकें । किनभने नेतृत्व गरेपछि सबै मान्छे जित्न खोज्दा रहेछन् । जित्न दिएपछि ऊ खुशी भएर काम राम्रो गर्दारहेछन् ।

आगामी चैत १ गतेबाट रिलिज हुने फिल्मको प्रचारप्रसारमा दौडिइरहँदा निर्देशक भीषणलाई उत्साह र डर दुवै छ। उत्साह यसकारण छ कि उनको पहिलो ‘डेब्यु’ निर्देशन हो र डर चाहिँ दर्शकले कस्तो प्रतिक्रिया आफुलाई देलान् भन्ने छ। ‘अहिलेसम्म नेपाली फिल्ममा पूर्वेली लोकजीवन आएको छैन। पूर्वेली लोक संस्कृति झल्कने र पर्यटन प्रवर्द्धन गर्ने किसिमको फिल्म बनाउने सोच आएपछि फिल्मका निर्माता सन्तोष राईसँग सल्लाह भयो। अनि कथा लेखेपछि निर्देशनमा आएँ, भीषणले सम्झिए, ‘म पहिलेदेखि नै नेपाली फिल्म नियमित हेर्थे। धेरैजना निर्देशकहरू हचुवाकै भरमा फिल्म बनाइरहेका रहेछन्। म एकेडेमिक मान्छे पनि हो। कलेजमा प्राध्यापन पनि गर्छु। दुईवटा फिल्ममा मुख्य सहायक निर्देशक र केही वृत्तचित्र निर्माणको अनुभवले गर्दा स्क्रिप्ट, कलाकार छनोट, एक्सनकटलगायतका कुरा चाँडो सिक्न पाएँ । बनिरहेका फिल्ममा कमजोरी देखेपछि कमजोरी सुधार्न निर्देशनमा आएँ।’ उनले ‘जोनी जेन्टलमेन’ र ‘ब्लाइन्ड रक्स’ फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका छन् भने उनले निर्माण गरेको वृत्तचित्र ‘पहिचान’ ले चर्चा पाएको थियो।

भीषणका अनुसार आफुभन्दा कमजोर मान्छेले फिल्म बनाइरहेको देखेपछि उनलाई पनि किन फिल्म नबनाउने भन्ने जोस चलेको रहेछ । ‘उनीहरूको कुरा मानेर गयो भने आफू शाषित हुनुपर्छ । त्यही कारण आफै निर्देशन गर्नुपर्छ भन्ने लाग्यो । फिल्म ‘पुरानो बुलेट’मा मेरो भिजनलाई राखें’, भीषणले भने, ‘जस्तो सुकै समस्या आए पनि सहेर बसें । कोहीसँग झगडा गरिनँ । प्राविधिक र कलाकारले दिने दुःख सहेरै हाँसेर फिल्मको काम सकें । किनभने नेतृत्व गरेपछि सबै मान्छे जित्न खोज्दा रहेछन् । जित्न दिएपछि ऊ खुशी भएर काम राम्रो गर्दारहेछन्।’

भीषणका अनुसार उनको फिल्मले प्रेमकथा बोल्दछ । ‘पूर्वको केटा बुलेट बाइक चढेपछि आफूलाई हिरो नै ठान्छ । परिस्थितिले उसलाई कहाँदेखि कहाँ पु¥याउँछ भन्ने कुरा देखाएका छौं । हाम्रो फिल्म बुलेटबाटै सुरु हुन्छ र बुलेटबाटै सकिन्छ’, उनले भने । भीषणको फिल्ममा अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुलगायतले अभिनय गरेका छन् । अनुभवी कलाकारसँग काम गर्दा उनीहरूले सबै विषय बुझेर काम गर्ने उनी बताउँछन्। 

भीषण आफुले बनाएको फिल्म आफ्नो पहिचानका लागि पनि रहेको खुलाउँछन् । ‘मैले लामो समयसम्म पत्रकारिता गरें । तर पत्रकारिता छोडेपछि आफ्नो सम्पत्ति केही हुँदैन । तर कसैले मलाई तपाईंको सिर्जना के हो भनेर सोध्यो भने म ‘पुरानो बुलेट’ भन्न त सक्छु नि’, भीषण भन्छन् । भीषणले झण्डै आठ वर्ष कान्तिपुर साप्ताहिकमा पत्रकारिता गरे । यो अवधिमा उनले ‘वाइफाइ लभ’ र ‘हामी डिजे’ नामक पुस्तक पाठकमाझ ल्याए। 

फिल्म ‘पुरानो बुलेट’मा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोककुमार राई, टिकाराम राईलगायतको पनि अभिनय छ। फिल्ममा अशोककुमार राई, दीपेन्द्र लिम्बु, वीरेन साम्बा र टिकाराम राईको लगानी छ । फिल्मका कार्यकारी निर्माता सन्तोष राई हुन्।

प्रकाशित: २९ फाल्गुन २०७५ ००:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App