८ वैशाख २०८१ शनिबार
समाज

१२ करोडका बिलभर्पाई गायब

काठमाडौं – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ। महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो।

महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका अधिकारीले उम्किने प्रयास गर्दै आएका छन्। महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विष्णुप्रसाद रिजालले पर्यटन बोर्डमा चरम आर्थिक अनुशासनहीनता भेटिएको बताए। ‘१२ करोड २८ लाख रुपैयाँ खर्च गरेको बिलभर्पाई हराएको छ,’ रिजालले नागरिकसँग भने, ‘बोर्डले स्रेस्ता हराएको जवाफ पठाएको छ।’ रिजालका अनुसार बजेट खर्च गरेपछि पुस्ट्याइँका लागि बिलभर्पाई उपलब्ध गराउनुपर्छ तर बोर्डका अधिकारीले महालेखालाई स्रेस्ता हराएको बताउँदै आएका छन्।

स्रेस्ता हराएको विषयमा कोकसको मिलिभगत थियो भन्ने विषयमा तालुक मन्त्रालयले छानबिन गरेर सम्बन्धित अधिकारीलाई कारबाही गर्नुपर्ने रिजालले बताए। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७४ मा स्रेस्ताको विषयमा प्रश्न उठाइएको थियो। वार्षिक प्रतिवेदन–२०७५ तयारी पार्ने क्रममा समेत महालेखाले स्रेस्ता बुझाउन निर्देशन दिएकोमा बोर्डले हराएको प्रतिउत्तर पठाएको छ। स्रेस्ता उपलब्ध गराउन नसकेपछि भ्रष्टाचार लुकाउनकै लागि बिलभर्पाई गायब गरेको स्रोतको दाबी छ।

सुवास निरौला बोर्डको कार्यकारी निर्देशक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ करोड ३८ लाखको स्रेस्ता लगेर छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गरे पनि १२ करोड २८ लाखको बिलभर्पाई (स्रेस्ता) गायबको विषयमा छानबिन भएको छैन।

पर्यटन बोर्डका तत्कालीन कार्यकारी निर्देशक सुवास निरौलाको कार्यकालमा भएको यो घटना अहिलेसम्म बाहिर आएको थिएन। निरौला बोर्डको कार्यकारी निर्देशक हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ करोड ३८ लाखको स्रेस्ता लगेर छानबिन गरी विशेष अदालतमा मुद्दा दायर गरे पनि १२ करोड २८ लाखको बिलभर्पाई (स्रेस्ता) गायबको विषयमा छानबिन भएको छैन। ‘अख्तियारले लगेको बिलभर्पाईबाहेकको विषयमा प्रश्न उठाएका हौं,’ नायब महालेखा परीक्षक रिजालले भने। यी दुईबाहेक बोर्डले तीन सय २३ नम्बर भौचरको नौ करोड ४९ लाखको अर्को स्रेस्ता पनि महालेखामा पेस गरेको छैन। यो साढे नौ करोड रुपैयाँको स्रेस्ता पेस नगरे पनि त्यसका बिलभर्पाई अद्यावधिकको क्रममा रहेको बोर्डको दाबी छ।

सबा १२ करोडको बिलभर्पाई गायब गरेको विषयमा परिणामुखी अनुसन्धान नै नभएकाले यो घटनामा संलग्नको खोजी गर्नुपर्ने बोर्डकै अधिकारी बताउँछन्। ‘एउटा विषयमा अनुसन्धान भए पनि करोडौंको बिल लुकाएर अर्को भ्रष्टाचार गरिएको छ,’ बोर्डका एक उच्च अधिकारीले भने, ‘महालेखाले प्रश्न उठाएको विषयमा अख्तियार र तालुक मन्त्रालयले ध्याननै दिएनन्।’

नेपाल पर्यटन बोर्डको आर्थिक विनियमावली, २०७० को विनियम १८ मा बोर्डले नगदी र जिन्सीको भौतिक परीक्षण समेत गरी वार्षिक कारोबारको स्थिति, आयव्यय तथा अन्य हरहिसाब र वासलातसहतिको आर्थिक विवरण तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिनाभित्र पेस गर्नुपर्ने उल्लेख छ। तर बोर्डले आर्थिक वर्ष ०७०–७१ देखि ०७३–७४ सम्मको वित्तीय विवरण प्रमाणित गरी अन्तिम प्रतिवेदनको लागि जवाफ पेस नगरेको महालेखाले जनाएको छ।

बिलभर्पाई हराएको पर्यटन बोर्डका सूचना अधिकारी सन्तोष पन्तले पनि स्वीकार गरे। ‘स्रेस्ता हराएको विषयमा महालेखाले माग गरेका कागजात उपलब्ध गराउन सकेका छैनौं,’ पन्तले भने, ‘तत्कालीन समयमा लेखामा रहेका कर्मचारी नभएकाले यसै भन्न सक्ने अवस्था छैन।’

बोर्डले महालेखालाई पठाएको जवाफमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सात सदस्यीय समिति र नेपाल नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति बनाए पनि कुनै प्रतिवेदन तयार नभएको उल्लेख छ। पर्यटन बोर्डबाट स्रेस्ता हराएको विषयले संसद्को सार्वजनिक लेखा समितिमा पनि प्रवेश पाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७५ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App