coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दार्लिलिङलाई हराउँदै पुलिस सेमिफाइनलमा

माइभ्याली गोल्डकपअन्तर्गत मंगलबारा भिड्दै नेपाल पुलिस क्लब (नीलो) र भारतको दार्जिलिङ युनाइटेडका खेलाडी। तस्बिर : भीम/नागरिक

इलाम – नेपाल पुलिस क्लब सदरमुकामको ठूलो टुँडिखेलमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको खेलमा भारत दार्जिलिङको युनाइटेड क्बललाई २–१ गोलले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो। 

पुलिसका सौजन्य याक्खा राईले खेल सुरु हुनेबित्तिकै विपक्षी दार्जिलिङमाथि गोल गरे। डी बक्सभन्दा निकै बाहिरबाट उनले गरेको प्रहार सोझै गोलमा परिणत भयो। मध्यान्तरअघि १–० ले अघि रहेको पुलिसका भरत साहले पुनः अर्काे गोल गर्दै टोलीलाई जितनजिक पुर्याए। आयोजक माइभ्यालीलाई उद्घाटन खेलमा हराएको दार्जिलिङले मंगलबार पनि मध्यान्तरपछि खेल सुधार्याे। दार्जिलिङका लेन्डुप भुटियाले दिएको क्रस पास सदुपयोग गर्दै करण राईले पुलिसविरुद्ध जबाफी गोल फर्काए पनि जितका लागि पर्याप्त भएन। मंगलबारको खेलको म्यान अफ दी म्याच पुलिसका सौजन्य नै घोषित भए। 

भारत दार्जिलिङको युनाइटेड क्बललाई २–१ गोलले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो। 

विजेता पुलिसले बिहीबार हुने सशस्त्र प्रहरीको एपिएफ क्बल र पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबबीचको विजेतासँग चैत २ गते पहिलो सेमिफाइनल खेल्नेछ। दार्जिलिङका प्रशिक्षक साम्देन शेर्पाले दोस्रो हाफमा राम्रो खेले पनि आफ्नो टोलीका खेलाडीले स्कोर गर्न नसक्दा पराजित हुनुपरेको बताए। ‘खेल्न त हाम्रो टोलीले राम्रो खेलेको हो, पहिलो पटक इलामको मैदानमा आउँदा यहाँका बासिन्दाको हुटिङ पनि पाएको हो,’ उनले भने, ‘हाम्रो अरू पक्ष राम्रो भए पनि स्कोर गर्न चुक्दा घर जानुपरेको हो।’ उनले सबै उपयुक्त अवसर भएर पनि पराजित हुनुको कारण ‘भाग्य’लाई दिए।

पुलिसका प्रशिक्षक अनन्त थापाले टोलीले सन्तुष्ट हुने प्रदर्शन गर्न नसकेको बताए। ‘यो सिजनमा खेल र उपलब्धिप्रति चाहिँ सन्तुष्ट छु,’ उनले भने, ‘सिनियर ५ खेलाडी राष्ट्रिय टोलीको अभ्यासमा रहेकाले नयाँलाई अवसर दिँदा  प्रदर्शन ठीकठीकै मात्रै भयो।’ बुधबारको दोस्रो क्वार्टरफाइनल डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लब र हिमालयन शेर्पाबीच हुनेछ। हिमालयनले सोमबार हङकङ युनाइटेडलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो। 

प्रकाशित: २९ फाल्गुन २०७५ ००:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App