७ वैशाख २०८१ शुक्रबार
अर्थ

निगमले माग्यो नारितामा उडान अनुमति

फाइल तस्बिर

काठमाडौं- नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ । यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो । तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार अनुमतिको लागि मंगलबार नारिता अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयमा आवेदन गरिएको छ । निगम स्रोतका अनुसार ओसाकामा माग गरिएको अनुमति नपाएपछि निगमले नारितामा उडानको लागि अनुमति मागेको हो ।

तर, खरेल भने ओसाका विमानस्थलको अनुमति प्रक्रियामै रहेको दाबी गर्छन् । ‘ओसाका विमानस्थलको अनुमतिबारे अहिलेसम्म टुंगो लागेको छैन्,’ उनले भने, ‘अनुमति पाएमा ओसाका र नारिता दुबै ठाउँमा उडान गर्नको लागि नारितामा पनि अनुमतिको लागि आवेदन दिएका हौं ।’ उनका अनुसार जता चाँडो हुन्छ, त्यतै पहिला उडान गरिनेछ । यद्यपी, कार्यकारी अध्यक्ष खरेलले फेब्रुवरी पहिलो सातै जापानको ओसाकामा  उडान गर्ने दाबी गर्दै आएका थिए । तर मार्च मध्ये हुँदा समेत उडानको टुंगो समेत लाग्न सकेन् । उडानको टुंगो कहिलेसम्म लाग्छ अनुमान समेत खरेल लगाउन सक्दैनन् ।  

कार्यकारी अध्यक्ष खरेलका अनुसार ओसाकामा ग्राउन्ड ह्यान्डलिङ उपलब्ध नहुँदा समस्या भइरहेको छ । ग्राउन्ड ह्यान्डिलङ उपलब्ध गराउने कम्पनीले जुनपछि मात्रै उपलब्ध गराउने जनाइरहेको उनले बताए ।

ओसाकामा प्रक्रिया ढिला भएपछि नारितामा चाँडै पाउने अपेक्षा निगमको छ । निगमका अनुसार नारितामा आवेदन दिँदा पनि कतिपय ओसाकामै आवश्यक कागजपत्र काम लाग्ने भएपछि आवेदन दिन सहज भएको जनाएको छ । तर, त्यहाँ पनि अनुमति पाउने वा नपाउने टुंगो छैन् । अनुमति पाएपछि करिब एक महिना निगमलाई आन्तरिक तयारी गर्न लाग्छ । त्यसैपछि निगमले जापान उडान थाल्छ ।

निगमले यसअघि सन् १९९४ देखि सन् २००७ सम्म बोइङ ७५७ सिरिजको न्यारोवडी विमानमार्फत जापान उडान गर्दै आएको थियो । जहाज अभाव भएको भन्दै उडान स्थागित गरेको निगमले दुइटा एयरवस ‘ए३३०–२००’ वाइडवडी विमान खरिद गरेसँगै जापानमा फेरि उडान गर्नको लागि अनुमति माग गरेको थियो ।

हाल निगमसँग अन्र्तराष्ट्रिय उडान गर्ने २ सय ७४ सिटे दुईथान ‘ए३३०–२००’ वाइड बडी, १ सय ५८ सिटे दुईथान ‘ए३२०–२००’ न्यारो बडी सञ्चालनमा छन् । दुई वटा वाइड बडी भने गत असार र साउन महिनामा खरिद गरेर ल्याइएको हो । 

हाल यी जहाजहरु दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँदिल्लीलगायतका छोटो दुरीका गन्तव्यमा उडिरहेका छन् ।

प्रकाशित: २८ फाल्गुन २०७५ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App