coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रेम सम्बन्धका कारण सामूहिक आत्महत्याको प्रयास, एक युवतीको ज्यान गयो

वीरगन्ज– पर्सामा एक युवा र दुई युवतीले मुसो मार्ने आषधि खाएर सामूहिक रुपमा आत्महत्याको प्रयास गरेका छन्। यसमध्ये एक युवतीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले जनाएअनुसार पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ सढी टोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको छ भने सोही ठाउँ बस्ने १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन्। घट्ना भने जिराभवानी –२ सेढवामा भएको हो।

सढीका स्थानीयका अनुसार गत आइतवार सेढवाका सञ्जय दास, राम चौधरी समेतकाले सढीकी सजिता र १३ बर्षिय मजितालाई प्रेम बिवाहका लागि लैजान गाउँ आएका थिए। स्थानीयले पक्रेर प्रहरीलाई बुझाए। सञ्जय दास भने सजिता र मजितालाई मोटरसाइकलमा हालेर लैजान सफल भएका थिए। दिनभरी खोजतलास गरेका स्थानीयले सीमा पार गरी भारततिर पसेको अनुमान गर्दै फर्केका थिए। दुई युवतीसहित रातिको समयमा सञ्जय आफ्नो घर पुगेका थिए। बिहान सञ्जयकी आमाले तीनै जना बेहोस फेला पारेपछि रोइकराई गर्दा गाउँले जुटेका थिए। उपचारका लागि भारतीय बजार इनर्वा पुर्याइएका उनीहरुमध्ये सजितालाई चिकित्सकले मृत घोषित गरेका थिए। 

घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले बताए अनुसार साँझ सञ्जय र मजितालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको बताए। ‘आफूहरुले मुसो मार्ने बिष खाएर आत्महत्याको प्रयास गरेको उपचारपछि जोगिएका दुबैले बयान दिएका छन्’, प्रहरी निरीक्षक अधिकारीले भने, ‘पक्राउ परेकाहरुसँग पनि हामी सोधपुछ गरिरहेका छौं, अनुसन्धान भइरहेको छ।’ मृतक युवतीको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। भागेर विवाह गर्न खोज्दा घटना भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी अनन्तराम शर्माले बताएका छन्। 

‘हाम्रा वडा अध्यक्षज्यूहरुले जानकारी गराए अनुसार, घट्नास्थल यता जिराभवानीको वडा नम्बर २ सेढवामा रहेपनि मृतक युवती र ज्यान जोगिएका किशोरी दुबै जना पटेर्वा सिगौली गाउँपालिकाको सढी टोलका हुन, प्रहरीले अनुसन्धान गरिरहेको छ’, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले भने, ‘दुःखद घट्ना भएको छ, घट्नापछि स्थानीयमा भने स्वभाविक रुपमा हलचल भएको छ।’ दिउँसो सढीकास्थानीयले ब्यापक खोजतलास गरेको भनी थाहा पाएका उनीहरुले डरले बिष खाएको प्रारम्भिक अनुमान गरिएको छ। 

घट्ना दोहाेरियो

यसअघि पुस ८ मा वीरगन्जस्थित वीरगन्ज पब्लिक कलेजमा कक्षा ११ मा पढ्दै गरेका पर्साका २ किशोरीहरु सीमापारी भारतीय सहर रक्सोल नजिकैको कंगना निर रेल्वेले किचिएर ज्यान दिएका थिए। पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका हरिकिशोर चौरसियाकी १८ वर्षीया छोरी किरणकुमारी चौरसिया र वडा नम्बर २ भेडिहारीका राजेश्वर साह कलवारकी १७ वर्षीय छोरी निभाकुमारी साह गुप्ताले सामूहिक आत्महत्या गरेको घट्नाको अढाई महिना नबित्दै अर्को सामूहिक आत्महत्याको घट्ना भएको हो। उक्त घट्नाका दुवै जना किशोरी वीरगन्ज महानगरपालिका रानीघाटस्थित कुमारीमाई मन्दिर नजिक डेरा गरी संगसंगै बस्दै आएका थिए। उनीहरुको कोठाबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको थियो। आफ्नो आमा बुवालाई उनीहरुले सम्बोधन गरेको सुसाइड नोटमा कसैलाई पनि दोषी नमान्नु कसैमाथी शंका नगर्नु भनिएको प्रहरी उपरीक्षक रेवती ढकालले बताए। सुसाइड नोटको भाषा र घट्नाको तारतम्यले बिवाह गर्नबाट जोगिन किशोरीहरुले यस्तो कदम चालेको अनुमान गरिएको थियो। 

प्रकाशित: २८ फाल्गुन २०७५ १५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App