७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीको आक्रोशः विप्लवसँग यति लुट्न पाइन्छ, बढी नलुट्नु भनेर वार्ता गर्नु?

भिडियाे : दिनेश लुइँटेल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता नगर्ने बताएका छन्। विप्लवले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरेको भन्दै ओलीले वार्ता नगर्ने अडान लिएका हुन्। विप्लव लुटेरा समूह भएको उनको ठहर छ। 

शान्ति सुरक्षाको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीको ज्ञापनपत्र बुझ्दै ओलीले भने, ‘वार्ता भन्या छ, के का लागि वार्ता? उनीहरुको माग पैसा लुट्न पाउनुपर्छ भन्ने छ, लुट्न पाउनुपर्ने छ भन्नेसँग के वार्ता गर्ने? यति लुट्न पाइन्छ, यति भन्दा बढी नलुट्नु भनेर वार्ता गर्ने?’ 

विप्लव समूह पेशेवर डाँकाहरुभन्दा घटिया निस्किएको भन्दै ओलीले कम्युनिस्टका नाममा भइरहेका गतिविधि अत्यन्त घिनलाग्दो भएको टिप्पणी गरे। ‘पेशेवर डाँकाहरुको नियमहरु हुन्छन्, यसो गर्ने, यसो नगर्ने भन्ने। यिनीहरु पेशेवर डाँकाभन्दा घटिया किन छन भने यिनीहरुको कुनै नियम छैन्’, उनले भने, ‘बुढाबुढी, केटाकेटी जोसुकै मरे पनि केही छैन्। निर्दोष मरे पनि केही मतलब छैन्। डाँकाहरुको थिती हुन्छ, गुण हुन्छ, त्यो पनि छैन यिनीहरुमा।’

विप्लव समूहले कम्युनिस्टको नाम बेचेर युवाहरु विगार्ने षडयन्त्र गरिरहेको बताउँदै ओलीले सही मार्गमा फर्काउनुपर्ने बताए। ‘हाम्रो युवा पंक्ति, नयाँ पिढीलाई विगार्ने, एकदमै डरलाग्दो षडयन्त्र हो। युवा पंक्ति बिग्रियो भने देश बनाउने कसले?’ ओलीले प्रश्न गरे, ‘युवा पंक्तिलाई टार्गेट गरेरै विगार्न खोजिएको छ। त्यसकारण युवालाई सही बाटोमा, सही मार्गमा फर्काउनु पर्छ।’ 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएपछि रोजगार व्यवसायी शान्ति सुरक्षाको माग गर्दै ज्ञापन पत्र बोकेर मंगलवार दिउँसो बालुवाटार पुगेका थिए। प्रधानमन्त्री ओलीले वैदेशिक रोजगार व्यवसायीलाई सरकारले शान्ति सुरक्षाको प्रत्याभूत गराउने प्रतिबद्धता जनाएका थिए।  

प्रकाशित: २८ फाल्गुन २०७५ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App