coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् पुनर्गठनको तयारी : अध्यक्ष दाहाल

विराटनगर– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले आफूसँग छलफल गरेको जानकारी दिए। 

सरकारलाई थप गतिशिल बनाउन मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा प्रधानमनत्रीले सल्लाह मागेको दाहालले बताए।  मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको विषय भएकाले आफै निर्णय गर्न सुझाव दिएको दाहालको भनाइ छ।

‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सुझाव माग्नु भयो’, दाहालले भने‘ तपाईंको क्षेत्राधिकारभित्रको विषय भएकाले आफैं निर्णय गर्नुस् भन्ने सुझाव दिएँ।’

सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो आइरहेको पनि दाहालले बताए। यद्यपि सरकारले संवैधानिक पूर्वाधार, अन्तर्राष्ट्रिय सम्बन्ध, युवा स्वारेजगार र सामाजिक सुरक्षाका विषयमा महत्वपूर्ण काम गरेको दाहालको दाबी छ। दाहालले सीके राउत समूहलाई संवैधानिक मूलधारमा ल्याउन सरकार सफल भएको पनि बताए।

सरकारसँग सहमतिपछि राउत समूहले गरेका क्रियाकलापहरू कार्यकर्ता व्यवस्थापनका लागि भएको दाहालको भनाइ छ। ‘कार्यकर्ता मिलाउन केही समय लागेको हुन सक्छ’, दाहालले भने, ‘हतार गर्न जरुरी छैन।’ 

सरकारले विखण्डनकारी शक्तीहरूलाई मूलधारमा ल्याउन गरिरहेको प्रयास सकारात्मक भएको प्रतिक्रिया पनि उनले दिएका छन्। सरकारले गरेको काम सकारात्मक भएकाले आफ्नो समर्थन रहेको दाहालले स्पष्ट पारे। 

‘सरकारले गरेको काममा मेरो समर्थन छ’, दाहालले भने। सिके राउतसँगको सहमतिका विषयमा पार्टीभित्रै चर्को विरोध भइरहेका बारेमा भने दाहालले पार्टीका नेताहरूले बाहिर धेरै नबोल्दा राम्रो  हुने बताए।

 

प्रकाशित: २८ फाल्गुन २०७५ ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App