६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

तनावकै बीच लुटपाट, कम्तीमा १७ को मृत्यु

ब्ल्याकआउटका कारण बिरामीले समस्या भोग्नुपरेको भन्दै राजधानी कराकसमा हड्तालमा उत्रिएका चिकित्सक। तस्बिर : एजेन्सी

कराकस  – भेनेजुएलामा पाँच दिनदेखि जारी विद्युत् आपूर्ति बन्द (ब्ल्याकआउट)का कारण विभिन्न क्षेत्रमा लुटपाट मच्चिएको छ। पाँच दिनदेखि जारी विद्युत् आपूर्ति कटौतीका कारण कम्तीमा १७ जनाको मृत्युसमेत भएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

‘ब्ल्याकआउट’ अन्त्य नभएपछि भेनेजुएली सरकारले सोमबार विद्यालय र व्यापारिक क्षेत्र बन्द गर्न आदेश दिएको छ।
समस्यै समस्याले रुमलिरहेको भेनेजुएलामा विद्युत् आपूर्ति नहुँदा थप समस्या उत्पन्न भएको बताइएको छ। ‘ब्ल्याकआउट’कै बीच विभिन्न क्षेत्रमा लुटपाटको घटना भएको समाचार बाहिरिएको छ भने सरकार पक्षीय मोटरसाइकल समूह्ले अध्याँरो सडकमा चक्कर लगाएको बिबिसीले उल्लेख गरेको छ। विद्युत् आपूर्ति नहुँदा विगत चार दिनदेखि भेनेजुएली नागरिकले कष्ट सहनुपरेको बताइएको छ।

अझै पनि देशका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति बन्द नै रहेकाले उनीहरुको अवस्थाबारे केही भन्न नसकिएको बिबिसीले उल्लेख गरेको छ। केही क्षेत्रमा विद्युत् आपूर्ति भइहाले पनि केही घण्टामै फेरि बन्द हुने हुँदा भेनेजुएली नागरिक तनावमा रहेको बताइएको छ।

इन्टरनेट, मोबाइल फोन, बैंक, क्रेडिट कार्ड मेसिन, इलेक्ट्रोनिक कुकर केही पनि चलेका कारण भेनेजुएली नागरिकको जीवन कष्टप्रद बनेको छ।

कष्टप्रद जीवन
लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा विकसित पछिल्लो राजनीतिक अवस्थाका कारण जीवन थप कष्टप्रद बनेको छ।

पछिल्लो राजनीतिक तनावका कारण सरकार पक्ष र विपक्षले विभिन्न गतिविधि गर्दा सामान्य जनताको जीवन थप असहज बनिरहेकै बेला गत बिहीबारदेखि जारी ‘ब्ल्याकआउट’का कारण दैनिक जीवन थप दुःखदायी बनेको छ। अभावका कारण केही मानिस लुटपाटमा समेत संलग्न हुन थालेको बताइएको छ। ‘मेरो दुई वर्षको एउटा छोरा छ। हिजो साँझ मेरोमा केही खानेकुरा थिएन,’ राजधानी कराकस बाहिर रहेको एउटा सुपरमार्केट अगाडि उभिएर माजोरी नामकी एक सर्वसाधरणले आक्रोशित हुँदै बिबिसीसँग बताइन्।

उनको घरबाहिर रहेको एउटा पसलमा लुटपाट भएको र उनका छिमेकीलाई उनलाई खानका लागि भात दिएको उनले बताइन्। ‘छिमेकीले दिएको भातमा केही चिनी हालेर मैले मेरो छोरालाई खुवाएँ। तर आज फेरि उसले मलाई खानका लागि माग्यो भने मसँग उसलाई दिनका लागि केही छैन। मैले के भनेर उसलाई चुप लगाउनु ? हामीजस्ता ठूला मान्छे त पानी पिउँला, बच्चालाई के दिनु ?’ उनले बताइन्।

यसैबीच आमाहरुको समूहले निराश र आक्रोशित हुँदै बन्द रहेका सुपरमार्केटको ढोका ढ्कढक्याउन थालेको बिबिसीले उल्लेख गरेको छ। खुला रहेका सुपरमार्केट वा पसलमा पनि भेनेजुएली मुद्रा लिइएको छैन वा कार्ड लिइएको छैन। पसलेले मात्र अमेरिकी डलर लिइरहेका छन्, जसका कारण आम मानिसमा थप समस्या सिर्जना भएको बिबिसीले उल्लेख गरेको छ।

‘हामी यो देशमा डलर प्रयोग गर्दैनौं, हामी डलर कमाउँदैनौं पनि, हामी बोलिभार्स कमाउँछौं,’ माजोरीले बताइन्। ‘हामी पसल लुट्न चाहँदैनौं। हामी समस्या सिर्जना गर्न पनि चाहँदैनौं। हामी मात्रै खाना चाहन्छौं किनकि हामी भोकै छौं,’ उनले बताइन्।

बाँच्नका लागि संघर्ष
भेनेजुएलामा खानाका लागि बाहेक पनि अन्य समस्याले पनि गाँजेको छ। प्याट्रिका (नाम परिवर्तन) राजधानी कराकसस्थित एउटा बाल अस्पतालमा ल्याब टेक्निसियनका रूपमा कार्यरत छिन्। ‘बिहीबार इमरजेन्सी विभागको जेनेरेटर किन सुरु भएन भनेर कसैलाई जानकारी थिएन। अत्यन्तै ध्यान दिइनु पर्ने विभाग किन अँध्यारो थियो भन्ने पनि कसैलाई थाहा थिए,’ उनले बताइन्। विद्युत् आपूर्ति नहुँदा बाल अस्पतालको इमरजेन्सी विभागमा उपचाररत बालबालिकालाई साधारण विधि प्रयोग गरेर श्वासप्रश्वास गराइएको उनले बताइन्। यो त एउटा प्रतिनिधि घटना मात्रै हो। बिबिसीका अनुसार ब्ल्याकआउटका कारण अस्पताललगायत अत्यन्तै संवेदनशील क्षेत्र पनि प्रभावित बनेका छन्।

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App