८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

किम जोङ–नाम हत्याका एक आरोपित रिहा

क्वालालाम्पुर – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनका सौतेनी दाजु किम जोङ–नामको हत्याकी एक इन्डोनेसियाली आरोपित रिहा भएकी छन्।

नाम हत्याको अभियोग लागेकी ती महिलाविरुद्धको मुद्दा खारेज भएपछि उनी रिहा भएको बिबिसीले उल्लेख गरेको छ। सिति आइस्या नामकी ती इन्डोनेसियाली महिलाले सन् २०१७ मा क्वालालाम्पुर विमानस्थलमा नामको अनुहारमा रासायनिक पदार्थ लगाइदिएको अभियोग लागेको थियो।

उनीसहित अर्की एक भियतनामी सहआरोपित डोवान थी हुवोङले नाम हत्यामा आफ्ना संलग्नता अस्वीकार गर्दै आइरहेका छन्। उनीहरुले टेलिभिजन प्रयांक कार्यक्रम सोचेर आफूहरुले किम जोङ–नामको अनुहारमा रासायनिक पदार्थ दलिदिएको बताउँदै आएका छन्। उत्तर कोरियाली शासक किम जोङ–उनका सौतेनी दाजुको खुलेआम विमानस्थलमा हत्या हुँदा विश्वभर समाचार बनेको थियो।

नाम हत्याबारे कैयौं महिनादेखि मुद्दाको सुनुवाईमा ढिलाई भइरहेको थियो। मुद्दामाथिको सुनुवाई सोमबारबाट सुरु भएको थियो। सोमबार नै अर्की आरोपित हुवोङको बयान लिने काम भएको बताइएको छ। यद्यपि नाम हत्याको मुद्दा दायर गरेका अभियोजनकर्ताले सिति आइस्यामाथिको मुद्दा खारेज गर्न आग्रह गरेका थिए। उनीविरुद्धको मुद्दा किन फिर्ता लिइयो भन्नेबारे भने केही प्रष्ट नभएको बिबिसीले उल्लेख गरेको छ।

मलेसियाली महान्यायाधिवक्ताको कार्यालयले इन्डोनेसियाली कानुन मन्त्रालयलाई लेखेको पत्रमा जकार्ताले आइस्यामाथि लागेको अभियोगबारे ध्यानाकर्षण गरेकाले त्यसलाई सम्बोधन गरिएको उल्लेख गरिएको छ। साथै पत्रमा दुई देशबीचको असल सम्बन्धलाई पनि ध्यानमा राखेर उनीविरुद्धको मुद्दा फिर्ता लिइएको उल्लेख गरिएको पत्र उद्धृत गर्दै बिबिसीले जनाएको छ।
अभियोजनकर्ताले गरेको आग्रह न्यायाधीशले स्वीकृत गरेको भन्दै पत्रमा भनिएको छ, ‘सिति आइस्या मुक्त भएकी छन्,’ फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। यद्यपि यसले आइस्याको रिहाइबारे स्पष्ट रूपमा भने नबताएको बिबिसीले जनाएको छ। नाम हत्यामा यदि आइस्याको संलग्नता पुष्टि भएको थियो भने उनले मृत्युदण्डको सजाय पाउने थिइन्।

‘मलाई एकदमै खुसी लागेको छ। मलाई यस्तो हुन्छ भनेर थाहा थिएन। मैले यो अनुमान पनि गरेका थिइँन,’ अदालतबाट बाहिरिँदै गर्दा फ्रान्सेली समाचार एजेन्सीसँग आइस्याले बताइन्। नाम हत्यामा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेकी अर्की आरोपित भियतनामी महिलाको भन्दा आइस्याको संलग्नताबारे मलेसियाली अधिकारीसँग कम प्रमाण रहेको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App