७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्न चिह्न

वासिङ्टन - छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्न चिह्न उब्जिएको छ। दुवै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको छ।

अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठ्न थालेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमान सोमबारदेखि नउडाउने निर्णय गरेको छ। चीनको यस कदमका कारण अन्य देशले पनि यस्तै निर्णय गर्न सक्ने अनुमान गरिएको छ।

आइतबार इथियोपियाली एयरलायन्सको ७३७ म्याक्स विमान दुर्घटना हुँदा विमानमा सवार चालक दलसहित सबै १५७ जनाकै मृत्यु भएको थियो। गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही मोडेलको बोइङ दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो।

‘दुवै दुर्घटनाग्रस्त जहाज एकै मोडेलका हुन्। लायन एयर झैं इथियोपियाली एयरलायन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको देखिन्छ र पाइलटले पनि प्राविधिक समस्या आएको खबर गर्नासाथ दुवै विमान दुर्घटनाग्रस्त भएका छन्। दुवैमा एकै प्रकृतिको समस्या देखियो,’ टिल ग्रुपका हवाई विज्ञ रिचार्ड आबुलाफियाले बताएका छन्।

चिनियाँ नागरिक उड्डयन अधिकारीले पनि दुवै ज्यानमारा दुर्घटनाबीच समानता देखिएको बताएका छन्। विमानको सुरक्षामा निश्चिन्त नहुँदासम्म यी मोडेलका विमान उडान रोक्ने निर्णय भएको उनीहरुले बताए। बोइङले ७३७ म्याक्स मोडेलका ७६ वटा विमान चिनियाँ एयरलायन्सलाई बिक्री गरिसकेको छ भने थप १०४ वटा विमानका लागि आदेश दिइसकेको छ।

इथोपियाली एयरलायन्स र लायन एयर दुर्घटनापछि ७३७ म्याक्सप्रति उड्डयन क्षेत्रमा चासो र शंकाका दृष्टिले हेर्न थालिएको छ। मे २०१७ मा बोइङले ७३७ म्याक्स विमानको परीक्षण उडानसमेत स्थगित गरेको थियो। यस जहाजको इन्जिन फ्रान्सको सफ्रान एयरक्राफ्ट इन्जिन्स् र जिई एभिएसनको संयुक्त साझेदारीमा निर्माण गरिएको सिएफएम इन्टरनेसनल नामको कम्पनीले बनाएको हो।

जनवरीको अन्त्यतिर बोइङले दुई इन्जिनयुक्त न्यारो–बडीका ३५० थान विमान बिक्री गरेको थियो जबकी बोइङसँग पाँच हजार ११ थान जहाजको माग आएको थियो। पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो। कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो। यस सिरिजको जहाज करिब १० हजार उत्पादन भइसकेका छन्। ‘अर्को दशकमा बोइङका लागि म्याक्स निकै महŒवपूर्ण कार्यक्रम हो। सन् २०३२ सम्म कम्पनीका उत्पादनको करिब ६४ प्रतिशत हिस्सा यही मोडेलको हुनेछ,’ बजार विश्लेषक मिसेल मार्लुजीले बताएका छन्। ‘विश्वको यातायात र व्यापारका लागि यो अत्यावश्यक साधन हो,’ उनले बताए।     बोइङले इथियोपियाली एयरलायन्स दुर्घटनाबाट आफूहरु अति दुःखी भएको जनाएको छ। अनुसन्धानकर्तालाई बोइङका प्राविधिकहरुले पूर्णसहयोग गर्ने पनि बोइङको भनाइ छ।

विज्ञहरुले पछिल्ला दुई घटनाले बोइङको बजार प्रभावित हुनसक्ने बताएका छन् तर कम्पनीलाई हुन सक्ने क्षति सीमित मात्र हुनेछ किनभने यसको प्रतिस्पर्धी हाल एयरबस कम्पनीमात्र रहेको छ। बोइङको प्रतिष्ठा र अस्तित्वसँगै जोडिएकाले कम्पनीले सबै किसिमका प्राविधिक समस्या सुल्झाउन भरमग्दूर प्रयत्न पनि गर्नेछ। इन्डोनेसियामा अक्टोबर २९ मा भएको दुर्घटनापछि नै हवाई उड्डयन क्षेत्रका विज्ञले विमानका बारेमा पर्याप्त सूचना सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका थिए।

‘बोइङ ७३७ म्याक्स तत्काल नउडाउनु’
    चीनले आन्तरिक एयरलायन्स कम्पनीलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरुको व्यावसायिक उडान तत्काल स्थगन गर्न निर्देशन दिएको छ। यही मोडेलका दुई वटा विमान छ महिनाको अन्तरालमा उड्नासाथ दुर्घटनाग्रस्त भएपछि चीनले यो कदम चालेको हो।

दुवै दुर्घटनामा एकै किसिमका समस्या देखिएको भन्दै चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमानहरु नउडाउन निर्देशन दिएको हो। प्रशासनले जारी गरेको एक वक्तव्यमा उडान सुरक्षामा भरपर्दो र सुनिश्चितता भएपछि मात्र उडान पुनः शुभारम्भ हुने उल्लेख गरेको छ। वक्तव्यमा उड्डयन प्रशासनले अमेरिकी संघीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने बताइएको छ।

बोइङ र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोमाक) ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ। यो कारखानाबाट गत डिसेम्बरमा एयर चाइनाका लागि ७३७ म्याक्स जहाज बिक्री गरिएको थियो। यो विमान अमेरिकाको वासिङ्टनको रेन्टोनमा एसेम्बल गरिन्छ र भित्री साजसज्जाका लागि झाउसान ल्याउने गरिन्छ।

उता, इथियोपियन एयरलाइन्सले पनि ७३७ म्याक्सका सबै उडान स्थगित गरेको जनाइएको छ। यसैबीच दुर्घटनाग्रस्त इथियोपियाली विमानका दुईमध्ये एउटा ‘ब्ल्याक बक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सञ्चारमाध्यमले जनाएका छन्।   

 

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App