७ वैशाख २०८१ शुक्रबार
कला

पात्र अध्ययनमा दीपिका

मुम्बई – बलिउड नायिका दीपिका पादुकोण आगामी फिल्म ‘छपाक’को तयारीमा जुटेकी छन्। यो फिल्म एसिड पीडित लक्ष्मी अग्रवालको जिन्दगीमा आधारित छ। फिल्ममा दीपिकाले लक्ष्मीको भुमिका निभाउँदैछिन्। यो फिल्मको सुटिङ आगामी महिनाबाट सुरु हुनेछ। फिल्ममा विक्रान्त मैसी पनि प्रमुख भुमिकामा देखिनेछन्। यही फिल्ममार्फत दीपिका फिल्म निर्माणमा ‘डेब्यु’ गर्दैछिन्। फिल्ममा आफ्नो पनि पैसा लगानी हुनेभएपछि दीपिकाले फिल्मका लागि निकै मेहनत पनि गरिरहेकी छन्।

एसिड पीडितको भुमिकामा आफुलाई ढाल्नका लागि दीपिका निकै अभ्यास गरिरहेकी छन्। त्यसका लागि उनले लक्ष्मीसँग जोडिएका कथाको अध्ययन गरिरहेकी छन्। दीपिका पीडित महिलालाई कस्तो किसिमको एसिड आक्रमणले प्रभावित पा¥यो भन्ने विषयको अध्ययन गरिरहेकी छन्।

दीपिका यो समयमा लक्ष्मीसँग सम्बन्धित भिडियो तस्बिरसँगै उनको विषयमा तयार भएको कागजातको अध्ययन गरिरहेकी छन्। ‘यो अध्ययनमा लक्ष्मीले पनि दीपिकालाई सहयोग गरिरहेकी छन्। आफ्नो जिन्दगीको यात्रासँग जोडिएको सबै कुरा दीपिकालाई बाँडिरहेकी छन्। जुन कुरा सार्वजनिक रूपमा कमैलाई मात्र थाहा छ’, दीपिका निकट स्रोतले भन्यो, ‘दीपिकालाई १० एसिड पीडितको कथा रहेको डीभीडी र पेन ड्राइभ पनि दिइएको छ।’

दीपिकाले पछिल्लो लामो समय कुनै पनि फिल्ममा काम गरेकी छैनन्। सन् २०१८ को जनवरी २५ मा फिल्म ‘पद्मावत’ रिलिज भएपछि उनी ठूलो पर्दामा देखिएकी छैनन्। रणवीर सिंहसँग अफेयरमा रहेकाले पनि उनले विवाहको लागि समय मिलाउन कुनै पनि फिल्ममा काम नगरेको जनाइएको छ। दीपिकाले गत वर्षको नोभेम्बरमा रणवीरसँग इटलीको लेक कोमोमा विवाह गरेकी थिइन्।
 

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App