१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

साफ महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गर्दै पाँच देशका कप्तान । तस्बिरः नागरिक

मोरङ – पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबार (आज) बाट मोरङको विराटनगरमा सुरु हुँदैछ। सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्नेछन्। नेपालले पहिलो पटक महिला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो। जसमा मोफसलमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने अवसर विराटनगरले पाएको हो।

साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणसम्म आइपुग्दा नेपाल र भुटान दुई पटक आमनेसामने भएका छन्। नेपालले दुवै खेलमा भुटानलाई ८–० ले पराजित गरेको छ। अन्तर्राष्ट्रियस्तरको पछिल्लो पाँच खेलमा दुईमा जित, दुईमा हार र एक बराबरी खेलेको नेपाली टोलीकोे प्रदर्शन सन्तुलित छ।

साफ महिला च्याम्पियनसिपको सबै संस्करणमा भाग लिएको भुटानले कुनै संस्करणमा पनि समूह चरण पार गर्न सकेको छैन्। भुटानले अहिलेसम्म एउटै पनि खेलमा जित निकाल्न सकेको छैन्। ४ संस्करणमा १२ खेल खेल्दा भुटानले ३ गोल गर्दा ७२ गोल खाएको छ।  यो पटक पनि भुटानको टिम त्यती बलियो छैन्।

प्रतियोगिताका लागि भनेर भुटानी टिम एक साताअघिनै नेपाल आएको थियो। उसले नेपालको अन्डर–१९ महिला टोलीसँग मैत्रिपूर्ण खेल खेलेको थियो। तर, दुवै खेलमा भुटानी टोली बराबरीमा रोकिएको थियो। नेपाली टिम साफ महिला फुटबलमा सधै बलियो रहँदै आएको छ। अघिल्ला चार संस्करणमध्ये ३ संस्करणमा नेपाल फाइनलमा भारतमा पराजित भएको थियो। अघिल्लो संस्करणमा भने नेपाल भारतसँगै सेमिफाइनलमा स्तब्ध भएको थियो।

नेपालका प्रशिक्षक हरि खड्काले  उद्घाटन खेललाई सहज रूपमा नलिएको बताए। ‘साफमा सहभागी  सबै राष्ट्र बलियो भएको बताउँदै खड्काले भने, ‘हामी प्रतियोगिताका लागि पूर्ण रूपमा तयार छौं।’ समूहचरणका दुई खेलमा आफ्नो ध्यान केन्द्रित रहेको खड्काले बताए। नेपाली टोलीका कप्तान निरु थापाले भनिन्, ‘१९ वर्षमुनिका ७ खेलाडीसहित मैदानमा उत्रने तयारी गरिरहेका छौं। हामीले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्नेछौं।’

उद्घाटन खेलअगाडि विगत तीन वर्षदेखि भुटानी टोली समाल्दै आएका दक्षिण कोरियाका प्रशिक्षक सङ जाइ लीले उपाधिमा आफ्नो दाबी प्रकट गरे। ‘हामीहरू यस पटक जितको तिर्खा मेटाउनेछौं। युवा खेलाडीलाई प्राथमिकतामा राखेको छौं,’ प्रशिक्षक लीले थपे, ‘भविष्यमा भुटानको महिला राष्ट्रिय टोली बलियो बनाउनेतर्फ केन्द्रित छौं।’ प्रशिक्षक लीले आफूहरू नेपालसँगको पहिलो खेलमा लक्षित रहेको बताए।

यसअघि अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार विराटनगरमा पत्रकार सम्मेनल गर्दै साफ महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरेको थियो। बंगलादेशबाहेक अन्य पाँच देशका कप्तानले एकै साथ ट्रफी सार्वजनिक गरेका हुन्। ट्रफी सार्वजनिकपछि सबै देशका व्यवस्थापक, प्रशिक्षक र कप्तानले आफ्नो टोलीका बारे पत्रकारलाई जानकारी दिएका थिए।

प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली अतिथिका रूपमा रहने एन्फाले जनाएको छ। साफ च्याम्पियनसिपको ट्रफी सार्वजनिक कार्यक्रममा सबै टोलीका कप्तानले उपाधि दाबेदारी प्रस्तुत गरेका थिए। 

यसैबीच एन्फाले साफ महिला च्याम्पियनसिप सुरु हुनु अघि महिला टिमलाई नगदसहित सम्मान गरेको छ। विराटनगरमा सोमबार साँझ एक कार्यक्रम गर्दै ओलम्पिक एसिया क्षेत्र छनोटको दोस्रो चरण र भारतमा भएको हिरो गोल्डकपको उपविजेता टिमलाई एन्फाले पूर्वघोषित नगद पुरस्कार प्रदान गरेकोे हो। दुवै प्रतियोगिता खेलेका १७ जनाले एक लाख र ३ जनाले ५० हजार नगद प्राप्त गरे। ५० हजार पाउनेमा रेखा पौडेल, उषा नाथ र पुजा राना रहेका छन्। 

प्रकाशित: २८ फाल्गुन २०७५ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App