७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँपालिकाको सेवा लिन चार घर चहार्नुपर्ने

खोटाङ - भवन अभावमा खोटाङको रावाबेंसी गाउँपालिका कार्यालय व्यक्तिको घर भाडामा लिएर सञ्चालन भइरहेको छ। यसअघि रावाबेंसी वडा नम्बर २, खार्पामा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १, कुभिन्डेको हरमटारमा सारिएपछि भवन अभाव भएको हो।

गाउँपालिकाको कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। तर हालसम्म स्थानीय गोपाल दाहाल, महलसेर राई, खेम श्रेष्ठ र प्रेम श्रेष्ठका घर भाडामा लिएर गाउँपालिका कार्यालयका कामकाज सञ्चालन भइरहेका हुन्। गोपालको सिंगो घरमा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन, लेखा शाखाका कार्यालय राखिएका छन्। एउटै कोठामा आ–आफ्ना टेबल राखेर गाउँपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले आ–आफ्ना जिम्मेवारीका काम गरिरहेका छन्। उक्त घरको बरन्डामा प्रशासन र लेखा शाखा स्थापना गरिएका छन्।

यस्तै नजिकै रहेको खेमको घरबाट महिला तथा बालबालिका शाखा, योजना, प्राविधिक र सूचना प्रविधि शाखाको सेवा प्रवाह भइरहेको छ। महलसेरको घरबाट स्वास्थ्य, कृषि र भेटेरीनरी शाखाको सेवा प्रवाह भइरहेको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए। भवन अभावमा शिक्षा शाखा प्रेमको घरमा राखिएको छ। गाउँपालिकाका विभिन्न सेवा प्रदायक शाखा छरपस्ट हुँदा कतिपय सेवाग्राहीलाई सेवा लिन कठिनाइ भइरहेको पाइएको छ। सेवाग्राही सोधखोज गर्दै घरका कोठा–कोठा चहार्ने गरेका छन्। शिक्षा शाखाको कोठा राखिएको घरमा पसलसमेत भएकाले कार्यालयका कामकाज गर्न समेत असहज भएको कर्मचारीले बताएका छन्।

गाउँपालिकाका विभिन्न सेवा प्रदायक शाखा छरपस्ट हुँदा सेवाग्राहीलाई कठिनाइ भइरहेको छ । गाउँपालिकाको सेवा लिन उनीहरू सोधखोज गर्दै घरका कोठा–कोठा चहार्ने गरेका छन् ।

गाउँपालिकाको पहिलो बैठकको निर्णयअनुसार पहिलेको ठाउँ खार्पाबाट कुभिन्डेमा कार्यालय सारिएको गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए।

कोदालो लगाएर भत्काइएको भवन सुधार
गुणस्तरहीन भएको भन्दै कोदालो लगाएर भत्काइएको रावाबेंसी गाउँपालिकाको भवन ठेकेदारले पुनः सुधार गरेर निर्माण गरेको छ। गाउँपालिकाको निर्माणाधीन भवनको फ्लोरिङ र प्लास्टर गुणस्तरहीन बनाएपछि सुधार गर्न पटक–पटक आग्रह गर्दा पनि ठेकेदारले अटेर गरेपछि गाउँपालिका प्रमुख लीलानाथ निरौलाले गत पुसमा कोदालो र गैंती लगाएर भत्काइदिएका थिए। सुरुमा सोलिङ, त्यसमाथि क्रमशः पिसिसी, स्क्रिडिङ र पनिङका काम गर्नुपर्नेमा एकैचोटि पिसिसी गरिएको, पिसिसी ढलान पनि मापदण्डअनुसार बाक्लो नगरिएपछि गाउँपालिका प्रमुख निरौलाले ठेकेदार र सुरक्षाकर्मी राखेर भत्काइदिएका थिए।

गाउँपालिका प्रमुख निरौलाका अनुसार ठेकेदारले भने भवन निर्माण पूरा गरिसकेको भन्दै भुक्तानीका लागि माग पेस गरेको थियो। २५.८ मिटर लम्बाइ र २२.०५ मिटर चौडाइ भएको एल आकारको भवन निर्माणको जिम्मेवारी शुभ एन्ड ध्रुव कन्ट्रक्सन प्रालिले लिएको हो।

तीन महिनामै पूरा गर्ने गरी गत जेठ १५ गते सम्झौता गरेको कन्ट्रक्सनले दोस्रोपटक थप गरिएको म्याद पनि गुजारिसकेको छ। दोस्रोपल्ट थप भएको म्याद गत पुस १५ गते नै सकिएको गाउँपालिकाका सब–इन्जिनियर शिव श्रेष्ठले जानकारी दिए। बाथरुम र शौचालयसहितको १६ कोठे भवन भ्याटबाहेक ६६ लाख रुपैयाँमा निर्माण सुरु गरिएको हो। गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र बैठक हलमा इँटाका पर्खाल हालिए पनि अन्य कोठामा भने आलमुनियमले पाटेसन गरिएको छ।

भवन निरीक्षण
रावाबेंसी गाउँपालिकाको भवन निर्माण फागुन १५ गते पूरा भएको जानकारी आएपछि जिल्ला समन्वय समितिले आइतबार इन्जिनियरसहितको टोली लिएर निरीक्षण गरेको छ। टोलीका अनुसार भवनको फिनिसिङ आकर्षक नभएको, अझै पेटी बनाउने काम नसकिएको, कतिपय मापदण्ड पूरा नभएको पाइएको छ। जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङ, सदस्य चर्च विश्वकर्मा, निमित्त जिल्ला समन्वय अधिकारी रविकिरण आचार्य, इन्जिनियर धमेन्द्र झा लगायतको टोलीले भवनको निरीक्षण गरेको हो।

प्रकाशित: २८ फाल्गुन २०७५ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App