७ वैशाख २०८१ शुक्रबार
खेल

लिभरपुल फेरि सिटी सँगसँगै

लन्डन – लिभरपुलले म्यानचेस्टर सिटीसँगको अंकदूरी घटाउँदा इङ्लिस प्रिमियर लिग उपाधि होडमा रोमाञ्चकता प्रदान गर्ने क्रममा आइतबार बर्नलीलाई ४–२ ले हराएको छ।

उपाधि होडमा रहेको लिभरपुलले बर्नलीमाथि फराकिलो जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा छोट्याएको हो। समान ३० खेलमा लिभरपुलको ७३ अंक र सिटीको ७४ अंक छ। यता, लिभरपुलले जित निकाल्दा शीर्ष चारको होडमा रहेको ओले गनर सोल्सजायरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग २–० ले स्तब्ध हुँदै घरेलु लिगमा पहिलो हार बेहोर्याे। 

जितपछि आर्सनल चौथो स्थानमा उक्लिँदा युनाइटेड पाँचौं स्थानमा झरेको छ। अर्को खेलमा शीर्ष चारमा पुग्न संघर्षरत चेल्सी पनि उल्भरह्याम्पटनसँग १–१ को बराबरीमा रोकियो। छैटौं स्थानको चेल्सीलाई हारबाट जोगाउन इडेन हाजार्डले इन्जुरी समयमा गोल फर्काए। यता, शीर्ष स्थानमा फर्किन संघर्ष गरिरहेको लिभरपुलले एनफिल्ड मैदानमा सुरुआती अग्रता गुमाएपछि सन् १९९० देखि पहिलो पटक इङ्लिस लिगको उपाधि जित्ने सपनामा धक्का लागेको थियो।

उपाधि होडमा रहेको लिभरपुलले बर्नलीमाथि फराकिलो जित निकाल्दै शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा छोट्याएको हो। समान ३० खेलमा लिभरपुलको ७३ अंक र सिटीको ७४ अंक छ।

तर, पहिलो हाफमा खेलमा फर्किएको लिभरपुलले महत्वपूर्ण जितसमेत निकाल्यो। लिभरपुलको जितमा रोबर्टो फिर्मिनो र साडियो मानेले समान दुई गोल गरेका थिए। छैटौं मिनेटमा वेस्टवुडको गोलबाट बर्नलीले अग्रता लिँदा लिभरपुललाई झड्का दिएको थियो। तर, १९औं मिनेटमा फिर्मिनोले गोल फर्काउँदै लिभरपुललाई खेलमा फर्काए। फेरि, २९औं मानेले गोल गरेपछि लिभरपुलले २–१ को अग्रता लियो। 

त्यो गोलसँगै पहिलो हाफमा लिभरपुलले २–१ को अग्रतालाई कायमै राख्यो। दोस्रो हाफमा पनि लिभरपुलले दुई गोल गर्दा एक गोल बेहोरे पनि सफलता प्राप्त गर्न सफल भयो। ६७औं मिनेटमा फिर्मिनोले नै व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए। खेल सकिन लाग्दा समेत लिभरपुलले सोही अन्तरमै जित्ने आकलन गरिए पनि इन्जुरी समयमा दुवै तर्फबाट गोल भयो। 

९१औं मिनेटमा बर्नलीका बर्ग गुडमन्डसनले गोल फर्काउँदै लिभरपुलसँगको अग्रता छोट्याउने प्रयास गरे। यद्यपि, त्यसको दुई मिनेटपछि नै मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले यो जितपछि कुनै पनि टोली एक्लो उपाधि दाबेदार नभएको प्रमाणित भएको बताए। 

‘पछिल्ला ६ खेलमा हामीले दुई खेल मात्र जितेका छौं,’ प्रशिक्षक क्लोपले भने,‘नतिजा सबै राम्रो नै भएका छैनन्। सबै दाबेदारका प्रतिस्पर्धी टोली बलिया नै छन्। त्यसैले उपाधिको एक्लो दाबेदार कोही छैनन्।’ क्लोपले भनेजस्तै उपाधिको दाबेदार मानिएको टोटेनह्यामले पनि पछिल्ला चार खेलमा तेस्रो हार बेहोरिसकेको छ। अन्तरिम प्रशिक्षकमा सोल्सजयार नियुक्तिपछि घरेलु मैदानमा आत्मविश्वासी बनेको युनाइटेडले पनि इमिरेट्स स्टेडियममा आर्सनललाई नतिजा सुम्पिएपछि शीर्ष चारका केही उथलपुथल हुने देखिएको छ।

गत मार्च ७ को च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ३–१ ले हराएको युनाइटेडले सोही किसिम प्रदर्शन घरेलु टोली आर्सनलविरुद्ध दोहोर्याउन सकेन। ग्रनित जाका र पिएरे औबामेयाङको गोलमा आर्सनलले युनाइटेडमा सोल्सजायरलाई पहिलो हार बेहोर्न बाध्य बनायो। पछिल्ला सिजन निकै खराब प्रदर्शनबाट गुज्रिरहेको चेल्सी पनि उल्भरह्याम्पटनविरुद्ध मुस्किलले हारबाट बच्यो।

उसैको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा पहिलो हाफमा चेल्सीलाई गोलरहित बराबरीमा रोकेको उल्भरह्याम्पटनले दोस्रो हाफमा सुरुआती गोल गर्दै झड्का दियो। खेलको ६७औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै उल्भरह्याम्पटनलाई अग्रता दिलाए। खेल सकिन लाग्दासम्म उल्भरह्याम्पटन जितनजिक थियो। तर, इन्जुरी समयमा हार्जाडले गोल फर्काउँदै चेल्सीलाई हारबाट जोगाए। त्यसअघि चेल्सीका लागि गोन्जालो हिग्विन, पेड्रो र सेजर एप्लिक्युटाले गोल गर्ने अवसर गुमाएका थिए। 

बराबरी पछि २९ खेलबाट चेल्सी ५७ अंकसहित छैटौं स्थानमा यथावत् छ। चेल्सीका प्रशिक्षक माउरिसियो सारीले आफ्नो टोलीले खराब प्रदर्शनका बावजुद अन्तिम चारमा स्थान बनाउने विश्वास व्यक्त गरेका छन्। ‘हामीले अझै १० खेल खेल्न बाँकी छ,’ प्रशिक्षक सारीले भने,‘सधैं खेल जितिन्छ भन्न सकिन्न। तर पनि हामी अर्को सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुनेछौं।’

प्रकाशित: २८ फाल्गुन २०७५ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App