coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थी बर्बराउने समस्याले दुई महिनादेखि पढाइ अवरुद्ध

काम्ने, बर्बराउने गरेका पिताराज आधारभूत विद्यालयका विद्यार्थीलाई सम्झाउँदै मेयर पूर्ण केसी । तस्बिरः दिनेश/नागरिक

रोल्पा - रोल्पाको सदरमुकामभित्र रहेको पिताराज आधारभूत विद्यालयमा दुई महिनादेखि जारी विद्यार्थी बिरामी बर्बराउने समस्या अझै समाधान हुन सकेको छैन। अभिभावक तथा शिक्षकले डाक्टरदेखि धामीझाँक्रीसम्म सबै उपाय अपनाउँदा पनि विद्यार्थी बिरामी हुने क्रम नरोकिएको हो।

अस्पतालबाट डाक्टर आएर उपचार गरे, सुधार भएन। विद्यालयमै धामी बोलाएर कालो बोको काटियो। धामीले मन्तरेर दिएका चामल शिक्षकका गोजीमा अझै सकिएको छैन। तर विद्यार्थी बिरामी हुने क्रम उस्तै छ। विद्यालयका प्रधानाध्यापक लीला आचार्यले भनिन्, ‘दुई महिना भयो एक दिन पनि राम्रोसँग पढाउन पाइएको छैन। दिनदिनै विद्यार्थीहरू बिरामी हुन्छन्। यसपालि वार्षिक नतिजा बिग्रिने भयो।’

लामो समयदेखि विद्यार्थी बिरामी भएको सुनेर रोल्पा नगरपालिकाका मेयर पूर्ण केसी आइतबार विद्यालय पुगे। उनी बिहान १० बजे स्कुल पुग्दा एउटी छात्रा बेहोस थिइन्। सबै विद्यार्थीलाई लाइन लगाएर उनले भूतप्रेत भन्ने हुँदैन, यो मनको भ्रम हो भन्दै सम्झाए। ‘अब तीन दिनपछि वार्षिक परीक्षा सुरु हुँदैछ। यो शैक्षिक सत्र सकियो। अर्को वर्ष पनि यस्तै भयो भने मनोचिकित्सक ल्याउने सोच बनाएको छु,’ नागरिकसँग उनले भने, ‘जति खर्च लाग्छ नगरपालिकाले विद्यार्थीको समस्या समाधान गर्छ।’

विद्यालयका प्रधानाध्यापक लीला आचार्यले भनिन्, ‘दुई महिना भयो एक दिन पनि राम्रोसँग पढाउन पाइएको छैन। दिनदिनै विद्यार्थीहरू बिरामी हुन्छन्। यसपालि वार्षिक नतिजा बिग्रिने भयो।’

रोल्पा जिल्ला अस्पतालदेखि करिब सय मिटरको दूरीमा रहेको यो विद्यालयमा दैनिक दसौं विद्यार्थी काम्ने तथा बेहोस हुने हुन थालेपछि केही दिन विद्यालय नै बन्द गरियो। अहिले स्कुल खोल्ने गरिए पनि दुई महिनायता पठनपाठन ठप्पजस्तै छ। वार्षीक परीक्षा मुखमै आइसक्दा पनि नियमित पढाइ सञ्चालन गर्न सकिएको छैन। सुरुका दिनमा कक्षा ६ र ७ का विद्यार्थीमा बर्बराउने र काम्ने समस्या सुरु भएको थियो। तर अहिलेसम्म कक्षा १ का बालबालिकादेखि ८ सम्मकै विद्यार्थीलाई यो समस्या भइरहेको शिक्षक बताउँछन्। ‘पढाइ त बिग्रियो बिग्रियो परीक्षा पनि कसरी सञ्चालन गर्ने हो तनाव छ। परीक्षा दिन आएका विद्यार्थी नै बिरामी परे भने बर्बाद हुन्छ,’ प्रधानाध्यापक आचार्यले भनिन्,‘ ‘एक÷दुई जना बिरामी भए पो दैनिक आठ÷नौ विद्यार्थी बिरामी हुन्छन्।’

यही समस्याका कारण अर्काे शैक्षिक सत्रदेखि उक्त विद्यालयमा छोराछोरी पढाउने कि नपढाउने भन्नेमा स्थानीय अभिभावक अन्योलमा परेका छन्। कति विद्यार्थी त यही डरका कारण लामो समयदेखि विद्यालय गएका छैनन्।

डाक्टरले उपचार गर्दा पनि बिरामी विद्यार्थी हुने क्रम नरोकिएपछि अभिभावकको आग्रहमा स्कुलमै धामी बोलाएर कालो बोकोसमेत काटिएको शिक्षक बताउँछन्। अहिलेको युगमा त्यसमाथि नजिकै अस्पताल हुँदाहुँदै यस्तो अन्धविश्वास अपनाउनुपर्दा आफूहरूलाई लाज लागेको शिक्षकहरूको भनाइ छ। ‘कुनै उपाय नचलेपछि यसो गरिएको हो। तर विद्यार्थी बिरामी हुने क्रम भने रोकिएको छैन।’ अहिले पनि विद्यार्थी बिरामी हुँदा धामीले मन्तरेर दिएको चामल खुवाउने गरिएको उनले बताइन्।

धेरैपटक बिरामी विद्यार्थीको उपचार गरेका रोल्पा जिल्ला अस्पतालका डाक्टरहरू यो समस्या समाधानका लागि मनोचिकित्सकको मद्दत लिनैपर्ने बताउँछन्। ‘यो केसमा साइको सोसियल काउन्सिलर र साइक्याटिलाई बोलाउनुको विकल्प छैन।’ जिल्ला अस्पतालका प्रमुख सुशील आचार्यले भने, ‘ठूला मात्र नभएर साना बच्चा पनि बिरामी भएका छन्। यो समस्या देखिएको लामो समय भइसक्यो। अभिभावकसमेत बिरामीजस्ता हुन थालिसके। अब अभिभावक र विद्यार्थी दुवै पक्षलाई साइको सोसियल काउन्सिलीङ आवश्यक छ।’

प्रकाशित: २८ फाल्गुन २०७५ ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App