७ वैशाख २०८१ शुक्रबार
समाज

मिजासिली एकताको सम्झना झलझली

गोरखा - इथियोपियन विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारीले नजिकबाट चिन्ने एक साथीसँग विवाहका बारेमा कुरा गर्दै जिस्किएकी थिइन्। घटना हुनु दुई दिनअघि भएको म्यासेन्जर कुराकानी सम्झँदै उनकी ति साथीले भनिन्  ‘तैंले बिहे गर्नुपर्छ, तेरो बिहेमा यस्तो गर्छु, उस्तो गर्छु भन्दै ऊ मसँग जिस्किएकी थिई। मैले पनि उसलाई त्यसरी नै जिस्क्याएकी थिएँ।’

आइतबार बिहान भएको इथियोपियन विमान दुर्घटनामा परी मृत्युभएकी गोरखा पालुङटार, मिरकोटकी एकता अधिकारीको मृत्युको खबरले स्तब्ध भएकी उनकी साथि अझै सामान्य हुन सकेकी छैनन्। ‘खान मन पनि छैन, उसैलाई सम्झिरहेकी छु, म बाहिर सरुवा भए पनि काठमाडौं जाँदा सधैं भेट हुन्थ्यो, गफिएर घण्टौं सँगै बस्थ्यौं,’ उनले नागरिकसँग उनले भनिन्। एकताका बारेमा सम्झँदै उनी भन्छिन्, ‘जागिर खानेमात्रै होइन, दायित्व पूरा गर्दै दिन–दुःखीको सहयोगी बन्नुपर्छ भन्ने उनको भावना थियो।’

सहकर्मी तथा आफन्तका अनुसार २८ वर्षीया अविवाहित एकता हँसिली, साथीभाइसँग समय बिताउन चाहने, सबैलाई सकारात्मक हुन प्रेरणा दिने, मनकारी र छिटो घुलमिल हुने स्वभावकी थिइन्। १५ वर्षअघि काठमाडौँ वनस्थली बस्न थालेको परिवारकी कान्छी छोरी एकता युकेबाट मास्र्टस सकेर नेपाल फर्किएपछि २०७२ सालदेखि विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)मा काम गर्न थालेकी थिइन्। डब्लुएफपीको काठमाडौँस्थित कार्यालयमा सप्लाई शाखाबाट जागिर सुरु गरेकी उनी शाखा प्रमुख हुँदै हाल इथियोपियामा डब्लुएफपीको सप्लाई शाखा प्रमुखको जिम्मेबारीमा थिइन्।

एकतासँगै डब्लुएफपीको जागिरमा प्रवेश गरेकी उनकी सहकर्मीका अनुसार एकताको काम गर्ने शैली, कार्यालयप्रतिको इमान्दारिताको डब्लुएफपीमा धेरै प्रशंसक थिए। त्यही कारण उनको छिटै प्रोमोसन भएको थियो। परिवारमा पनि एकता तीक्ष्ण क्षमता भएकी छोरीका रूपमा परिचित थिइन्। सानै उमेरमा युएन ऐजेन्सीमा अफिसर भएर काम गर्ने अवसरका कारण परिवार पनि खुसी थिए। तर सारा खुसी केही दिनमै आँसुमा बदलिएको छ।

विमान दुर्घटनाको खबर पाएका काका ध्रुव अधिकारीले भने, ‘टाठी थिई, सामाजिक काममा चासो राख्ने खालकी, अफिसको काम भनेपछि जतिसुकै बेला पनि गर्ने खालकी थिई।’ परिवारमा उदाहरणीय बनेकी एकताको दुर्घटनामा परी मृत्य भएपछि अधिकारी परिवार शोकमा छ। एकताका बाबु काजीबाबु र आमा पार्वती दुई छोरीसहित अमेरिकामा छन्। काका ध्रुवका अनुसार आमा–बाबु एक–दुई दिनमा नेपाल आउने तयारी छ। एकताको शव नेपाल ल्याउन डब्लुएफपीले समन्वय गरिरहेको छ।

प्रकाशित: २८ फाल्गुन २०७५ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App