coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरीविरुद्धको मुद्दामा बहस सुरु

कंचनपुर - निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कंचनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ। सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ। सम्पर्कविहीन रहेका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टसहितको सूचना जारी गरेको छ।

कंचनपुरमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली बिष्टसहित आठ जनाविरुद्ध सरकारी वकिलको कार्यालयबाट गत बुधबार कंचनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। बिहीबार बिहान न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो। डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहीबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो। डिएसपी सेठी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदको बयान लिइसकिएको हो।

सोमबार सबैको बयान लिने काम सकिएको अदालतका स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। ‘६ जना प्रहरीको बयान लिने काम सकिएको छ,’ उनले भने, ‘डिल्ली बिष्ट र अंगुर जिसी उपस्थित नभएकाले उनीहरूको बयान भने लिन बाँकी छ।’

वारेन्टसहितको सूचना जारी
अदालतले सोमबार मुद्दा परेका ८ जनामध्ये उपस्थित नभएका बिष्ट र जिसीका नाममा अदालतमा उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी भएको अदालतका स्रेष्तेदार अवस्थीले बताएका छन्। ‘अपराध संहिताको दफा ५७ अनुसार सात दिनमा अदालतमा उपस्थित नभए दफा ५८ अनुसार वारेन्ट जारी भई ३५ दिनभित्र अदालतमा उपस्थित गर्न लगाइनेछ,’ उनले भने, ‘उनीहरुको नाममा वारेन्ट जारी भएपछि प्रहरीले खोजी गर्नेछ।’

कंचनपुर प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी कृष्ण ओझाले पत्र काटेपछि ६ जना अदालतमा आफैं उपस्थित भएको र उनीहरूलाई आदेश नहुन्जेलसम्म प्रहरीकहाँ राख्न अदालतले पठाएकाले हिरासतमा राखिएको बताए। ‘हामीले पक्राउ गरेर थुनेका होइनौं,’ उनले भने, ‘ उपस्थित हुन पत्र काटेपछि ६ जना आफैं अदालतमा उपस्थित भएका हुन्।’
बिष्ट र जिसी भने अदालतमा उपस्थित भएका छैनन्। ‘अहिले बिष्ट र जिसी हाम्रो सरोकारको विषय होइनन्,’ उनले भने, ‘उनीहरूलाई उपस्थित हुन भनेर अदालतले अर्को सूचना काट्ला।’

अदालतमा बहस सुरु
आठ जना प्रहरीविरुद्ध परेको मुद्दामा सोमबार दिउँसो ४ बजेदेखि बहस सुरु भएको छ। सोमबार प्रतिवादीका तर्फवाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। श्रेष्तेदार अवस्थीका अनुसरा बहस सकिएपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गर्नेछ। यो मुद्दामा पाँच वर्षसम्म जेल सजाय हुने प्रावधान छ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह बिष्टका दाजु खडक बिष्टले गत पुस ४ गते दिएको उजुरीका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूमाथि यातना दिएको र प्रमाण नष्ट गरेको अभियोगमा फौजदारी अपराध संहिताअनुसार मुद्दा दर्ता गरिएको हो। तत्कालीन एसपी बिष्ट, डिएसपी सेठी, सिआइबीका प्रहरी उपरीक्षक जिसी, प्रहरी निरीक्षक भट्ट, प्रहरी निरीक्षक खड्का, सईद्वय हरिसिंह र रामबहादुर तथा प्रहरी जवान चाँदनी साउदविरुद्ध मुद्दा दर्ता गराएका थिए।

प्रमाण नष्ट गरेको भन्दै एसपी बिष्ट र निरीक्षक खड्कालाई भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्वनमा परेका छन्। २०७५ साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएका बेला हराएकी निर्मलाको भोलिपल्ट नग्न अवस्थामा शव फेला परेको थियो।

प्रकाशित: २८ फाल्गुन २०७५ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App