८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसमा यसकारण माैन देखिए राउत

जनकपुरधाम - स्वतन्त्र मधेश अभियानको नेतृत्व गर्ने चन्द्रकान्त (सिके) राउतले नेपाल सरकारसँग लिखित सम्झौता गर्दै राष्ट्रिय अखण्डता स्वीकारेपनि कार्यकर्तालाई पुरानै प्रशिक्षण (विखण्डनकारी नीति) अनुरुप परिचालन गरिरहेका छन्। काठमाडौंमा सरकारसँग ११ बुँदे सम्झौतागरी आइतबार जनकपुर आएका राउतलाई स्वागत गर्न विमानस्थल पुगेका सयौं कार्यकर्ताले पुरानै गतिविधिलाई निरन्तरता दिए।

स्वतन्त्र मधेस देश स्थापनाको लागि अभियान जारी राखेको भन्दै उनीहरूले ‘आजाद मधेस’ लेखिएको पुरानै झन्डा प्रदर्शन गरे। राउतलाई स्वागत गर्दै कार्यकर्ताले ‘हमको चाहिए आजादी’ र ‘गलीगलीमे नारा है, मधेस देश हमारा है’ जस्ता नारा लगाइरहँदा उनले न त्यस्तो नारा लगाउन रोके न सरकारसँग भएको सम्झौताबारे कार्यकर्तालाई सम्बोधन गरे। यसबारे सञ्चारकर्मीले बोल्न बारम्बार ताकेदा गरे पनि उनले मुख खोलेनन्।

स्वतन्त्र मधेस अभियानमा लागेका कार्यकर्तालाई भुलभुलैयामा राखेर राउतले मधेसमा अर्को संक्रमण सिर्जना गर्न लागेको मधेस राजनीतिका विश्लेषक डा. सुरेन्द्र लाभको ठम्याइ छ। ‘एक्लो जेलभित्र रहेको बेला स्वतन्त्र मधेसको अभियान त्याग्ने सहमति त गरे तर बाहिर आएपछि उग्र कार्यकर्ता सामु सहमतिबारे बोल्न अप्ठ्यारो भए जस्तो लाग्छ,’ डा. लाभ भन्छन्, ‘राउतले राजनीति नेपाल र मधेसका राजनीति राम्ररी बुझेका छन्। यस्तो अवस्थामा मौन हुनु नै उचित ठाने होलान्।’

सरकारसँग गरेको सम्झौताबारे जनस्तरमा प्रष्ट हुँदै कार्यकर्ताहरू समान्यभावमा फर्किन थालेपछि राउतले विस्तारै ‘कन्भिन्स’ गर्ने सोचमा हुन सक्ने डा. लाभको अनुमान छ। ‘नेपालबाटै मधेसलाई आजाद’ बनाउने अभियानबाट ‘नेपालभित्रै आजाद’ बनाउने अभियानमा सीमित हुनु स्वभाविकरूपमा कठिन मोड भएको उल्लेख गर्दै लाभले थपे, ‘पुरानो प्रशिक्षण प्राप्त कार्यकर्तालाई नयाँ कोर्षको प्रशिक्षण दिनु राउतको लागि चुनौती छ।’

सरकारसँग सम्झौता गरेअनुरूप राउत मूलधारको राजनीतिमा अलगै स्थान कायम गर्न सके मधेसमा प्रभाव जमाएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच प्रतियोगीको रूपमा खडा हुन सक्ने डा. लाभको अनुमान छ। मधेस केन्द्रित पार्टीप्रति असन्तुष्ट मधेसी जनता केही समयकै लागि भए पनि राउतको संगठनप्रति आकर्षित हुन सक्ने उनी बताउँछन्।

राष्ट्रिय जनता पार्टीका नेता एवं प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले राउत मुलधारको राजनीतिमा आएपनि मधेसी पार्टीलाई कुनै असर नपर्ने दावी गर्छन्। ‘हिजोसम्म मधेसलाई छुट्टै देश बनाइदिने भाषण गर्दै हिँडेका राउत भोली मूलधारको राजनीतिमा आए पनि हामी (मधेशी दल) लाई केही फरक पर्दैन’ मण्डलले भने, ‘बरु, कुनै न कुनैरूपमा वदनाम रहेको मधेस निष्कलंक भएको छ।’ विखण्डनवादीको चस्माले मधेसी जनतालाई हेर्न थालिएको बेला राउतको सम्झौताले राम्रो सन्देश दिएको मण्डल बताउँछन्।

पछिल्लो संसदीय निर्वाचनताका कोठाबाहिर मतदान गर्ने अभियान चलाएर राउतले मधेस केन्द्रित दलको पक्षमा पर्न सक्ने भोटलाई विकेन्द्रित गरेको उल्लेख गर्दै मण्डलले थपे, ‘एउटा सांसदले पाउने जति भोट त कोठा बाहिर गएन होला। तर, केही भोट काटेर धेरै मधेसी दलका उम्मेदवारलाई जित्न नदिन वाधक बन्यो।’ यतिबेला नेकपा नेतृत्वको सरकारसँग गरेको सम्झौता र प्रधानमन्त्री केपी ओलीले राउतलाई तथा राउतले प्रधानमन्त्री ओलीलाई बधाइ दिनुले मधेसवादी दलविरुद्ध नियोजितरूपमै स्वतन्त्र मधेश गठबन्धन परिचालित रहेको प्रमाणित भएको मण्डलको जिकिर छ।

प्रकाशित: २८ फाल्गुन २०७५ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App