८ वैशाख २०८१ शनिबार
राजनीति

सीके राउतको जनकपुर प्रदर्शन ‘स्वतन्त्र मधेस’ मुद्दाको विदाइको खुसीयालीमा हो : गृहमन्त्री थापा

बुटवल– गृहमन्त्री रामबहादुर थापाले भने बिखण्डनकारी शक्तिलाई राजनीतिको मुल प्रवाहमा ल्याएर सरकारले ठूलो उपलब्धी हासिल गरेको बताएका छन्। कतिपय सत्तापक्ष नेता तथा सभासदले नै राष्ट्रिय अखण्डता र संविधान विपरीत सीके राउतसँग सहमति गरेको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सोमबार प्रदेश नं ५ को सुरक्षा गोष्ठीलाई भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री थापाले स्वतन्त्रता, स्वाधीनता, स्वराजको नारा दिएर देशलाई बिखण्डन गर्न खोज्ने असामाजिक तत्वलाई मुल प्रवाहमा ल्याएर देशलाई बिखण्डनको चुनौती र खतराबाट जोगाएको बताए। देशमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको दावी पनि थापाले गरे।

सरकार र सीके राउत बिच भएको सहमतिको बचाउ गर्दै थापाले सहमति पत्रमा जनअभिमत लेखिएकाले त्यसलाइ जनमतसग्रहका रुपमा व्याख्या नगर्न आग्रह गरे। राष्ट्र बिखण्डनका लागि जनमत संग्रह गर्ने बिषय संविधानमै उल्लेख नभएकाले सरकार संविधान विपरित जाने नजाने भन्ने प्रश्नै नउठ्ने बताए। स्वतन्त्र मधेशको लक्ष्य, उदेश्य, नीति तथा नाराहरु पूर्णतया त्यागेर राष्ट्रिय अखण्डताको पक्षमा लाग्ने प्रतिबद्धता सहितको सहमति पत्रमा सिके राउतले हस्ताक्षर गरिसकेकाले बिखण्डनकारी समूह मुल प्रवाहमा आइसकेको दावी गृहमन्त्रीको थियो।

आइतबार जनकपुरमा सिके राउतका कार्यकर्ताले गरेको प्रर्दशन र स्वतन्त्र मधेशको नारा अन्तिम भएको बताउँदै उनले सहमतिबारे यथार्थ सन्देश कार्यकर्ता माँझ नपुगेको हुन सक्ने बताए।  ‘उहाँहरुले उठाएको स्वतन्त्र मधेश मुद्दाको अन्तिम बिदाइको खुसीयालीमा अन्तिम पटक नारा लगाइएको पनि हुन सक्छ’, गृहमन्त्री थापाले भने। 

सरकारले असामाजिक तथा अपराधिक तत्वलाई निस्तेज पार्न ठोस सुरक्षा योजना बनाएर अगाडि बढेको बताए। ‘राज्य र संविधान बिरोधी तत्वहरुले शान्ति सुरक्षामा चुनौती दिन खोजीरहेका छन तर सरकारले त्यस्ता तत्वलाई निस्तेज पारेरै छोड्छ’ गृहमन्त्री थापाले भने। 

विप्लव नेतृत्वको नेकपाप्रति इगिंत गर्दै गृहमन्त्रीले राजनीतिका नाममा असामाजिक र अपराधिक गतिविधि गरिरहेको समूहलाई पनि सरकारले बार्ताका लागि अपिल गरिरहेको बताए। सरकारको पहिलो प्राथमिकता बार्ताबाटै समाधान खोज्ने रहेको उल्लेख गर्दै उनले बार्ताबाट भाग्न खोजे कठोर रुपमा प्रस्तुत हुने तयारी भइरहेको बताए। 

गृहमन्त्री थापाले देशको शान्ति सुरक्षामा खलल पुर्याउन खोज्ने जुनसुकै तत्वलाइ निस्तेज पार्ने सरकारको सुरक्षा रणनीति अनुरुप अगाडि बढ्न प्रदेशका सुरक्षा अंगहरुलाई निर्देशन दिए। गोष्ठीमा प्रदेश न ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, गृह सचिव, प्रदेशका मुख्य सचिव, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्रका प्रहरी प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी समेत सहभागी थिए। 

प्रकाशित: २७ फाल्गुन २०७५ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App