coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजपा–फोरम एकता : हल्लै बढी!

काठमाडौं – स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा प्रवेश र सांसद रेशम चौधरीको जन्मकैदले यतिबेला मधेसका दुई ठूला दलको एकता चर्चा चुलिएको छ। 

सरकार र राउतको सहमतिपछि पहिचानको राजनीतिमा क्रियाशील राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरमबीचको एकता चर्चाले राजनीति वृत्त गर्माएको छ। यी दुई दलले पार्टी एकताका लागि एकअर्कालाई आह्वान पनि गरिसकेका छन्।

फोरमले राजपालाई औपचारिक रूपमा एकताका लागि पत्र नै काटेको छ। राजपाका केही शीर्ष नेताले पनि फोरमसँग एकताका लागि सार्वजनिक कार्यक्रममा प्रस्ताव अघि सारेका छन्। तर एकताका लागि त्यसबाहेक प्रक्रिया अघि बढेको छैन। 

यी दुई दलको मुद्दा एउटै भए पनि राजनीतिक सिद्धान्त अलग भएका कारण एकता तत्काल हुने सम्भावना न्यून देख्छन्, दुवै पार्टीका केही नेता। फोरम सरकारमा छ भने राजपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ। यो अवस्थामा पनि फोरमले राजपासँग एकताका लागि सरकारसँगको एकता छाड्नैपर्ने राजपाका केही नेता बताउँछन्।

‘फोरमसँग हाम्रो एजेन्डा मिल्छ। एकताका विषयमा पछि कुरा गर्दै जाने हो’, अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव भन्छन्, ‘एकता हुँदा पार्टीको दृष्टिकोण एउटै हुनुपर्छ। फोरम पनि सरकारबाट बाहिरनुपर्छ।’ 

फोरमले राजपालाई एकताका लागि केही महिनाअघि नै पत्र पठाएको हो। तर अहिलेसम्म फोरमले पठाएको पत्रबारे राजपामा केही छलफल भएको छैन। ‘अहिले त फोरमसँगको एकताबारे पार्टीमा केही कुरै आएको छैन। उहाँहरू सरकारमा हुनुहुन्छ, हामी बाहिर छौँ’, अध्यक्ष मण्डलका सदस्य अनील झा भन्छन्, ‘६ पार्टी मिलेर राजपा बन्दै गर्दा हामीले उपेन्द्रजीहरूलाई एकताका लागि भनेका हौं। त्यो बेला उहाँहरू तयार हुनुभएन, अहिले त एकता के हुन्थ्यो होला र!’ 

फोरम र नयाँ शक्तिसँगको एकता सांगठनिक विषयमा गएर भाँडिएको फोरम सहअध्यक्ष श्रेष्ठको दाबी छ। ‘नयाँ शक्तिसँग विचार, नीति र सिद्धान्त मिल्थ्यो। एकताका लागि घोषणापत्रको ड्राफ्ट पनि तयार भइसकेको थियो’, उनले भने, ‘तर अन्तिममा सांगठानिक विषयमा कुरा मिलेन। ’

सरकारका पछिल्ला गतिविधि र सरकारप्रति राजपा–फोरमको असन्तुष्टिले यी दुई दलबीचको एकताबारे कुरा बाहिर आए पनि दुवै पार्टीभित्र भने त्यतिधेरै चर्चा छैन। फोरमले पनि औपचारिकताका लागि मात्रै पत्र पठाएको थियो। तर राजपाले त्यो पत्रमा कुनै प्रतिक्रिया जनाएन। बरु यी दुई दल कार्यगत एकता गरेर मोर्चा बनाएर अघि बढ्ने मनस्थितिमा छन्। 

‘राजपालाई एकपटक पत्र पठाएको हो। त्यसपछि खासै कुरा भएको छैन। एकता भनेको संगठन मात्रै एक हुनु हैन। नीति, विचार र सिद्धान्त पनि एक हुनुपर्छ। फेरि एकतामा संगठनको एकता अपरिहार्य हो’, फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘राजपासँग नीतिभन्दा पनि मुद्दा मिल्छ। त्यसकारण कार्यगत एकता र मोर्चाबन्दी हुन सक्छ।’

‘प्रदेश २ सरकार हेरफेर हुन्न’
राजपाले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रदेश २ मा रहेको फोरम–राजपा गठबन्धनको सरकार के हुन्छ भन्ने चर्चा पनि सुरु भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजपाले सडकमा जाने चेतावी दिएसँगै प्रदेश २ सरकारबाट पनि बाहिरिन सक्छ भन्ने टिप्पणी हुन थालेको छ। 

यस विषयमा राजपाभित्र पनि एक मत छैन। राजपाका केही नेताले सांकेतिक रूपमा फिर्ता हुन सक्ने बताइरहेका छन् भने केही नेताले केन्द्र र प्रदेश सरकारबीच सम्बन्ध नभएको बताइरहेका छन्। ‘बल्ल त केन्द्रीय सरकारलाई दिएको समर्थन फिर्ता लियौं, अब के हुन्छ हेर्दै जाऔँ’, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नागरिकसँग भने। 

अध्यक्ष मण्डलका अर्का सदस्य अनील झाको कुरा पनि महतोसँग मेल खान्छ। ‘त्यो त उहाँहरू (नेकपा–फोरम)को हातमा छ’, झाले भने, ‘उहाँहरू कसरी अघि बढ्नुहुन्छ त्यही हुन्छ।’ तर अध्यक्ष मण्डलकै सदस्य यादवले भने प्रदेश २ सरकार केही नहुने बताएका छन्। ‘प्रदेश २ सरकार र केन्द्र सरकारको के सम्बन्ध छ र!’, उनले भने, ‘त्यहाँको सरकार हाम्रो हो। त्यही रहन्छ।’

प्रदेश २ सरकारलाई आन्दोलनका रूपमा लिएर अघि बढ्ने महासचिव केशव झा बताउँछन्। ‘संघीयता हाम्रो आन्दोलनको उपलब्धि हो। अझै प्रदेशमा धेरै अधिकार पुगेको छैन’, उनले भने, ‘अधिकारका लागि आन्दोलनको रूपमा प्रदेश २ मा रहन्छौं।’

फोरम र नयाँ शक्तिको एकता भाँडियो
फोरमले राजपासँगै अन्य ११ दललाई पनि एकताका लागि पत्र काटेको थियो। एक समय एकताको चर्चामा रहेको नयाँ शक्ति नेपाललाई पनि फोरमको पत्र पुगेको थियो। दुवै समाजवादी पार्टी भएकाले एकता पनि नजिक पुगेको स्रोतको दाबी छ। 

फोरम र नयाँ शक्तिसँगको एकता सांगठनिक विषयमा गएर भाँडिएको फोरम सहअध्यक्ष श्रेष्ठको दाबी छ। ‘नयाँ शक्तिसँग विचार, नीति र सिद्धान्त मिल्थ्यो। एकताका लागि घोषणापत्रको ड्राफ्ट पनि तयार भइसकेको थियो’, उनले भने, ‘तर अन्तिममा सांगठानिक विषयमा कुरा मिलेन। एकता हुन सकेन।’

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App