८ वैशाख २०८१ शनिबार
अर्थ

३० खर्बकोे जीडीपीमा साँढे २७ खर्ब बढी कर्जा प्रवाह

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो सात महिना(माघ)सम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा २७ खर्ब ६५ अर्ब लगानी गरेका छन्।

बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ३० खर्ब ८५ अर्ब निक्षेप संकलन गरेर करिब पौने २८ खर्ब लगानी गरेका हुन्। बैंक तथा वित्तीय संस्थाले चालु, बचत, कल डिपोजिट र अन्य स्रोतबाट यो निक्षेप रकम जुटाएका हुन्।  

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढ्दै जाँदा निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ। अहिले नेपालको जीडीपी ३० खर्ब सात अर्ब मानिएको छ भने निक्षेप संकलन जीडीपीभन्दा बढी भएको अवस्था छ। बढेको निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके फाइदा लिन सकिने पूर्व अर्थसचिव शान्तराज सुवेदी बताउँछन्। 

यो निक्षेपलाई आयात प्रतिस्थापन हुने, उत्पादन र उत्पादकत्व बढाउने क्षेत्रमा लगाउन सके देशले धेरै फाइदा लिन सक्ने उनको भनाइ छ। नेपालको इतिहासमा यसरी निक्षेपभन्दा जीडीपी बढी भएको यो पहिलो पटक हो। यसअघि जीडीपीभन्दा निक्षेप जहिले पनि दुई÷तीन अर्बले कम हुने गरेको थियो।

आर्थिक वर्ष ०७१÷७२ मा १९ खर्ब २८ अर्बको नेपाली अर्थतन्त्र थियो। १५ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन हुने गरेको थियो। सालैपिच्छे यसरी निक्षेप र जीडीपी दुवै बढ्दै गए पनि अहिले आएर भने निक्षेपले जीडीपीलाई उछिनेको हो। 

बैंक तथा वित्तीय क्षेत्रले गरेको लगानीमध्ये थोक तथा खुद्रा व्यवसायमा सबैभन्दा बढी लगानी गरेका छन्। अहिलेसम्म यस क्षेत्रमा पाँच खर्ब ९२ अर्ब लागनी भएको छ। 

बैंक तथा वित्तीय संस्थाले यस अवधिमा कृषि तथा वन क्षेत्रमा एक खर्ब ४३ अर्ब ८९ करोड लगानी गरेका छन्। पुस अन्त्यसम्म यस क्षेत्रमा एक खर्ब ४२ अर्ब ६२ करोड लगानी भएको थियो। एक महिनाको यो अवधिमा कृषि तथा वन क्षेत्रमा बैंंक तथा वित्तीय क्षेत्रको लगानी एक अर्ब २७ करोडले बढेको छ। 

कृषि, वन, बेभरेजसम्बन्धी क्षेत्रमा वित्तीय संस्थाको पाँच खर्ब ६ अर्ब लगानी रेहको छ। होटल तथा रेस्टुरेन्ट एक खर्ब ११ अर्ब कर्जा प्रवाह गरेका छन्। 

दुई वर्षयता सेयर बजार ओरालो लागेपछि सेयर धितोमा बैंक तथा वित्तीय क्षेत्रको लागनी पनि घट्दै गएको छ। बैंक तथा वित्तीय क्षेत्रहरूले चालु आर्थिक वर्षको पहिालो सात महिनासम्म सेयर धितोमा जम्मा ४० अर्ब ७४ करोड लगानी गरेका छन्। गएको आर्थिक वर्षको यही अवधिसम्म बैंक तथा वित्तीय क्षेत्रले यस क्षेत्रमा ४३ अर्ब २३ करोड कर्जा प्रवाह गरेका थिए। 

सेयर धितोमा लगानी घट्दै गए पनि यस अवधिका बैंक तथा वित्तीय संस्थाले हायर पर्चेजमा भने लगानी बढाएका छन्। माघसम्म वित्तीय संस्थाले एक खर्ब ८३ अर्ब लगानी गरेका छन्। गत आर्थिक वर्षको माघ महिनासम्म हायर पर्चेजमा एक खर्ब ६१ अर्ब कर्जा प्रवाह भएको थियो। 

त्यसरी नै रियल इस्टेटमा एक खर्ब ४४ अर्ब कर्जा प्रवाह भएको छ। गत आर्थिक वर्षको यो अवधिसम्म बैंक तथा वित्तीय संस्थाले सो क्षेत्रमा जम्मा एक खर्ब ३४ अर्ब मात्रै लगानी गरेका थिए। 

यस अवधिमा व्यक्तिगत आवास  निर्माण दुई खर्ब २३ अर्ब पुगेको छ। व्यक्तिगत आवास निर्माण कर्जा साँढे एक करोडसम्म लिन पाइने कर्जाअन्तर्गत एक खर्ब ९० अर्ब कर्जा प्रवाह गरेका गत आर्थिक वर्षमा गरेका छन्। चालु आर्थिक वर्षको माघसम्म बैंक तथा वित्तीय संस्थाले ओभर ड्राफमा चार खर्ब ५३ अर्ब कर्जा प्रवाह गरेका छन्।

 

५ वर्ष यताकाे नेपालकाे अर्थतन्त्र र वित्तीय क्षेत्रको कर्जा तथा निक्षेप 

 

आर्थिक वर्ष               जीडीपी               निक्षेप                    कर्जा

०७५/७६              ३० खर्ब ७ अर्ब           ३० खर्ब ८५ अर्ब      २७ खर्ब ६५ अर्ब

०७४/७५              २५ खर्ब ९९ अर्ब        २५ खर्ब ३४ अर्ब      २२ खर्ब ४३ अर्ब

०७३/७४               २२ खर्ब ४८ अर्ब        २२ खर्ब ७४ अर्ब       १९ खर्ब ३१ अर्ब 

०७२/७३               २१ खर्ब २४ अर्ब         १९ खर्ब २० अर्ब       १४ अर्ब ५९ अर्ब

०७१/७२               १९ खर्ब २८ अर्ब         १५ खर्ब ६९ अर्ब       १२ खर्ब ७६ अर्ब 

स्रोतः नेपाल राष्ट्र बैंक 

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App