coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रथम मुख्यमन्त्री कप प्रतियोगिता : समेटिएनन् ओलम्पियन जन्माउने खेलहरु

धनगढी - खेलकुद जगतमा कीर्तिमानी खेलाडी दीपक बिष्टलगायत पाँच जना ओलम्पियन सुदूरपश्चिमले जन्माएको छ। राज्यबाट पर्याप्त सुविधा नभएर पनि आफ्नै लगानीमा तेक्वान्दोबाट बिष्ट र निशा रावल ओलम्पियनसम्म पुगे। यसैगरी बिष्णुबहादुर सिंह र डम्मरदत्त भट्टलाई सुदूरपश्चिमले बक्सिङ खेलबाट ओलम्पियन जन्मायो भने भारत्तोलनमा स्वर्गीय भरत साउँद ओलम्पियन बने। कराँते र उसु खेलबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मेडल जित्ने तमामौं प्रतिभावान खेलाडी यस क्षेत्रले जन्माएको छ। तर, छैठौँ राष्ट्रिय खेलकुदपछि पहिलोपटक सुदूरपश्चिममा सरकारी स्तरबाट प्रदेश सरकारले आयोजना गर्न थालेको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश प्रतियोगितामा यी खेल समावेश भएका छैनन्।

धेरै सफल खेलाडी जन्माउने खेलहरु प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा नसमेटिँदा यी विधाका खेलाडीमा निरासा छाएको छ।

देशको गरिमा र पहिचान दिलाउन सफल खेल मुख्यमन्त्री कपमा नसमेटिँदा खेलाडीमा नैराश्यता बढेको नेपाल तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशका महासचिव कटकबहादुर सिंहले बताए। ‘अन्तर्राष्ट्रिय पदक बढी पाउने खेल भनेका मार्सल आर्टका खेलहरु हुन्,’ उनले भने,‘यसमा पनि सुदूरपश्चिम भूगोलमा सानो भए पनि बढी खेलाडी यहीँका छन्।’ धेरै सफल खेलाडी जन्माउने खेलहरु प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा नसमेटिँदा यी विधाका खेलाडीमा निरासा छाएको उनले बताए। ‘क्लबले खेलाएझैँ सरकारी स्तरबाट आयोजना भएको प्रतियोगिता हुनुहुँदैनथ्यो,’ उनले भने। 

नेपालबाट प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय जगतमा पदक जिताउने खेल भनेकै मार्सल आर्टका खेल भएको बताउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष प्रकाश चन्दले भने,‘मुख्यमन्त्री कपमा मार्सल आर्टका खेल समेटिएको भए, प्रतियोगिताकै आकर्षण बढ्थ्यो।’ यो प्रतियोगितामा मार्सल आर्टका खेलहरु समेटिएको भए आगामी साफ खेलमा नेपालको बढी पदक जिताउनमा मद्दत पुग्ने उनको भनाइ छ। ‘पछिल्लो समयमा मार्सल आर्टका खेलका प्रतियोगिता नहुँदा गरिमा खस्किरहेको छ,’ उनले भने,‘बढी स्वर्ण पदक जिताउने कराँते, तेक्वान्दो र उसुका खेल समावेश गरिनुपथ्र्यो भन्ने हाम्रो भनाइ हो।’ सुदूरपश्चिमले जन्माएका दीपक बिष्टले साफ खेलमा लगातार चार स्वर्ण पदक जितेर कीर्तिमान राखेका थिए। उनले एसियन कपमा दुई पटक काँस्य पदक जितेका थिए। 

२०६८ मा भएको छैठौँ खेलकुदपछि सुदूरपश्चिममा सरकारी स्तरबाट ठूलो प्रतियोगितामा मार्सल आर्टका खेलहरु नसमेटिनु दुःखको कुरा भएको खेलकुद विकास समिति कैलालीका पूर्व जिल्ला अध्यक्ष राजिव गुप्ताले बताए। ‘प्रतियोगिता खेल क्षेत्रका लागि राम्रो भए पनि अन्तर्राष्ट्रिय जगतमै पदक पाएर नाम कमाउन सफल भएका मार्सल आर्ट (कराते, तेक्वान्दो, उसु) लगायतका खेल नसमेटिँदा प्रतियोगिता नै अपूरो जस्तो भएको महसुस भएको छ,’ उनले भने,‘यस क्षेत्रका मार्सल आर्ट विधाका प्रतिभावान खेलाडीले अपनत्व महसुस गर्न सकेका छैनन्।’  

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गगनबहादुर हमालले यसपटक मार्सल आर्टका खेल छुटे पनि अर्को पटक समावेश गरिने बताए। 

फागुन २९ गतेदेखि चैत ३ गतेसम्म धनगढीमा हुने प्रतियोगितामा पुरुष फुटबल, पुरुष भलिबल, भलिबल महिला, क्रिकेट पुरुष, क्रिकेट महिला र व्याडमिन्टन पुरुष र  महिला गरी चार विधाका खेलहरु खेलाइने छ। प्रत्येक प्रदेशबाट सबै विधाका ७८ खेलाडी, ७ प्रशिक्षक र ७ व्यवस्थापक गरेर जम्मा ६ सय ४४ जना खेलाडीको सहभागिता रहने बताइएको छ। प्रतियोगितामा सर्वाधिक स्वर्ण पदकका साथ प्रथम, द्वितीय र तृतीय हुने प्रदेशलाई ट्रफीसहित क्रमशः नगद १५ लाख, आठ लाख र पाँच लाख पुरस्कार प्रदान गरिने उनले बताए। यसैगरी प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्रसहित जनही १० हजार पुरस्कार दिइने छ। प्रतियोगितामा विभागीय टिमबाट खेल्दै आएका खेलाडीले समेत सम्बन्धित प्रदेशबाट सहभागिता जनाउन पाउने आयोजकले बताएको छ।

अन्तरप्रदेश खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रदेश सरकारले एक करोड ५० लाख विनियोजन गरेको र अपूग भए थपिने निर्णय भएको आन्तरिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए।

प्रकाशित: २७ फाल्गुन २०७५ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App