coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

यात्रुमैत्री छैनन् आकाशेपुल

वीर अस्पतालको दायाँतर्फ सडक वारपार गर्नको लागि आकाशेपुल छ, बायाँतर्फ सहज ढंगले बाटो काट्नको लागि सब–वे राखिएको छ। तर, पैदलयात्रुको सहजताका लागि बनाइएका आकाशेपुल र सब–वे कमैले प्रयोग गर्छन् । त्यसको मुख्य कारण हो– आकाशेपुल र सब–वे पैदलयात्रुमैत्री नहुनु। आकाशेपुलको छेवैमा सार्वजनिक शौचालय छ । जसबाट आउने दुर्गन्धले पैदलयात्रुले मुख छोपेरै यात्रा गर्नुपर्ने बाध्यता छ । त्यति मात्रै होइन, आकाशेपुल र सब–वेमा जभाभावी ढंगले सञ्चालन गरिएका पसल तथा स्टलले पैदलयात्रुलाई हिँडिसाध्य छैन ।

पैदलयात्रु जभाभावी ढंगले बाटो काट्दा जोखिमको सामना गरिरहेका छन् । त्यति मात्रै होइन, जभाभावी ढंगले एकतर्फी सडकमा बाटो काट्दा ट्राफिक जाम समेत हुने गरेको छ । 

आकाशेपुल र सब–वेमा हिँड्दा अरुसँग ठोक्किने गरेको यात्रु बताउँछन् । त्यस्तै, शौचालयबाट आउने दुर्गन्धले समेत हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ । आकाशेपुल र सब–वे वृद्ध, अशक्त, अपांगता भएका र बिरामीका लागि उपयुक्त देखिँदैनन् । जसको कारणले पैदलयात्रु जोखिम मोलेर नै सडक वारपार गर्न बाध्य छन् । पैदलयात्रु जभाभावी ढंगले बाटो काट्दा जोखिमको सामना गरिरहेका छन् । त्यति मात्रै होइन, जभाभावी ढंगले एकतर्फी सडकमा बाटो काट्दा ट्राफिक जाम समेत हुने गरेको छ । 

काठमाडौं  उपत्यकामा दर्जनभन्दा धेरै आकाशेपुल छन् । तर, ती यात्रुमैत्री नहुँदा बेकामे बनिरहेका छन् । करौडाैं रूपैयाँ खर्च गरेर बनाइएका आकाशेपुल प्रयोगहीन भइरहेका छन् । ट्राफिकविद् जगतमान श्रेष्ठ काठमाडौं उपत्यका आकाशेपुल यात्रुमैत्री नभएको बताउँछन्। ‘अपांगता भएका र ज्येष्ठ नागरिकका लागि कुनै पनि आकाशेपुल उपयुक्त छैनन्,’ उनले भने, ‘ सवालांगलाई समेत आकाशेपुल वारपार गर्न निकै कठिन छ।’ 

ट्राफिकविद् श्रेष्ठको भनाइमा विदेशी मुलुकमा फेजआउट भएका आकाशेपुल निर्माणमा सरकारले अनावश्यक चासो दिएको देखिन्छ । ‘अब अत्याधुनिक डिजाइनको आकाशेपुल निर्माण गर्नुपर्छ । तर, हाम्रो सरकारी निकायले भने पैदलयात्रुमैत्री नहुने पुल निर्माणमा नै जोड दिइरहेका छन्।’ उनले यात्रुमैत्री आकाशेपुल निर्माण नगरिएसम्म जभाभावि बाटो काट्ने प्रवृत्तिमा पनि कमी नआउने बताए । उनले भने, ‘सरकारले अत्याधुनिक लिफ्ट सुविधा भएको आकाशेपुल निर्माण गर्न जरुरत देखिन्छ।’ 

ट्राफिक इन्जिनियर आशिष गजुरेल सरकारले आवश्यकता पर्ने स्थानभन्दा अन्यन्त्रै स्थानमा आकाशेपुल निर्माण गर्दा पैदलयात्रुले प्रयोग नगरेको बताउँछन् । ‘बानेश्वर चोक र कोटेश्वर चोकमा आकाशेपुल अत्यावश्यक देखिन्छ,’ उनले भने, ‘यात्रुको अत्याधिक चाप हुने स्थानमा भन्दा अर्कै स्थानमा बनाउँदा आकाशेपुल अनपयुक्त देखिएको छ।’ 

त्यसैको उदाहरण हो, नयाँ बानेश्वरबाट थापागाउँतर्फ जाने सडकको मुखैमा बनेको आकाशेपुल र कोटेश्वर चोकमा निर्माण गरिएको आकाशेपुल । हालसालै बनेको यी दुवै आकाशे पुल पैदलयात्रुले प्रयोग गरेको देखिँदैन। आकाशेपुलमुनिबाट यात्रुहरू ओहोरदोहोर गरिरहेका हुन्छन्। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले पैदलयात्रुमा ट्राफिक नियमको कमी हुँदा पैदलयात्रुले जभाभावी ढंगले बाटो काट्ने गरेको बताउँछन् । ‘पैदलयात्रुमा जभाभावी ढंगले बाटो काट्ने प्रवृत्ति देखिन्छ,’ उनले भने, ‘पैदलयात्रुले आफ्नो बानी सुधार्नुपर्ने बेला भइसक्यो।’

ट्राफिक इन्जिनियर आशिष गजुरेल काठमाडौं उपत्यकाभित्र रहेका आकाशे पुल पैदलयात्रुमैत्री नहुँदा जथाभावी ढंगले बाटो काट्ने प्रवृत्ति बढेको बताउँछन् । ‘उपत्यकामा भएका आकाशेपुल एउटा पनि यात्रुमैत्री छैनन् । जसको  कारणले यात्रु वारपार गर्न समेत समस्या भोगिरहेका छन्,’ उनले भने, ‘वृद्ध, बालक र अशक्त तथा बिरामीका  लागि कुनै पनि आकाशेपुल उपयुक्त देखिँदैनन् । जसले आकाशेपुल प्रयोग गर्न उत्साह होइन, निरुत्साहित गरिरहेको छ ।’ 

ट्राफिक इन्जिनियर गजुरेलका अनुसार उपत्यकाका आकाशेपुलमा चढ्न र झर्न पैदलयात्रुले सास्ती भोग्नुपर्ने अवस्था छ । ‘आकाशेपुलमा लिफ्ट वा रोलिङ स्टेप हुनुपथ्र्याे । जसको मद्दतले पैदलयात्रु सहजै बाटो वारपार गर्न सहज हुन्थ्यो,’ उनले भने, ‘उपत्यकामा भएका आकाशेपुल एकातर्फ जीर्ण छन् अर्काेतर्फ शौचालयको दुर्गन्ध्र फैलिएर हिँडिसाध्य छैन ।’ काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल उपत्यकामा रहेका आकाशेपुल यात्रुमैत्री नभएको स्वीकार्छन् । ‘एक दशक अगाडि निर्माण गरिएका आकाशेपुल यात्रुमैत्री नभएको महसुस गरेका छौं,’ उनले भने, ‘अब निर्माण गर्ने आकाशेपुलमा लिफ्ट वा रोलिङ स्टेप लगायतका पूर्वाधार डिजाइन थप्नेछौं ।’ उनले उपत्यकामा रहेका आकाशेपुलको मर्मतसम्भार गर्नको लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको दाबी गरे । काठमाडौं महानगरपालिकाले पुस १ गतेदेखि रत्नपार्क आसपासमा पिक एन्ड ड्रप लागू गर्यो । पिक एन्ड ड्रप लागू गरेसँगै पछिल्लो समय आकाशेपुलमा पैदलयात्रुको चाप बढ्न थालेको छ । तर, सम्बन्धित निकायले आकाशेपुल मर्मतसम्भारमा भने चासो दिएको छैन ।  महानगरका अनुसार यस क्षेत्रमा मात्रै करिब एक दर्जन जति आकाशेपुल छन् । तीमध्ये अधिकांश जीर्ण भएर कामै नलाग्ने अवस्थाबाट गुज्रिएका छन्।

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App