coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘भ्रमण वर्ष सफल बनाउन साना कुरालाई पनि प्राथमिकतामा राखौं’

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनामा जोड दिँदै साना तथा अत्यावश्यक कामलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाले बताएका छन्। सरकारका मन्त्री, कुटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।

पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए। ट्राभल हिमालय म्यागेजिनको २०औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो धारणा राखेका हुन्। उनले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउन अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए। साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायबीच राणनीतिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाइ थियो।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए। भ्रमण वर्षमा लक्षित कार्यक्रमले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पु¥याउने सचिव सापकोटाको भनाइ थियो। साथै पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना तर्जुमा गर्नुपर्नेमा सचिव सापकोटाले जोड दिए।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीत सिंहले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिए। उनले नेपाल–भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउँदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए। भ्रमण वर्षलाई सफल बनाउनका लागि पूर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानको तीव्रतालाई रातदूत सिंहले जोड दिए। नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्वव्यापीकरणका लागि सूचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रम आयोजक ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले नेपालको पर्यटन क्षेत्र विकासको चुनौती र अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमार्फत गिरीले नेपाल पर्यटकीय गन्तव्यका लागि विश्वको उत्कृष्ट गन्तव्य भए पनि पर्यटकको आगमन छिमेकी मुलुकको तुलनामा न्यून भएको उजागर गरे। सरकारले भ्रमण वर्षमा २० लाख पर्यटकभित्र्याउने लक्ष्य लिएकामा मुलुकले ठूला पूर्वाधार विकाससँगै साना तथा अत्यावश्यक विषयमा ध्यान दिन सरकारसँग आग्रह गरे।

कार्यक्रममा ट्राभल हिमालय म्यागेजिनको २०औं वर्षको एक सय ३४औं संस्करणको विमोचन पनि गरिएको थियो। कार्यक्रममा नेपालका लागि बंगलादेश, अस्ट्रेलिया, इजरायललगायत मुलुकका राजदूतको सहभागिता रहेको थियो। त्यस्तै पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न निकाय, अन्तर्राष्ट्रिय हवाई संस्था, व्यवसायी लगायतको उल्लेख्य सहभागिता थियो।

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App