coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दशकमै चर्कियो विजयपुर पुल

पोखरा भित्रिने मुख्य नाका विजयपुरको पुल। उच्च जोखिममा परेको उक्त पुलको मर्मतसम्भारको काम सुरु भइसकेको छ। तस्बिर : उमेश पुन/नागरिक

पोखरा - पोखराको मुख्य प्रवेशद्वारका रुपमा रहेको विजयपुर खोलामा रहेको पुल उच्च जोखिममा परेको छ। पुल विभिन्न आठ ठाउँमा चर्किनुका साथै भाँच्चिएको छ। दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने पुल उच्च जोखिममा परेपछि मालवाहक ठूला (हेभी) गाडी आवतजावतमा रोक लगाइएको छ।

दुई साताअघि पुलमा रंगरोगन गर्ने क्रममा रंग लगाउने पेन्टरले पुल भाँच्चिनुका साथै चर्किएको देखेपछि पुलको अवस्थाबारे थाहा भएको हो। २०६४ मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विजयपुर खोलाको पुल ११ वर्ष नबित्दै खतरामा परेको हो। पुलको बीच भागका विभिन्न ठाउँमा बटम कड र क्रस मेम्बर भाँचिनुका साथै चर्किएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले जानकारी दिए। पुल उच्च जोखिममा परेपछि मालबाहक ट्रकलगायत सवारी साधन प्रवेश निशेध गरिएको छ। जसका कारण सयौं ठूला मालवाहक गाडी आवतजावत गर्न नपाएर जाममा परेका छन्। पोखराको भण्डारढिकभन्दा पूर्व पट्टीदेखि कोत्रे क्षेत्रमा सयौं ठूला मालवाहक गाडी रोकिएर जाममा परेका छन् भने पर्वत, बागलुङ र म्याग्दीबाट आएका ठूला गाडी पोखरा र पर्वतको सीमा नजिक नयाँ पुल वरपर रोकिएका छन्।

–‘हेभी’ सवारीलाई आवतजावतमा रोक
–डाइभर्सन बनाएर सञ्चालन गर्ने तयारी

सडक डिभिजन कार्यालय पोखराले पुलको मर्मतसम्भार कार्य थालिएको जनाएको छ। हाल अस्थायी प्रकारको मर्मतसम्भार गर्ने प्रयास भइरहेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोखरेलले बताए। उनले भने, ‘हाल तलबाट टेको दिएर चर्केको र भाँचिएको ठाउँमा वेल्डिङ गर्ने प्रयास गर्दैछौं, यो अस्थायी मात्रै हो।’ उनले अस्थायी मर्मतसम्भार गर्न करिब एक महिना लाग्न सक्ने बताए। स्थायी समाधानका लागि पुलको बटम कडको फलाम नै फेर्नुपर्ने हुनसक्ने उनको भनाइ छ। तर बटम कडको फलाम फेर्न मिल्छ कि मिल्दैन भन्ने निश्कर्ष निकाल्नका लागि प्राविधिकको विज्ञ टोली ल्याएर अध्ययन गर्नुपर्ने उनले बताए।

पुल मर्मतसम्भारका लागि पुलमा शून्य भार बनाएर काम गर्नुपर्ने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ। त्यसका लागि अस्थायी रुपमा वैकल्पिक बाटो बनाउने प्रयास थालिएको छ। विजयपुल खोलाको पुलभन्दा करिब एक सय मिटर माथिबाट डाइभर्सन गर्ने तयारी थालिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोखरेलले जानकारी दिए। उनका अनुसार डाइभर्सनका लागि पुलभन्दा केही माथि कल्भर्ट हाल्न लागिएको छ। डाइभर्सनका लागि पाँचवटा डोजर तथा जेसिभी प्रयोग गरिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा खटिएको सिएएमसी कम्पनीको पनि इक्विपमेन्ट प्रयोग गरिएको उनले बताए। उनका अनुसार अन्य चारवटाले गर्ने कार्य विमानस्थल निर्माणमा खटिएको एउटै इक्विपमेन्ट र अनुभवी कामदारले गरिरहेका छन्। प्रमुख पोखरेलले भने, ‘काम तीव्र गतिमा भइरहेको छ, सायद सोमबारसम्म डाइभर्सन निर्माणको काम सकिन्छ, त्यसपछि सबै गाडी त्यहींबाट आवतजावत गर्छन्।’

डाइभर्सन गर्न लागिएको बाटोमा एउटा सुकुम्बासी घर रहेको छ। डाइभर्सन निर्माण गर्न लागिएको बाटोको किनारमै भगवती श्रेष्ठको पाँचजनाको परिवार बस्दै आएका छन्। सो घर नभत्काई बाटो निर्माण गर्न नसकिने निश्कर्षमा प्राविधिक टोली पुगेको छ। लामो समयदेखि बस्दै आएको सुकुम्बासी श्रेष्ठको परिवारलाई क्षतिपूर्ति दिएर भए पनि घर हटाउनुपर्ने देखिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए। तर, यसबारे निर्णय हुन बाँकी रहेको उनले बताए। पुल मर्मतसम्भार गरेर सञ्चालन गर्ने अवस्था नभए नयाँ पुल नै बनाउनुपर्ने पनि हुनसक्ने उनले बताए। नयाँ पुल निर्माण गरुञ्जेल बेली ब्रिज प्रयोग गर्न सकिने उनले बताए। चीनले नेपाललाई सातवटा बेली ब्रिज दिने सम्झौता भएकाले दुईवटा बेली ब्रिज ल्याएर हाल्न सकिने उनको भनाइ छ। यसबारे सरकारले नै निर्णय गर्नुपर्ने उनले बताए।

यसैबीच, मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र गण्डकी प्रदेशको विकास समितिले पुल निरीक्षण गरेका छन्। निरीक्षणका लागि मुख्यमन्त्री पूर्वाह्न ९ बजे पुगेका थिए। विकास समितिका सभापति दीपक कोइराला भने पूर्वाह्न १० बजे पुल निरीक्षण गर्न पुगेका थिए। निरीक्षणपछि मुख्यमन्त्री गुरुङले डाइभर्सन चाँडै बनाएर पुल छिटो मर्मतसम्भार गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिए। उनले पुल भाँचिएको भनेर त्रास फैलिएको छ, यसको चाँडो समाधान गर्नु, तत्कालका लागि डाइभर्सन चाँडो बनाएर आवतजावत खुलाउनु।’ त्यस्तै, विकास समितिका सभापति दीपक कोइरालाले पनि पुल भाँच्चिनुको कारणप्रति जिज्ञाशा राख्दै तत्काल समाधानका लागि सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेललाई निर्देशन दिए। उनले अस्थायी र स्थायी दुवै काम चाँडो गर्न पनि निर्देशन दिए।

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App