coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएला राजनीति : राष्ट्रपति मादुरोले गरे सेनाको प्रशंसा

राजधानी कराकसमा शनिबार आयोजित सरकार पक्षीय र्‍यालीमा सम्बोधन गर्दैै भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो। तस्बिर : एजेन्सी

कराकस - भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले देशको सेनाको खुलेर प्रशंसा गरेका छन् । अमेरिका र विपक्षी नेता उवान गुआइडोको नेतृत्वको ‘कू’ लाई परास्त गरेको र आफूप्रति वफादार रहेको भन्दै मादुरोले देशको सुरक्षा फौजको तारिफ गरेको बिबिसीले उल्लेख गरेको छ। 

शनिबार सरकार पक्षीय र्‍यालीमा सम्बोधन गर्दै राष्ट्रपति मादुरोले सुरक्षा फौजको प्रशंसा गरेका हुन्। उनले भेनेजुएलाभर भएको विद्युत् आपूर्ति बन्द ‘ब्ल्याकआउट’ को पछाडि विपक्षीको हात रहेको आरोपसमेत लगाए। भेनेजुएलामा शनिबार सरकार पक्षीय र विपक्षीको बेग्लाबेग्लै प्रदर्शन भएका छन्। 

राजधानी कराकसमा विपक्षी नेता गुआइडोका केही समर्थक र प्रहरबीच झडप भएको  समाचार पनि बाहिरिएको छ। यसै वर्षको जनवरी २३ का दिन भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायतका राष्ट्रले उनलाई मान्यता दिए पनि देशको शक्तिशाली सेना हालसम्म मादुरोप्रति नै वफादार देखिएको छ भने चीन, रुस र टर्कीजस्ता देशहरु पनि उनकै पक्षमा देखिएका छन्। 

मिराफ्लोर्स राष्ट्रपतीय दरबारबाहिर सम्बोधन गर्दै राष्ट्रपति मादुरोले गुआइडोलाई अमेरिकाको जोकर र कठपुतलीको संज्ञासमेत दिएको बिबिसीले उल्लेख गरेको छ। ‘उनीहरुले देशको सशस्त्र फौजलाई सैन्य कू गर्न आह्वान गरेका थिए तर सुरक्षा फौजको सन्देश स्पष्ट थियो–उनीहरुले कूको आयोजना गर्न चाहनेलाई उचित जबाफ दिएका छन्,’ राष्ट्रपति मादुरोले सम्बोधनका क्रममा बताए। 

यसैबीच भेनेजुएलामा शनिबार नै विपक्षीहरुले पनि देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी कराकससहितका सहरमा विपक्षीको प्रदर्शनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। सरकार विरोधी केही प्रदर्शनकारीले ‘हत्यारा’ भन्दै प्रहरीलाई धकेलेपछि उनीहरुविरुद्ध सुरक्षाकर्मीले बल प्रयोग गरेको बताइएको छ । प्रहरीले प्रदर्शनकारीलक्षित खुर्सानीको धुलो छरेको थियो। 

विपक्षीको र्‍यालीमा सम्बोधन गर्दै विपक्षी नेता गुआइडोले आफूले देशव्यापी भ्रमण गर्ने बताए। उनले देशव्यापी भ्रमणका क्रममा राजधानी कराकसमा निकट भविष्यमै हुने विशाल प्रदर्शनमा सहभागी हुन आम जनतामा आह्वान गर्ने पनि बताए। ‘हामी सबै भेनेजुएली नागरिकलाई राजधानी कराकसमा भेला गर्दैछौं किनभने हामी उनीहरु सबैलाई एकताबद्ध बनाउन चाहन्छौं,’ सम्बोधनका क्रममा उनले बताए। 

विपक्षी नियन्त्रणमा रहेको देशको राष्ट्रिय सभाको नेतृत्व गरिरहेका विपक्षी नेता गुआइडोलाई ५० भन्दा बढी राष्ट्रले अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन्। विपक्षीले बहिष्कार गरेको गत वर्ष सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेको भन्दै मादुरोले यसै वर्षको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतीय पदको शपथ लिएपछि भेनेजुएलाको राजनीति पुनः तनावग्रस्त हुन सुरु भएको हो। 

मादुरो नेतृत्वको सरकारले निष्पक्ष निर्वाचन नगराउने भन्दै विपक्षीले सो निर्वाचन बहिष्कार गरेका थिए। मादुरोले अर्को कार्यकालका लागि शपथ लिएपछि विपक्षी नेता गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपतिको रूपमा घोषणा गरेका थिए। उनले देशको संविधान उल्लेख गर्दै आफू भेनेजुएलाको अन्तरिम राष्ट्रपति भएको घोषणा गरेलगत्तै अमेरिकाले मान्यता दिएको थियो। 

भेनेजुएलाको संविधानअनुसार वैधानिक राष्ट्रपतिको गैरउपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष अन्तरिम राष्ट्रपतिका रूपमा रहने व्यवस्था छ । त्यसरी बनेका अन्तरिम राष्ट्रपतिको प्रमुख कार्य नै लोकतान्त्रिक रूपमा देशमा निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्नु रहेको छ।

मादुरो नेतृत्वको सरकार अवैधानिक भएकाले देशको संविधानअनुसार आफू अन्तरिम राष्ट्रपति भएको गुआइडोको दाबी छ । उता, मादुरोले भने अमेरिकाको निर्देशनमा विपक्षी नेता गुआइडोले देशमा ‘कू’ को प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन् । 
आर्थिक रूपमा अत्यन्तै समस्याग्रस्त भेनेजुएलाको पछिल्लो राजनीतिक तनावका कारण लाखौं मानिस छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य भइरहेका छन्।

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App