coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला भलिबललाई केएनपीको साथ

केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षककी गमली खड्काबीच सम्झौतापत्र आदानप्रदान हुँदै।

काठमाडौं - शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताले मुख्य प्रायोजकका रूपमा केएनपी जापानको साथ पाएको छ। बानेश्वरमा आइतबार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौतापत्र आदानप्रदान भएको छ । प्रतियोगितामा  नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएदेखि नै केएनपी जापानले लगातार तेस्रो पटक मुख्य प्रायोजकको जिम्मेवारी सम्हालेको हो। 

राष्ट्रिय खेलकुद परिषद्को सहयोग र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता वैशाख १० देखि १३ सम्म सञ्चालन हुनेछ । केएनपी जापानका नेपाल प्रमुख मिश्रले सम्झौतापछि समाजलाई एकतामा बाँध्ने  खेलकुद क्षेत्रमा कम्पनी जोडिन पाउँदा खुसी लागेको बताए । ‘हामी प्रतियोगिताको गरिमालाई बढाउन कुनै कसर बाँकी राख्ने छैनौं,’ सम्झौतापश्चात् मिश्रले भने,‘यस पटक पनि अझ व्यवस्थित बनाउने प्रयास रहनेछ।’

सम्झौताअनुरूप प्रतियोगिताको नाम ‘पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल’ हुनेछ । प्रचारप्रसारमा पनि कम्पनीले खर्च बेहोर्नेछ । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले नेपाली भलिबलको विकास र विस्तारमा कर्पोरेट क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको जानकारी गराए ।

उक्त प्रतियोगितामा साबिक विजेता एपिएफ,  होङ्गान्जी न्यु डायमन्ड, नेपाल पुलिस, नेपाल आर्मी, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । यस संस्करणमा नगद पुरस्कार पनि वृद्धि गरिएको छ । यस पटक विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन् । विजेता सदस्यले दरवारमार्गस्थित द रिगल इकबाट १५ थान सुट पिससमेत प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोेकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले जनही १५÷१५ हजार रुपैयाँ, सुलक्स सेन्टरबाट ३०÷३० हजार बराबरको टिसट घडी उपलब्ध गराउनेछ।  विधागत उत्कृष्टअन्तर्गत स्पाइकर, सेटर, ब्लकर, डिफेन्स, क्विकर, सर्भर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ नगद पाउनेछन्। वुमन अफ दी म्याचलाई नगद ५ हजारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछन् । उपत्यका बाहिरबाट सहभागी टोलीले यातायात र खाना–बसोबासको सुविधा पाउनेछन् ।

उदीयमान खेलाडी तथा शेरबहादुर खड्का स्पेसल अवार्ड विजेता खेलाडीद्वयले बुद्ध एयरबाट माउन्टेन फ्लाइट टिकट प्राप्त गर्ने प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्काले जानकारी दिइन् । चारदिने प्रतियोगिताको अनुमानित बजेट २१ लाख रहेको छ । त्रिपुरेश्वरस्थित कभर्डहल निर्माणाधीन अवस्थामा भएकाले खेल स्थल भने आगामी पत्रकार सम्मेलनमा घोषणा गरिने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App