८ वैशाख २०८१ शनिबार
खेल

वालेस 'वालिङ साइक्लिङ १००' च्याम्पियन

पोखरा - चार महिनाअघि याक एट्याक माउन्टेन बाइक रेस च्याम्पियन बनेको क्यानाडाका करी वालेसले शनिबार राति अबेर ‘वालिङ साइक्लिङ १००’ को उपाधि जितेका छन्।

नेपालका साइक्लिस्टलाई पछि पार्दै उनले १०० किलोमिटरको दूरीलाई ६ घण्टा  २० मिनेट ५८ सेकेन्डमा पूरा गर्दै  ‘वालिङ १०० टाइटल’ जिते । जितपछि उनले नगद पुरस्कार ५ लाख रुपैयाँ प्राप्त गरे । नेपाली सेना र सशस्त्र प्रहरी बलका साइक्लिस्टहरूलाई पछि पार्दै उनले विदेशी भूमिमा वर्षको दोस्रो टाइटल उपाधि उचाले। अघिल्लो महिना मात्रै अन्तर्राष्ट्रियस्तरको साइक्लिङ रेस पोखरा आइभी (चौथो) मा भने उनले सहभागिता जनाएका थिएनन्। 

आँधीखोलको तिर वालिङ खेलमैदानबाट सुरु भएको रेस विरुवा गाउँपालिका, गल्याङ नगरपालिका र भीरकोट नगरपालिकाका सबै वडालाई छुँदै बनाइएको रुट पूरा गरेपछि वालेसले आयोजकसँग प्रतिक्रिया दिने क्रममा विश्वकै उत्कृष्ठ रेस भएको संज्ञा दिए। वालिङ (सुर्कौदी बगर), मिर्दी, त्रियासी, सिमलचौपरी, छापा, सिंगारकोट, माझकोट, राम्चे, तलाथोक, बस्यानी, मालगिरी, मिनाङ्कोट, जगतभन्ज्याङ, केवरेभन्ज्याङ, बनकट्टा, गह्रौंसुर, तीन दोबाटे, करादी, बयाँटारी, उदियाचौर, अकलामन्दिर, घुरुङ्खा, डुम्रेभन्ज्याङ, सिरकोट, स्वरेक मैदान, डौवा, अमले हुदै पुनः सुर्कौदी बगर पुगेर रेस टुंगिएको थियो।

वालिङ नगरपालिकाले पहिलो पटक आयोजना गरेको रेसमा हर्कबहादुर लामाले ७ घण्टा २६ मिनेट ३९ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थानमा चित्त बुझाए । कमल ओलीले ८ घण्टा ४५ मिनेट २२ सेकेन्डको समय लगाउँदै तेस्रो र सन्तोष गुरुङले ९ घण्टा ४१ मिनेट ५२ सेकेन्डमा दूरी पूरा गर्दै चौथो स्थानमा चित्त बुझाए । लामाले डेढ लाख रुपैयाँ नगद पुरस्कार पाउँदा ओलीले ५० र गुरुङले ३० हजार रुपैयाँ प्राप्त गरे।

महिलातर्फको प्रतिस्पर्धामा नेपाली साइक्लिङ प्रतिस्पर्धामा एकछत्र आधिपत्य जमाएकी लक्ष्मी मगरले प्रथम पुरस्कार हात पारिन् । उनले निर्धारित १०० किलोमिटरको दूरी ८ घण्टा ९ मिनेट २६ सेकेन्डमा पूरा गर्दै ३ लाख रुपैयाँ नगदराशिको पुरस्कार आफ्नो नाममा लेखाएकी हुन् । त्यसै गरी सोनी गुरुङ भने दोस्रो स्थानमा रहँदै नगद ५० हजार प्राप्त गरिन् । उनले ८ घण्टा ५१ मिनेट ५६ सेकेन्डको समय लगाउँदै दूरी पूरा गरेकी थिइन्।  

नेपाल भ्रमण वर्ष सन् २०२० कार्यक्रमलाई पर्यटन प्रवर्द्धन तथा गन्तव्य विकासद्वारा सहयोग गर्ने उद्देश्यसहित पहिलो पटक साइक्लिङ रेस आयोजना गरिएको थियो। आँधीखोला भ्यालीमा निर्मित माउन्टेन बाइक रंगशाला ‘वालिङ–१०० अल्टिमेट एमटिबी ट्रेल’ लाई विश्वमै प्रचारप्रसार गर्ने अभियानस्वरूप पहिलो पटक आयोजित रेसमा क्यानाडाका दुई रेसरले सहभागिता जनाएका थिए । ‘स्मार्ट वालिङ’ दीर्घकालीन योजनालाई ‘वन्डरफुल वालिङ’ पर्यटन प्रवद्र्धन अभियानमार्फत टेवा दिने अभियानलाई सार्थकता प्रदान गर्ने मात्रै नभई ग्रामीण क्षेत्रमा घरबास (होमस्टे) कार्यक्रमलाई प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले प्रेरित थियो । संयोजक नेपालले प्रतियोगिताबाट वालिङ, स्याङ्जा र नेपालको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको बताए। 

कार्यक्रममा प्रमुख वालिङ नगरपालिका दिलीपप्रताप खाँडले साहसिक खेल इतिहासमा प्रतियोगिता कोसेढुङ्गा साबित भएको प्रस्ट्याए । प्रतियोगिताले वालिङ विश्वमा चिनिएको दाबीसमेत उनले गरे। प्रतियोगितामा २१ पुरुष र ६ महिलाको सहभागिता थियो । 

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App